बैंकबाट थोरै ब्याजमा पैसा लिएर सहकारीमा राखेर बढी ब्याज खानेहरु आन्दोलनमा उत्रिए: सहकारी मन्त्री



काठमाडौं । भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट थोरै ब्याजमा लिने र सहकारीमा राखेर बढी ब्याज खानेहरु आन्दोलनमा लागेको आरोप लगाएका छन् ।

सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस, सम्मान तथा पुरस्कार वितरण समारोहमा बुधबार मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरुले नै अगुवाई गरेर आन्दोलन गरिरहेको दाबी गरेका हुन् ।

सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको उनले बताए । ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने उनको तर्क छ ।

सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै मन्त्री अधिकारीले यसलाई चिर्न आवश्यक रहेको बताए ।

कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको उनको भनाइ छ ।

सहकारीको समस्या समाधान गर्न पीडित बचतकर्ता र सहकारीको अगुवासँग छलफल सरकारले गरिरहेको मन्त्री अधिकारीले बताए ।

आफू मन्त्री हुनासाथ आन्दोलनरतसँग ८ बुदे सम्झौता गरेको र ७ वटाको काम भइरहेको उनले जानकारी दिए ।
सहमति भएका मध्ये आयोग गठन गर्ने काम सरकारले गरेको उनको भनाइ छ । एउटा आयोग गठन गर्दा अर्को गठन गर्न कानुनी रुपमा समस्या भएको अधिकारीले बताए ।
सहकारीमा १२/१५ बर्षदेखि समस्या आएको उल्लेख गर्दै उनले आफू आएपछि जम्मा २ वटा संस्था मात्रै समस्याग्रस्त घोषणा गरेको तर्क गरे ।

ऋण असुली न्यायाधिकरण,कर्जा सूचना केन्द्रका विषयमा मन्त्रालयले काम गरिरहेको उनले उल्लेख गरे । मन्त्री अधिकारीले कर्जा सूचनाकेन्द्रका बारेका राष्ट्र बैकसँग छलफल भइरहेको जानकारी दिए ।


क्लिकमान्डु