सहकारी छानबिन विशेष समितिले दिपेश पुनसँग सोधपुछ गर्दै, यसपछि रवि लामिछानेको पालो



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका दिपेशकुमार पुनसँग सोधपुछ गर्ने भएको छ ।

माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका महासचिव समेत रहेका दिपेश पुन बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिव हुन् ।

पुनसँग सहकारी छानबिन विशेष समितिले आज सोधपुछ गर्न लागेको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

पुन उक्त सहकारी ठगी प्रकरणमा जोडिएका छन् । उक्त सहकारीमा पुनका साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समते जोडिएका छन् । उक्त सहकारीमा गोरखा मिडिया नेटवर्कका व्यवसायीक साझेदार गितेन्द्र बाबु (बिजी) राई पूर्व अध्यक्ष हुन् । राई, लामिछाने लगायतले सहकारीको पैसा अपचलन गरेका छन् ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीमा १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा जोडिएका हुन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए । उनलाई प्रहरीले २०८० साल चैत २ गते काठमाडौंबाट पक्राउ गरि बुटवल लगिएको थियो । उनी अहिले भने अदालतबाट धरौटीमा छुटेका छन् । उनी वैशाख १४ गते ४ लाख धरौटी बुझाएर छुटेका थिए ।

समिलते उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङलाई भैरहवा कारागारबाट ल्याएर बिहीबार सोधपुछ गरेको छ । यस्तै समितिले बिहीबार नै उक्त सहकारीको प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरूङलाई पनि समितिको बैठकमा ल्याई सोधपुछ गरेको छ । उनी २०८० बैशाखमा २ लाख धरोटमा रूपन्देही जिल्ला अदालतको आदेशमा छुटेकी छिन् ।
समितिले केही दिनमा रास्वपाका सभापति लामिछानेसँग पनि बयान लिने तयारी गरेको छ ।


क्लिकमान्डु