१ लाखलाई जागिर दिने र १ खर्ब लगानी भएको अटो व्यवसायलाई सरकारले प्राथमिकता देओस्: करण चौधरी



काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सरकारले अटो व्यवसायलाई प्राथमिकताका साथ हेर्नु पर्ने बताएका छन् ।

मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सवारी साधनको कुम्भ मेलाको उद्घाटनमा अध्यक्ष चौधरीले अटो मोबाइललाई विलासी मानिए पनि यो नेपाली जनताको आवश्यकता रहेको बताए ।

अटो व्यवसायीले १ लाखलाई रोजगारी दिएको र अप्रत्यक्षरुपमा १५ लाख जनाले रोजगारी पाएकोले यस क्षेत्रलाई सरकारले प्राथमिकता दिनु पर्ने उनको भनाइ छ ।

अटो क्षेत्रमा व्यवसायीहरुले १ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको उनले बताए । व्यवसायीहरुमाथि चोरीको समेत आरोप लाग्ने गरेको र त्यसको त्रासमा आफूहरु रहनु परेको भन्दै यो विषयलाई बुझाउन आवश्यक भएको बताए ।

‘यो पारदर्शी व्यवसाय हो । व्यवसायीहरु स्वच्छ छैन भन्ने छ । यो गलत हो,’ उनले भने, ‘हामी यो त्रासमा बाँचिरहेका छौं । व्यापारीहरुले चोरी गर्छन् भन्ने परेको छ । सरकारलाई पनि बुझाउनु पर्ने छ ।’

चौधरीले अहिलेको सरकारमाथि सबैको ठूलो आशा रहेको भन्दै नीतिगत स्थितरतामा जोड दिनुपर्ने बताए ।

नेपालमा ईभीको पहुँच बढेको भन्दै चौधरीले नेपाल विद्युतीय सवारीमा १ नम्बरमा रहेको बताए ।

अर्थतन्त्रमा अटो व्यवसायीले योगदान गरिरहेको उनले बताए । राजस्वमा योगदान गरेका व्यवसायीहरु खुसी हुन नसकेको उनको भनाइ छ ।

चौधरीले १० वर्षे नीति आवश्यक रहेको भन्दै देशमै बसेर व्यवसाय गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरे । उनले अवैध आयात रोक्न माग गरे । आफूहरुलाई नेपालमै बसेर काम गर्ने वातावरण सरकारले बनाइदिनु पर्ने उनको भनाइ छ।


क्लिकमान्डु