अब विदेश जाँदा पनि एनटीसीको प्रिपेड मोबाइल चल्ने, के गर्नुपर्छ ?
काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाएको छ ।
टेलिकमले आज (२०८१ साउन ३०) देखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाएको हो ।
यस अनुसार हाल प्रिपेड ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने टेलिकमले जनाएको छ ।
सेवाग्राहीले 14157# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनोट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्ने छन् ।
नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत वाहेकका अन्य देशहरुमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ । भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड 14157# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नको लागि [email protected] मा इमेल मार्फत अनुरोध गर्न सकिन्छ ।
नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइल मार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरुमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।
नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरुलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सुविधा मध्ये रोमिङ सेवा निकै नै उपयोगी छ । अब कम्पनीका सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा स्वतः रोमिङ सेवा उपलब्ध भए पश्चात सेवाग्राहीले सहज तरिकाले यो सेवा प्रयोग गर्न सक्ने कम्पनीको विश्वास छ ।