२ अर्ब डुबाएर थन्किएका ५ चिनियाँ जहाज निगमलाई ‘निल्नु न ओकल्नु’



काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ ऋण सहयोगमा भित्र्याएको एमए ६० र वाई १२ नामका पाँच जहाज वर्षौंदेखि थन्काएर राखेको छ ।

निगमले चिनियाँ जहाज उडाउँदा आव २०७१/०७२ देखि २०७५/२०७६ सम्ममा नै करिब २ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । निगमकाअनुसार उक्त अवधिमा चिनियाँ जहाजहरु सञ्चालन गर्दा मात्रै निगमलाई ७७ करोड ७४ लाख रुपैयाँ र जहाज उडानसहितबाट भएको कुल घाटा १ अर्ब ९० करोड ६९ लाख भएको छ ।

निगमले ५८ सिट क्षमताको २ वटा एमए ६० र १८ सिट क्षमताको ३ वटा वाई १२ ई जहाज बिक्रीका लागि प्रस्ताव मागेको थियो ।

निगमले २०७१ देखि २०७४ सम्ममा भित्र्याएका यी जहाजमध्ये २ वटा (एउटा एमए ६० र एउटा वाई १२) जहाज अनुदानमा पाएको हो । बाँकी ४ वटा (१ वटा एमए ६० र ३ वटा) वाई १२ जहाज सहुलियत ऋणमा चीनबाट खरिद गरिएको थियो । यी जहाज खरिद गर्दा ३ अर्ब चीनबाटै ऋण लिइएको थियो ।

निगमले चिनियाँ जहाजको उडान तथा सञ्चालन खर्च धान्न नसकेका कारण २०७७ साउन १५ देखि सञ्चालनमा नल्याउने निर्णय गरेको थियो । निगमले २०७७ चैत ४ गते निर्णय गरेर यी जहाज भाडामा दिने तथा बिक्री गर्ने प्रस्ताव गरेको थियो ।

निगमको प्रस्तावलाई २०७७ चैत १२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृति दिएको थियो । त्यसपछि निगमले चिनियाँ जहाजलाई २ पटक भाडामा दिने र दुबै पटक बिक्रीका लागि प्रस्ताव माग गरेको थियो । दुबै पटक दुईटै प्रक्रियामा आवदेन नै नपरेपछि चिनियाँ जहाज उडानमा छैन भने यसले दुई वर्ष अगाडि नै तिर्न सुरु गर्नुपर्ने ऋणको किस्ता पनि तिरेको छैन ।

ति जहाजहरु सञ्चालन गर्न प्राविधिक, व्यवसायिक र आर्थिक रुपमा अनुपयुक्त भएको, बिमा खर्च तथा इन्धन खपत अत्याधिक रहेको, सीमित यात्रुवहन क्षमता र जगेडा पाटपुर्जामा समस्या रहेकोसहितका कारण थन्काउनुपरेको निगमले जनाएको छ ।

निगमले यी जहाज उडाएर नाफा गर्न नै नसक्ने निष्कर्ष निकालेर ग्राउन्डेड गरेका जहाज न त कमाउन सक्ने अवस्था छ भने न त ऋणको किस्ता तिर्ने उपयुक्त बाटो नै । सरकारी कमिसनको लागि जहाज ल्याएका कारण यसलाई उडान नसकिएको र उपयुक्त मूल्यमा बिक्री पनि गर्न नसकेको निगम स्रोतको भनाइ छ ।


क्लिकमान्डु