सहकारी ठगी: कास्की जेलबाट ल्याएर गोरखा मिडियाका सञ्चालक रम्तेलसहित ४ जनासँग सोधपुछ, रविसँग कहिले?



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसहित चार जनासँग सोधपुछ गरेको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसँग कास्की कारागारबाट समितिको बैठकमा ल्याई सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले बताए । साउन २९ र ३० चार जनासँग सोधपुछ गरिएको हो ।

यस्तै समितिले विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक शिवकुमार गुरूङ (महेन्द्र भोटे)लाई कास्की सुधार गृहबाट ल्याएर सोधपुछ गरेको हो ।

यस्तै समितिले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्याललाई पनि कारागारबाट ल्याएर सोधपुछ गरेको छ ।

समितिले साउन ३० गते (आज) स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठसँग पनि सोधपुछ गरिएको सभापति थापाले बताए ।

समितिले अनुसूची १ र २ मा रहेका २९ वटा सहकारीसँग जोडिएका विभिन्न व्यक्तिसँग सोधपुछ जारी राखेको छ । समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग पछि सोधपुछ गर्ने भएको छ । त्यसको मिति भने तय भइसकेको छैन ।


क्लिकमान्डु