लेखा समिति सभापतिले संसदमा भने: प्रचण्ड सरकारले उद्योगीलाई बिजुलीमा १६ अर्ब छुट दियो



काठमाडौं । सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेलले विद्युत प्राधिकरण, तत्कालीन सरकार र व्यवसायीहरूको मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दिइएको बताएका छन् ।

पोखरेलले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले व्यवसायीलाई विद्युतको १६ अर्ब महसुल छुट दिएको बताएका हुन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै पोखरेलले मन्त्रिपरिषद्को निर्णयको प्रति देखाउँदै गत वैशाख २७ गतेको मन्त्रिपरिषद् बैठकले व्यवसायीहरूलाई विद्युत महसुलको बक्यौता बापतको १६ अर्ब रुपैयाँ छुट दिने निर्णय गरेको बताए ।

समितिमा छलफल हुँदा प्राधिकरण, सरकार र व्यवसायीको सेटिङमा आयोग निर्माण भएको सांसदले उठाएको पोखरेलले बताए ।

‘दुई वटा आशयको पत्र कसरी हुनसक्छ ? यो पृथ्वीमा नेपालमा बाहेक अन्त हुनसक्छ ? मुलुकको अन्तर्राष्टिय बेइज्जत हुने परिस्थिति कसले निर्माण गर्‍यो ? उजुरीको चाङ छ,’ उनले भने,’यसरी १६ अर्ब रुपैयाँ छुट दिने परिस्थिति कसरी निर्माण भयो भने व्यवसायी र समितिको बीचमा बहस भयो। व्यवसायीका तर्फबाट जसजसले बहस गर्नुभयो। त्यो र लाल आयोगको भाषा, शब्द र शैली जस्ताको तस्तै कसरी मिल्छ?’

२२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको बिल गएपछि समितिका त्यो विषय उठेपछि छलफल गरेको उनले बताए ।

‘आठ अर्बको विद्युत बिल व्यवासायीलाई पठायो, त्यो पनि समितिमा हल्लाखल्ला भयो । २२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको बिल गएपछि सिंगो समितिका त्यो विषय उठेपछि छलफल लगेका थियौं । त्यही एक माननीयले भन्नुभयो सरकारले १६ अर्ब छुट दियो र ६ अर्ब तिर्नुपर्ने अन्य दायित्वसहितको जोडेर ८ अर्बको बिल पठाएको छ । यो बिषय छलफल गरिनुपर्छ । हामीले महालेखाको प्रतिवेदनमा उल्लेखित बिषयलाई छलफल नगरी कसरी ८ अर्बको बिल भयो भनेर हामीले खोजि गरेका थियौं। हामीले व्यवसायिकहरुसँग पनि छलफल गरेका थियौं’ उनले भने ।

समितिमा व्यवसायीले गरेको बहस र लाल आयोगको भाषा र शब्द जस्ताको तस्तै रहेको उनले बताए । उनले १६ अर्ब रुपैयाँ छुट दिनेहरु क्रान्तिकारी र २२ अर्ब रुपैयाँ उठाउनुपर्छ भन्नेहरु भष्ट्राचारीको रुपमा चित्रित गरिएको उनले बताए ।

‘त्यसैले १६ अर्ब छुट थियो । म के भाग्नु? म सभापति! सांसदले उठाएको कुरा छलफल गरौंला भन्नुपरेन । १६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टाचारी यो कहाँको न्याय हो?,’ उनले प्रश्न गरे ।

आफूमाथि व्यवसायीसँग भेटेको आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको उनले दुखेसो पोखे ।


क्लिकमान्डु