सहकारी ठगी: रास्वपाका उपसभापति र सहमहामन्त्री जोडिएको हाम्रो नयाँ कृषिका पूर्वअध्यक्षसँग सोधपुछ



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उच्च नेता संलग्न रहेका हाम्रो नयाँ कृषि सहकारी संस्थाका पूर्व अध्यक्षसँग सोधपुछ गरेको छ ।

शनिबार बसेको समितिको बैठकले बालुवाटारमा कार्यालय रहेको संस्थाका पूर्वअध्यक्ष सूर्यबहादुर गुरूङसँग सोधपुछ गरेको जनाएको छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उर्जा मन्त्री शक्तिबहादुर बस्नेतहरुले खोलेको संस्थामा रास्वपाका उप सभापति एवं पूर्व श्रममन्त्री डीपी अर्याल उपाध्यक्ष, रास्वपाका सह महामन्त्री कविन्द्र बुर्लाकोटी सञ्चालक समिति सदस्य रहेका थिए ।
२०७९ पछि जिबी राईको अध्यक्षतामा देशभरि कार्यक्षेत्र हुने व्यवस्था गरिएको थियो ।

सहकारीले ५८ जना बचतकर्ताको करिब ८ करोड रुपैयाँ बचत ठगेको उजुरी परेको छ । उक्त रकम फिर्ता पाउनु पर्ने भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा माग दाबी गरेका छन् ।

हाम्रो नयाँ कृषि सहकारी संस्थाले बचतकर्तालाई ठगेको भन्दै उजुरी बढेपछि सहकारी विभागले गत असोज २६ गते सीआईबीलाई थप अनुसन्धानका लागि पत्र पठाएको थियो ।

त्यसअघि विभागले गत असार ३ गते संस्थाका अध्यक्षसहित ६ जना सञ्चालक समितिका सदस्यलाई विभागमा नै बोलाएर बचतकर्तालाई संस्थाको लगानी रहेको कम्पनीहरुमा रहेको सम्पत्तिबाट अपुग भएमा आफ्नो र परिवारको नाममा रहेको आफ्नो हक लाग्ने चलअचल सम्पत्तिबाट फिर्ता गर्ने प्रतिबद्धता गराएको थियो ।

पछि बचत फिर्ता नगरी सञ्चालक भागेपछि सीआईबीमा थप अनुसन्धानका लागि पत्र पठाएको थियो ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’लाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएको छ ।

हाल उक्त सहकारीका अध्यक्षमा गितेन्द्र बहादुर (जिबी) राई, उपाध्यक्ष लिलाबहादुर गुरुङ, सचिव ओम प्रकाश गुरुङ, कोषाध्यक्ष नविन अछामी रहेका छन् । यस्तै सञ्चालक सदस्यमा असरफ अली सिद्धकी, दुर्गा चापागाई पाण्डे र रामहरी अधिकारी रहेका छन् ।

अहिले सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हेमन्त अधिकारी रहेका छन् भने सदस्यमा रबिन रिमाल र निर्मला तण्डूकार रहेका छन् ।

२०७९ असोज २२ गते बसेको संस्थाको १०औं साधारणसभाबाट राईको नेतृत्वमा हाम्रो नयाँ कृषि सहकारी संस्थामा नयाँ कार्यसमिति चयन भएको हो ।

त्यसअघि २०७७ साउन २७ गते संस्थाको नवौं साधारणसभाले सूर्य बहादुर गुरुङको अध्यक्षमा सञ्चालक समिति चयन गरेको थियो । उक्त समितिमा अर्याल उपाध्यक्ष, उत्तम अधिकारी सचिव, जनक गौतम कोषाध्यक्ष रहेका थिए । सञ्चालकमा कष्ण कुमार न्यौपाने, कविन्द्र र सर्मिला तामाङ रहेका थिए ।

उक्त समयमा लेखा सुपरिवेक्षण समितिको संयोजकमा विनोद दाहाल र सदस्यमा पुरुशोत्तम अधिकारी र रजनिस आचार्य रहेका थिए । चार वर्षको लागि गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएपनि राईले दुई वर्ष नपुग्दै अवैधानिक रुपमा संस्था कब्जामा लिएका हुन् ।

यसरी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको भए पनि कार्यकाल नसकी २०७९ साल असोज २२ गते साधारणसभा बोलाउन लगाएर अर्याल, बुर्लाकोटीको सक्रियतामा सहकारीको अध्यक्ष राईलाई चयन गरिएका थिए ।

राईले किर्ते साधारणसभा गरेर संस्था कब्जा गरेपछि सभा सकिएको ६ महिनापछि सहकारीका बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका थिए । अध्यक्ष राईले सहकारीमा ६ लाख रुपैयाँको सेयर किनेका छन् ।

हाल सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राई फरारको सूचीमा छन् ।

उक्त सहकारीमा अर्यालको २१ लाख र बुर्लाकोटीको करिब २ लाख रुपैयाँ फसेको बताइएको छ । केही समयअघि मन्त्री अर्यालले आफ्नो पैसा सहकारीमा बसेको र उठाउनेलाई २ लाख घुस दिने समेत बताएका थिए ।


क्लिकमान्डु