नक्साल बन्यो अटोको नयाँ ‘हब’ (भिडियो स्टोरी)



काठमाडौं । नारायणचौर वरीपरी हिँड्दा बाटैभरी गाडीका शोरुम देख्नु भएको होला । अहिले टंगाल, नक्साल, नागपोखरी गैरीधारा, उत्तरढोका क्षेत्र अटोमोबाइलको हब बनिरहेको छ ।

केही वर्षअघिसम्म थापाथलीमा केन्द्रित रहेको अटो बजार अहिले नक्साल वरिपरी फैलिएको हो ।

नक्साल क्षेत्र स्थापित ब्राण्डसँगै नयाँ ब्राण्डको पहिलो रोजाइमा पर्न थालेको छ । पुरानासँगै दर्जनभन्दा बढी नयाँ कम्पनीले नक्साल वरिपरी सवारी साधनका शोरुम खोलेका छन् । स्थापित घरानाहरु समेत सोही क्षेत्रमा शोरुम खोल्ने तयारीमा छन्।

आखिर कसरी नक्साल वरपरको यो क्षेत्र नयाँ अटो हबमा परिणत भयो त ?

नेपाल आएको चिनियाँ ब्राण्डका ईभीको फ्लडले नक्साललाई नयाँ अटो हबको परिचय बनाउन सघाएको हो ।

नेपाल भित्रिएका चर्चित ईभी ब्राण्डको शोरुम नक्साल वरिपरी छ ।

ईभीमा रुचाइएको ब्राण्ड बिवाईडीका साथैं ओमोडा,सेरेस, डिपल, जीप, भक्सावनागन,सिट्रोन, चांगन, सुजुकी, हुन्डाई, स्काईवेल,उलिङलगायतका ब्राण्डको शोरूम नक्साल क्षेत्रमा छ ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको थापाथलीमा भव्य अफिस छ भने कम्पनीले गैरीधारामा शोरुम राखेको छ । कम्पनीले ‘एस ईभी’ बिक्रीका लागि उक्त शोरुम खोलेको हो । चारपारङ्ग्रेसँगै दुईपाङ्ग्रे ब्राण्डको रोजाईमा समेत नक्साल पर्न थालेको छ ।

चर्चित मोटरसाइकल ब्राण्ड बिएमडब्लु, डुकाटी, हस्कभर्ना, केटीएम डुकको शोरुम नक्सालमै छ ।

अमेरिकी चर्चित ब्राण्ड हार्ले डेडिट्सनको शोरुम गैरीधारामा छ । दुईपाङग्रे चिनियाँ ब्राण्ड टेल्जी,जिनियसका सवारीसाधनका शोरूम यहि छन् ।

नक्साल चोकबाट गैरीधारातिर लाग्दा बायाँतर्फ रेनोल्ट, कोबेल्को हेभी भेहिकल्स तथा प्रोटोन गाडीको सोरुम देखिन्छ।

नारायणहिटी दरबारको उत्तरतर्फ किया, इसुजु, टोयोटा,ओमोडा गाडीका भव्य सोरुम छन्।

नक्सालमा बाइकर्स क्याफे समेत खुलेको छ ।

बाइकका पारखीहरुका लागि खुलेको बाइकर्स क्याफे अभिमन्यु गोल्छाको परिकल्पना हो ।

गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलाशचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाको परिकल्पनामा बजाज र केटीएमका मोटरसाइकलसँगै कफीको स्वाद लिन यो क्याफे खुलेको हो ।

नक्साल क्षेत्र अटो व्यवसायीहरुको रोजाईमा कसरी पर्यो त ?

यसबारे चिनियाँ ब्रान्ड बिवाईडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स प्रालिकी प्रबन्ध निर्देशक यामुना श्रेष्ठले खुला ठाउँ र पार्किङको समस्याका कारण थापाथली बाट अटो हब नक्सालतिर सरिरहेको बताउँछिन् । उनकाअनुसार नक्सालमा नारायण चौरको खुला ठाउँ छ ।

एक साईटमा उभिएर सबै अटो शोरुमहरु देख्न सकिने खालको छ । हरियालीले भरिएको छ । ‘बिवाईडी पार्क भनेर हामी त्यहाँ गयौं । हामी गएको ८ वर्ष पूरा भयो । विस्तार विस्तारै अटो हब भए जस्तो लाग्छ,’ उनले भनिन्, ‘ अहिले नेपालको पहिलो अटो बजार यहि भयो । त्यसपछि थापाथली हो । एउटा शपिङ महलभित्र सबै सामान भए जस्तै आधा घण्टामा सबै शोरुममा पर्न सकिन्छ ।’

यसबाहेक नक्साल अटो व्यवसायीहरुको रोजाइमा पर्नुको कारण ‘लोकेसन’ पनि हो। नक्साल पुग्ने धेरैवटा बाटोहरु छन् । दरबारमार्गबाट हिँडेरै नक्साल पुग्न सकिन्छ ।

यस क्षेत्रमा अहिले अन्तर्राष्ट्रिय चेन होटलहरु समेत खुलेका छन् ।

थापाथली अटो बजारको पुरानो हब हो । साँघुरो ठाउँमा रहेकाले यस क्षेत्रमा थप बजार विस्तार गर्न सक्ने अवस्था छैन । कुनै कम्पनीले चाहेर पनि सजिलै शोरुम राख्न स्पेस पाउने सम्भावना पनि छैन ।

नक्साल क्षेत्र नयाँ अटो हब बनिरहँदा थापाथलीमा रहेका शोरूम नक्साल सरेका भने होइनन् ।

थापाथलीमै पनि केही नयाँ शोरुमहरु खुलिरहेका छन् ।

सिजी मोटर्सले आइवन वाई,एक्सपेङलगायका ब्राण्ड बेच्ने शोरुम खोलेको छ । जियो अटोमोबाइल्सले चिनियाँ केईको शोरु थपेको छ । जिकरको पनि शोरुम खुल्दैछ ।


क्लिकमान्डु