सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै, १० बजेदेखि निकाल्न थाले पनि सकिएन



दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ ।

गत शुक्रबार पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले अझै दुई घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

‘बस निकाल्ने काम भइरहेको छ, हालसम्म सफल भएका छैनौँ । बिहान १० बजेसम्मको समय निर्धारण गरिएकामा बस निकाली नसकिएकाले अझै दुई घण्टा सडक सञ्चालन गर्न सक्ने अवस्था छैन’ उनले भने ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु