सांसदको प्रश्न: उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा कहिले छुट्याउने ? (भिडियो)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको पुष्टी दुई साताका बीचमा भएका दुई ठूला हवाई दुर्घटनाले पुष्टि भएको बताएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद गौतमले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन लागि नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउनु पर्ने बताइन् ।

प्राधिकरणलाई टुक्र्याउने विधेयक कहाँ गयो भन्दै उनले प्रश्न गरिन् ।

‘मन्त्रालय सम्हालेका मन्त्रीहरूलाई पटकपटक सोधेको छु । नेपाल हवाइ उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन लागि नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा कहिले छुट्टयाउनुहुन्छ, विधेयक कहिले ल्याउनुहुन्छ? भनेर । तर मन्त्रीहरू पटकपटक फेरिनुभयो विधेयक संसदमा आएको छैन,’ गौतमले भनिन् ।

नेपालको नियामकको नियमन फेल भएको प्रष्ट भएको भन्दै उनले विमानस्थलमात्र निर्माण हुने तर उड्डयन क्षेत्रको नियमनका लागि प्राविधिक रुपमा गर्नुपर्ने खर्च हुन नसकेको बताइन् ।

‘कतिजना हवाइ यात्रुहरूले विमानमा ज्यान गुमाउनुपर्ने हो ? नेपालको नियामक निकायको रेगुलेटरी फेल भएको प्रष्टसँग देखिएको छ,’ उनले भनिन्, ‘मन्त्रीज्यूले हवाइ उड्डयनलाई सुरक्षित बनाउन के गर्नुपर्ला भनेर सुझाव पनि माग्नुभएको रहेछ । सुमना श्रेष्ठले सुझाव पनि दिनुभएको छ । नेपालको सन्दर्भ विमानस्थल विस्तार निर्माण भएका छन् । तर उड्ययन क्षेत्रको नियमनका लागि हामीले प्राविधिकरूपले गर्नुपर्ने खर्च गरिरहेका छैनौं,’ उनले भनिन्।

उनले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाअघि पाइलट र कोपाइलटबीचको कुराकानीको अडियो सार्वजनिक भएको र त्यसमा लापरवाही भएको प्रष्ट सुन्न सकिने बताइन् ।

नेपालको हवाई सेवा प्रयोग गर्ने कसैको पनि ज्यान जाने अवस्था बन्न नहुने उनले बताइन् ।


क्लिकमान्डु