विकास निर्माणका कामहरुलाई द्रुत गतिमा अघि बढाउन वर्तमान गठबन्धन: गृहमन्त्री



जनकपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनका लागि बनेको बताएका छन् ।

सिरहा र धनुषामा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन बिहीवार बिहान जनकपुर पुगेका उनले मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुने बताए ।

संविधानको कार्यान्वयन, समावेशितालाई थप सुदृढ गर्ने, विकास निर्माणका कामहरुलाई द्रुत गति दिने उद्देश्यका साथ नयाँ समीकरण बनेको बताए ।

उनले सरकार मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको दाबी गरे ।

गृहमन्त्री लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून बनाउन लागिएको पनि जानकारी दिए ।

नयाँ प्रहरी कानून बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेश हुने बताए ।

प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु हुने उनको भनाइ छ ।


क्लिकमान्डु