पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशी भन्छन्: संस्था बलियो बनाउँछु, कर्मचारीलाई अन्याय हुँदैन



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डभित्र रहेका कर्मचारी बीचको गुटबन्दी हटाउने आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

आइतबार बोर्डको कार्यालयमा पदभार ग्रहण गरेपछि क्लिकमान्डुसँगको कुराकानीमा जोशीले संस्था बलियो नहुँदासम्म प्रभावकारी काम हुन नसक्ने बताए ।

‘विगतमा के भयो अब त्यो कोट्याएर हुँदैन । मैले आज बिहान पनि साथीहरूलाई अब हामीले नयाँ सुरुवात गर्नु पर्छ । कुनै पनि कर्मचारीलाई अन्याय हुँदैन भनेर भनेको छु,’ जोशीले क्लिकमान्डुसँग भने, ‘बोर्डभित्रका कर्मचारीको आत्मसम्मान बलियो नबनाई कुनै नतिजा आउँदैन । कर्मचारीको मनोबल बढाउने विषय मेरो प्राथमिकतामा छ ।तर, साथीहरुले आफूलाई तोकिएको काम भने गर्नै पर्छ ।’

काम गर्ने कर्मचारीलाई संस्थाले सोहीअनुसार अवसर दिने तथा कामलाई वेवास्था गर्दै गुटबन्दी गर्नेलाई समेत कानुनअनुसार कारबाही गर्ने जोशी बताउँछन् ।

बोर्डमा यसअघि प्रमुख रहेका धनञ्जय रेग्मी तथा बोर्डका कर्मचारीबीच तीव्र विवाद देखिएको थियो । यस्तै, रेग्मीले बोर्डका कर्मचारी भ्रष्ट रहेको भन्दै भाषण गरे भने बोर्डका कर्मचारीले समेत रेग्मीविरुद्ध विभिन्न आरोप लगाउँदै विज्ञप्ति सार्वजनिक गरेका थिए ।

सन् २०१९ को अगस्तभन्दा हाल २३ प्रतिशत कम अन्तर्राष्ट्रिय पर्यटक आएको यथार्थलाई मनन गर्दै सबै पक्षसँगको सहकार्यमा काम गर्न आवश्यक रहेको जोशी बताउँछन् ।

‘पर्यटन क्षेत्र चलायमान हुन्छ भन्ने अपेक्षामा उपत्यका बाहिर होटेल र रिसोर्टमा ठूलो लगानी गरिएको छ,’ जोशीले भने, ‘तर, पर्यटन आवागमन बढाउने गरी पूर्वाधार तयार भएको छैन । नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्धन गर्नु पर्नेछ । सीईओ एक्लैले ठूलो परिवर्तन गर्न सक्दैन । त्यसैले अहिले देखिएको चुनौती समाधान गर्न सबै पक्षबीच सहकार्य गर्न जरुरी छ।’

कर्मचारीबीच देखिएको अन्योल हटाउनुसँगै निजी क्षेत्रसँग सहकार्य बढाउने आफ्नो अर्को महत्त्वपूर्ण प्राथमिकता रहेको जोशी बताउँछन् ।

‘पर्यटन बोर्डको स्थापना नै सार्वजनिक निजी साझेदारीको अवधारणालाई विकास गर्ने गरी भएको हो,’ जोशीले भने, ‘निजी क्षेत्र र सरकारले सहकार्यमा काम गर्नु पर्नेमा पछिल्लो समय बोर्ड र निजी क्षेत्र बिच सहकार्य हुन नसकेको कुरा पनि आएका छन् । सरकारले निर्धारण गरेको लक्ष्य पुरा गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने हाम्रो मुख्य जिम्मेवारी हो । त्यसमा हामी जिम्मेवार भएर काम गर्नेछौँ ।’

पर्यटन प्रवर्द्धन देखी गन्तव्य विकासमा नयाँ नयाँ अवधारणा विकास भएकाले बोर्डले सोही अनुसार काम गर्ने जोशीको भनाइ छ।

बोर्डमा नेतृत्व अभावले अहिलेसम्म सार्वजनिक हुन नसकेको बजेट छिटोभन्दा छिटो सार्वजनिक गर्ने विषय समेत प्राथमिकताका रहेको जोशी बताउँछन् ।

‘मन्त्रीज्यूले निजी क्षेत्रको चाहना र देशको हितलाई केन्द्रमा राख्दै काम गर्न निर्देशन दिनु भएको छ,’ जोशीले भने, ‘यहीँ साताभित्रै सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै ४ वर्षमा काम गर्ने गरी तयार गरेको कार्य योजना सार्वजनिक गर्ने तयारी गरेको छु ।’

बोर्डको सीईओमा प्रतिस्पर्धा गरेका अन्य व्यक्तिसँग समेत उहाँहरूका कार्य योजनाका विषयमा छलफल गर्ने योजना बनाएको जोशी बताउँछन् ।

‘उहाँहरूले पनि देशको हितमा काम गर्ने गरी योजना बनाउनु भएको हो । त्यसैले सबै प्रतिस्पर्धीसँग उहाँहरूका कार्य योजनाका विषयमा छलफल गर्ने सोच बनाएको छु,’ जोशीले भने, ‘पर्यटन उद्योगको विकासको हितमा रहेका सबै साथीहरूका रचनात्मक सुझावलाई कार्यान्वयन गर्दै जाने मेरो सोच छ ।’


क्लिकमान्डु