दिव्य शान्ति सहकारीका अध्यक्षसहितले ठगे १३ करोडः श्रीमती प्रबन्धक, साली व्यवस्थापक, ७ जना फरार



काठमाडौं । दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको १२ करोड ९८ लाख ८९८ रुपैयाँ ठगी भएको छ ।

उक्त रकम सहकारीका अध्यक्ष लगायत सञ्चालकले ठगेर फरार भएको भन्दै बचतकर्ता अदालत पुगेका छन् । उक्त सहकारी पारिवारिक रुपमा चलेको देखिएको छ ।

सहकारी परिवार भित्रका सदस्यले चलाउने र बचतकर्ताबाट संकलन गरेको पैसा सहकारीका अध्यक्ष लगायत सञ्चालकले मनोमानी ढंगले अपचलन गर्ने गरेको पाइएको हो ।

सहकारीका अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष अशोक महर्जन, कोषाध्यक्ष सुनिल महर्जन, सचिव रेखा महर्जन, सदस्य सिरु श्रेष्ठ, सदस्य दिव्यश्वरी महर्जन र सहकारीको व्यवस्थाक अञ्जला महर्जन रहेका छन् ।

काठमाडौं महानगरपालिका–२४ मा रहेको उक्त सहकारीले बचतकर्ताले रकम माग्न पटक पटक जाँदा तिर्न आलटाल गरेको पीडितको भनाइ छ ।

उक्त सहकारी संस्थाका अध्यक्ष कृष्ण महर्जनले आफुखुसी सञ्चालन गर्दा संस्था बन्द भएको बताइएको छ ।

संस्थाको सम्पूर्ण ब्यबस्थापन लेखा हिसाब तथा लेखा समितिको कार्यहरु अध्यक्ष महर्जनले श्रीमती अञ्जला महर्जन र साली अञ्जली महर्जनले गर्ने गरेका थिए ।

अध्यक्ष महर्जनले साली अञ्जलीलाई लेखापालको रुपमा समेत नियुक्ति गराएका र सम्पूर्ण जिम्मेवारी दिइएको सचिव महर्जनको भनाइ छ । कृष्ण महर्जन सहकारीमा सुरुदेखि नै अध्यक्ष थिए ।

सहकारीका अध्यक्ष कृष्ण महर्जन पक्राउ गरेका छन् भने अन्य ७ जना फरार रहेका छन् । फरार हुनेमा सहकारीका उपाध्यक्ष अशोक महर्जन, कोषाध्यक्ष सुनिल महर्जन, सचिव रेखा महर्जन, सदस्य सिरु श्रेष्ठ, सदस्य सञ्जली महर्जन, सदस्य दिव्यश्वरी महर्जन र सदस्य अञ्जला महर्जन रहेका छन् ।


क्लिकमान्डु