पर्यटन बोर्डको सीईओ नियुक्तिप्रति पूर्वसीईओ रेग्मी असन्तुष्ट, न्याय खोज्न अदालत जाने तयारी



काठमाडौं । नेपाल पर्यटन बोर्डको बिहीबारको बैठकले दीपकराज जोशीलाई नियुक्त गर्दा प्रक्रिया मिचेको र बढी नम्बर ल्याउनेलाई पन्छाएर कम ल्याउनेलाई छानेको भन्दै डा. धनन्जय रेग्मी असन्तुष्ट भएका छन् ।

बोर्डले जोशीलाई आगामी ४ वर्षको लागि सीईओ नियुक्त गरेको छ । जोशीलाई नियुक्त गर्दा पर्यटन बोर्डले मापदण्ड र कानूनी प्रक्रिया मिचेर बोर्डको सीईओ नियुक्ति गर्दा आफू बाहिरिनुपरेको भन्दै रेग्मी असन्तुष्ट भएका हुन् ।

पर्यटन बोर्ड सीईओ छनोट उपसमितिले डा. रेग्मी, नवनियुक्त सीईओ जोशी र अर्का दावेदार ज्ञानेश्वर महतोको नाम सिफारिश गरेको थियो । पर्यटन बोर्डको विहिबारको बैठकमा बोर्डका सीईओ सिफारिश मात्रै गर्ने एजेण्डा राखिए पनि २४ घण्टा पनि नपुग्दै सीईओ नै नियुक्त गर्दा प्रक्रिया नपुगेको भन्दै बोर्ड सदस्य तथा सिफारिश उपसमिति सदस्य मदनकुमार आचार्यले नै असन्तुष्ट जनाएका छन् ।

एकातिर आचार्यले असन्तुष्ट जनाएको र अर्कोतिर आफ्नो बढी नम्बर आएको हुँदाहुँदै पनि अरुलाई नै नियुक्त गरेको विषयमा रेग्मीले असन्तुष्टी जनाएका छन् । बोर्डको सीईओका लागि तीन जनाको नाम छनोट भएका प्रतिस्पर्धीमध्ये रेग्मीको अन्य दुई प्रतिस्पर्धीको भन्दा ९ नम्बर बढी आएको हुँदाहुँदै पनि अरुलाई नै नियुक्ति गरिनु पारदर्शीकाम काम नभएको र योग्य व्यक्तिको कदर नभएको दाबी रेग्मीको छ ।

सीईओ छनोटमा असन्तुष्ट रेग्मी न्याय खोज्न अदालत जाने तयारीमा छन् । रेग्मीले क्लिकमान्डुसँग भने ‘पर्यटन बोर्ड सञ्चालक समितिले बढी नम्बर आएको र योग्य व्यक्तिलाई नियुक्त नगरेर कम नम्बर ल्याउनेलाई ल्याएको विषयमा अदालत जाने तयारीमा छु’ उनले भने ‘कानून व्यवसायीसँग आवश्यक छलफल गरेपछि बोर्डको सीईओ नियुक्तिको विषय बदर गरिपाउँँ भन्दै अदातल जाने तयारीमा छु ।’


क्लिकमान्डु