अर्थतन्त्रका सूचकहरु सकारात्मक: अर्थमन्त्री



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा उनले गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजस्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजस्व २० प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

उनले वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको दाबी गरे । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गरे ।

‘वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेका छन् । अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी प्रभावकारी काम गर्न बाँकी छ,’ उनले भने, ‘ गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजस्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजस्व २० प्रतिशतले वृद्धि भएको छ । बजेटले लिएको राजस्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुर्‍याउनुपर्छ ।’

बजेटले लिएको राजस्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुग्नुपर्ने बताए । उनले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएको उल्लेख गरे ।

उनले पछिल्लो एक महिनाको अवधिमा पुँजीबजार उत्साहित भइरहेको भन्दै मौद्रिक नीतिको प्रभावले अर्थतन्त्रमा सकारात्मक असर गरेको बताए ।

उनले भुक्तानी सन्तुलनमा अनकुल अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रका सूचकहरुले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको संकेत गरेको बताए ।

उनले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन,रोजगारीको कमी रहेको उल्लेख गरे ।


क्लिकमान्डु