सुमेरु सहकारी ‘टेक ओभर’ गरेका राजबहादुर सिंहसँग संसदीय छानविन समितिले लियो बयान



काठमाडौं । ललितपुरको पुल्चोकमा रहको सुमेरु बचत तथा ऋण सहकारीलाई टेक ओभर गरेका पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग आज सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बयान लिएको छ ।

समितिले ३६ औं बैठकमा बयान लिएको हो । विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये आज सुमेरू बचत तथा ऋण सहकारी संस्थाका सेयरसदस्य राजबहादुर सिंहसँग समितिको बैठकमा सोधपुछ गरेको छ । उनले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः संचालन गर्ने योजनाका साथ नयाँ संचालक समूह बनाएका छन् ।

उनले असार तेस्रो साता उक्त सहकारी टेक ओभर गरेका थिए । २३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको त्यही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । उक्त रकम ठगेर सहकारीका अध्यक्ष भरत महर्जन बेलायतमा लुकेका छन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।

महर्जन परिवारका सबै सदस्य, नागागोता, आफन्त मिलेर चलाएको सहकारीको बचत विद्यालय, अस्पताल, होटल, घर जग्गा, रेष्टुरेन्ट लगायत अन्य कम्पनीमा लगानी रहेको छ ।

महर्जनले ठगेको सबै रकम फिर्ता गर्ने गरी सिंहले सहकारी सकारेका हुन् । सिंहले आफ्ना विश्वासपात्र व्यापारी विरेन्द्र महर्जनलाई अध्यक्ष बनाएका छन् ।

सहकारी सकारेपछि २०८१ असार ३ गते संस्थाको २३ औं वार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । सभाले अध्यक्षमा महर्जनलाई चयन गरेका हो । यस्तै उपाध्यक्षमा हरिश चन्द, सचिव ओर्बिन गुरुङ, कोषाध्यक्षमा राजन राई चयन भएका छन् । यस्तै सदस्यहरुमा गोकुल बहादुर रोकाया, धुब्र बहादुर शाह र अनिल मल्ल रहेका छन् ।

सभाले लेखासमिति समेत चयन गरेको छ । लेखा समितिको संयोजकमा दिनेश तथा सदस्यहरुमा एकराज बराल, मित्रलाल चौधरी रहेका छन् ।

सभाले गरेको सबै निर्णयका साथै संस्था सञ्चालन गर्ने सम्बन्धी सञ्चालक समितिले तयार गरको कार्य योजना र प्रतिबद्धता समेत सहकारी विभाग, सीआईबी, ठूला करदाता कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलाई जानकारी गराइएको छ । त्यस्तै बागमती प्रदेशको सहकारी महाशाखालाई पनि जानकारी गराइएको छ ।

सिंहले उक्त सहकारीलाई ‘टेक ओभर’ गर्दा सबै दायित्व लिने जनाएका छन् । बचतकर्ताको सबै बचत फिर्ता गर्नुका साथै सहकारीको सबै सम्पत्ति पनि सकार्ने भएका छन् । उनले दशैं अघि सबै सदस्यको बचत फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।


क्लिकमान्डु