नाडा अटो शो र सेयर बजारले बजार चलायमान भइरहेको प्रमाणित गर्छ: गभर्नर



काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गरेका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक क्रियाकलाप अघि बढाउन, निजी क्षेत्रको मनोबल उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए । उनले केही सूचकहरुले पनि अर्थतन्त्र चलायमान बनाउने आधारशिला खडा भएको प्रमाणित गरेको बताए ।

सञ्चालन भइरहेको नाडा अटो शो, सेयर बजार र अन्य स्थितिले पनि बजार चलायमान भइरहेको प्रमाणित गरेको उनको भनाइ छ ।

‘भोलिको दिनमा हाम्रो आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको छ । केही सूचकहरु हामीले स्पष्ट रुपमा पाइसकेका छौँ,’ अधिकारीले भने ,’भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरु, सेयर बजारहरु र अन्य स्थितिले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको छ ।’
राजस्व संकलनमा पनि विगतका दुई वर्षकोभन्दा राम्रो उठेको अधिकारीले बताए । कर्जा प्रवाहको स्थिति साउनमा लगभग ३ अर्ब र भदौको आजसम्म थप १२ अर्ब कर्जा प्रवाह भइसकेको अधिकारीले बताए ।

‘हामी आशा गर्नसक्छौँ, यही आर्थिक वर्षबाट नयाँ किसिमबाट अर्थतन्त्र चलायमान हुनेछ । राज्य पनि त्यसैगरी नीतिगत रिफर्ममा लागिरहेको छ,’ उनले भने, ‘जे जस्ता सुधारहरु गर्नुपर्ने हो, कानूनी रिफर्ममा लागिरहेको छ । अफ्ठ्यारा भएका कुराहरुलाई के कसरी हुन्छ, सुधार गर्नुपर्छ ।’

गभर्नर अधिकारीले सरकारले पनि कानूनी अफ्ठ्यारा हटाउन नीतिगत सुधारमा लागेकाले अर्थतन्त्र चलायमान बन्ने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल


क्लिकमान्डु