महाकाली र हर्षित बचत तथा ऋण सहकारी मर्ज, बास्तोला बने अध्यक्ष



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीमा रहेको महाकाली बचत तथा ऋण सहकारी संस्था र काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगलमा रहेको हर्षित बचत तथा सहकारी संस्थाको संयुक्त साधारणसभा सम्पन्न भएको छ ।

दुवै संस्थाको संयुक्त साधारणसभाले महाकाली र हर्षित बचत तथा ऋण सहकारी एकीकरणमा जाने प्रस्ताव पारित गरेको छ।

एकीकरणपछि संस्थाको नाम महाहर्षित बचत तथा ऋण सहकारी संस्था राखिएको छ । एकीकरण पछि संस्थाको कुल कारोबार १८ करोड ५० लाख पुग्ने छ भने सेयर पुँजी ५ करोड ६० लाख पुग्ने छ । बचत ११ करोड र ऋण लगानी १२ करोड ९१ लाख पुग्ने छ । एकीकरण पछि संस्थामा ६ सय ६६ सदस्य पुग्ने छन् ।

एकीकरणपछि संस्थाको मुख्य कार्यालय मनोहरा बस्ती पुरानो सिनामगंल, पेप्सीकोलामा रहने छ भने सेवा केन्द्र मुलपानीमा रहने छ ।

सभाले महाकाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकुमार बास्तोलाको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बिना पराजुली, सचिव हरिशरण सिवाकोटी, कोषाध्यक्ष तिलक बहादुर खड्का रहेका छन् ।

यस्तै सदस्यहरुमा सागर कुमार घिमिरे, इन्द्र थापा तथा अन्जु दाहाल पोखरेल रहेका छन् । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा बिनोद पराजुली, सदस्यमा कमल नेपाल र लाल बहादुर बस्नेत रहेका छन् ।

अध्यक्ष बास्तोलाले धेरै सहकारीहरु समस्यामा गइरहेको बेला दुई सहकारी संस्थाबीचको एकीकरण नमूना भएको बताए । एकीकृत संस्थालाई समुदायमा नमूनायोग्य संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य आफूहरुले राखेको उनले बताए ।


क्लिकमान्डु