मर्जरपछि महाहर्षित सहकारीको साधारण सभा, गुणात्मक रुपमा सफलता पाएको भनाइ



काठमाडौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कागेश्वरी मनोहरा-९मा रहेको महाकाली साकोस र काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा रहेको हर्षित साकोस एकीकरण भएपछिको पहिलो सभा शुक्रबार सम्पन्न भएको हो । दुई सहकारी मर्ज भएर २०८० पुस १३ गते एकीकृत कारोबार सुरु भएको थियो ।

साधारण सभामा दिइएको जानकारी अनुसार सहकारीको कुल सम्पत्ति आव २०८०/०८१ को असार मसान्तसम्म २१ करोड ४१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

सेयर पुँजी ५ करोड ५८ लाख ७३ हजार, जगेडा कोषमा १ करोड ३९ लाख ८ हजार, सेयर लगानी ४ लाख ८९ हजार, ऋण लगानी १४ करोड २१ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

सहकारीको ब्याज आम्दानी २ करोड ११ लाख ६५ हजार रहेको छ । यस्तै सहकारीको कुल बचत १३ करोड ७० लाख ३६ हजार, कुल नाफा ५८ लाख ५७ हजार ५४ रुपैयाँ रहेको छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा १९ लाख ९७ हजार १७७ रुपैयाँ प्रशासनिक तथा कार्यालय सञ्चालनका लागि खर्च गरेको थियो । गत आवमा संस्थाले खर्च घटाएर १५ लाख ४ हजार ८०९ रुपैयाँमा सीमित गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थाले नेफ्स्कुन, जिल्ला सहकारी संघ, सहकारी बैंक लगायत संघ संस्थामा ४ लाख ९४ हजार १०० रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ४ लाख ८९ हजार १०० रुपैयाँ रहेको थियो ।

सहकारीले १४ करोड २१ लाख ४३ हजार ८२७ रुपैयाँ कर्जा सापटी तथा लगानी गरेको छ । सहकारीले २ करोड ११ लाख ६५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ भने सञ्चालन आम्दानी १९ लाख १६ हजार ९१९ रुपैयाँ रहेको छ ।

साधारणसभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले समाजमा सहकारीप्रति नकारात्मक समाचार मात्र आइरहेको तर यस्ता अब्बल संस्थाहरुको सकारात्मक समाचार नआउनु दु:खद् भएको बताइन् ।

एकीकरण चुनौतिपूर्ण रहे पनि अर्को संस्थासँग एकीकरण गर्ने कुराले हर्षित तुल्याएको भन्दै यसको नेतृत्वले सहकारी अभियान बुझेको हुनाले महाहर्षित सहकारी सुशासनमा रहँदै सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरणमा लाग्नु पर्ने उनको भनाइ छ ।

साधारणसभामा महाहर्षित सहकारीका अध्यक्ष बालकुमार बास्तोलाले संयुक्त रुपमा कारोबार थालेपछि गुणात्मक रुपमा सफलता पाउन सकेको बताए ।

पछिल्लो समय सहकारीमाथि विभिन्न खालका आरोप र ठगीका घटनाहरु सार्वजनिक भइरहँदा दुई सहकारी एकीकृत भइ बनेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कारोबारमा सफलता पाउन सकेको बास्तोलाको भनाइ छ ।

‘महाकाली र हर्षितबीच एकीकृत कारोबार थालेपछि संस्थाले गुणात्मक रुपमा सफलता पाउन सकेको छ, ‘ बास्तोलाले भने, ‘सहकारीहरुका विषयमा पछिल्लो समय विभिन्न नकारात्मक चर्चा परिचर्चा चलिरहँदा महाहर्षितले गुणात्म रुपमा सफलता पाउन सकेको हो ।’

साधारणसभामा तीज विशेष कार्यक्रम समेत गरिएको अध्यक्ष बास्तोलाले बताए ।

२०८० माघ २१ गते मर्जर भै महाहर्षित बनेको भए पनि पुस १३ गतेबाट एकीकृत कारोबार प्रारम्भ गरेको संस्थाले समाजमा सहकारी प्रतिकोको जागरण सृजना गर्दै गुणात्मक सफलता प्राप्त गरेको बास्तोला बताउँछन् ।

पेप्सीकोलामा रहेको महाहर्षित सहकारीले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।


क्लिकमान्डु