टिकटक खुलाउन दूरसञ्चार प्राधिकरणको औपचारिक निर्देशन



काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध औपचारिक रुपमा हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।

प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामा जनाइएको छ ।

‘टिकटमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’, प्राधिकरणको अनुगमन महाशाखाद्वारा जारी निर्देशनमा भनिएको छ ।

यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ ।

टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । प्रतिबन्धको १० महिनापछि टिकटक खुलाइएको हो ।


क्लिकमान्डु