निक्षेप संकलनभन्दा प्रभावकारी बन्न थाल्यो स्थायी निक्षेप सुविधा, एक महिना नबित्दै ३६ खर्ब तरलता प्रशोचन



काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षको एक महिना नबित्दै ३७ खर्ब रुपैयाँभन्दा बढी तरलता बैंकिङ प्रणालीबाट खिचेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ को साउनको २४ गतेसम्म ३७ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो ।

बजारमा रहेको अधिक तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले अपनाउने उपकरणमध्ये स्थायी निक्षेप सुविधा प्रभावकारी रहेको देखिएको छ । स्थायी निक्षेप सुविधा लिँदै बैंकहरुले ३६ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ निक्षेप केन्द्रीय बैंकमा राखेका हुन् ।

गत असार १० गते केन्द्रीय बैंकले खुला बजार कारोबारसम्बन्धि कार्यविधिमा पाँचौं संशोधन गरेको थियो । त्यसयता स्थायी निक्षेप सुविधा प्रभावकार बनेको छ ।

साउनको २४ दिनमा नियमित निक्षेपमा रकम राख्नेको संख्या निकै कम छ । राष्ट्र बैंकले १ खर्ब ७० अर्ब रुपैयाँ तरतला प्रशोचन गर्न बोलकबोल गरे पनि बैंक वित्तीय संस्थाहरु १ खर्ब ८ अर्ब ५५ करोड रुपैयाँमात्र राख्न इच्छुक देखिएका थिए । तर बोलकबोल गर्दा ६४ अर्ब रुपैयाँमात्र केन्द्रीय बैंकमा राखिएको छ । यस्तो रकमको औसत ब्याजदर २.९९ प्रतिशत छ ।

अर्कातर्फ स्थायी निक्षेप सुविधामा बैंकहरुले ३ प्रतिशत ब्याज पाउँछन् ।

नयाँ आर्थिक वर्षमा बैंकहरुलाई कुल ११ पटक स्थायी निक्षेप सुविधा दिइएको छ ।

व्यवस्थाअनुसार हरेक आइतबार, मंगलबार र बिहीबार राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा दिँदै आएको छ । खुला बजार कारोबार प्रभावकारी बन्दा हाल अन्तर बैंक ब्याजदर ३ प्रतिशत छ । यो दर ब्याजदर कोरिडोरको तल्लो सीमा हो । राष्ट्र बैंकको मौद्रिक कार्यदिशाअनुसार अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा कायम राख्ने नीति छ ।

राष्ट्र बैंकका अनुसार अहिले बजारमा ६२ अर्ब ५७ करोड रुपैयाँ अधिक तरलता छ ।


क्लिकमान्डु