क्यानका डीजीलाई हटाउन हुँदैन भन्दै रास्वपाको दौडधूप, कांग्रेस सांसदलाई भेट्न पुगे सहमहामन्त्री (भिडियो)



काठमाडौं । नेपालको हवाई सुरक्षालाई वेवास्ता गरेको भन्दै पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग हुँदै आएको छ ।

दुई साताका दुई ठूला हवाई दुर्घटना हुँदा समेत क्यान नेतृत्व गम्भीर नभएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन सांसददेखि संसदीय समितिमा समेत चर्को बहस भयो । तर नत अधिकारीले दुर्घटनाको नैतिक जिम्मेवारी लिए न त उनलाई हटाउन सरकारले कदम नै चाल्यो । यसैबीच संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री क्यानका डीजीलाई हटाउनु हुँदैन भन्दै कांग्रेस नेता कहाँ पुगेको आरोप लागेको छ ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन हुँदैन भन्दै आफू कहाँ आएको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद बजगाईंले रास्वपाका सहमहामन्त्री क्यानका डीजी अधिकारीलाई हटाउन हुँदैन भन्दै आएको उनले बताए ।

रास्वपामा तीन सहमहामन्त्री छन् । कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन कुमार आचार्य रास्वपा सहमहामन्त्री हुन् । बजगाईंले अधिकारीलाई नहटाउन लबिङ गर्ने सहमहामन्त्रीको नाम भने उल्लेख गरेनन् ।

‘रास्वपाका सहमहामन्त्री म कहाँ हतारिँदै आउनुभयो । क्यानका डिजीका बारेमा । उहाँ हाम्रो मान्छे । रवि लामिछानेको निर्वाचन क्षेत्रको मान्छे उहाँलाई जोगाउनुपर्‍यो भनेर म कहाँ अचानक आउनुभयो । त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो,’ उनले भने, ‘ म प्रश्न गर्न चाहन्छु यो द्वेध चरित्रले यो देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग जनताको आशा, भरोसा छ भनिएको छ । यस्तो डबल स्ट्याण्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यस विषयमा आम नेपाली जनता र सदनको ध्यानाकृष्ट गराउन चाहन्छु।’

हवाई सुरक्षामा ध्यान नदिएको र क्यानको नेतृत्वमा प्रदीप अधिकारी आएपछि ८ वटा ठूला हवाई दुर्घटना भएको भन्दै संसदमा बारम्बर प्रश्न उठ्ने गरेको छ । साथै संसदीय समितिमा समेत अधिकारीलाई हटाउनु माग सांसदहरुले गरेका थिए ।

नेपाली कांग्रेसका सांसदहरु उदय शमसेर राणा, राजेन्द्र बजगाईं लगायतले क्यानका डीजीको कार्यशैलीको आलोचना गर्दै आएका छन् । केही समयअघि डीजी अधिकारीले सांसदहरुलाई गधा र आफूलाई सिंहसँग तुलनासमेत गरेका थिए ।

रास्वपाका सांसदहरुले पनि डीजी अधिकारीमाथि बैठकहरुमा प्रश्न गर्दै आएका थिए तर उनलाई जोगाउनका लागि सहमहामन्त्रीनै दौडधूपमा लागेको भन्दै सांसद बजगाईंले यस्तो द्वेध चरित्र नदेखाउन आग्रह गरेका हुन् ।

त्यसअघि रास्वपा सांसद मनिष झाले सरकारी नियुक्तिमा राजनीतिकरण गर्न नहुने बताउँदै योग्य मान्छेलाई नियुक्त गर्नु पर्ने बताएका थिए । तर अधिकारीमाथि प्रश्न उठिरहँदा रास्वपाकै सहमहामन्त्री उनलाई जोगाउन दौडधूपमा लागेको भन्दै बजगाईंले यस्तो द्वेध चरित्र नदेखाउन आग्रह गरे ।


क्लिकमान्डु