शेख हसिना देश छाडेर भागेपछि छोराले यस्तो भने आमाबारे



शेख हसिनाका छोरा भन्छन्- ‘आमाले १५ वर्षमा गरिब र असफल देशको रुपमा चिनिएको बंगलादेशलाई कायापलट गराउनुभयो । अहिले उहाँविरुद्ध विद्रोह गरियो । ७० वर्षभन्दा बढी भइसक्नुभयो । अब उहाँ राजनीतिमा फर्किनु हुँदैन।’

एजेन्सी । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि देश छोड्नुको कारणबारे उनका छोराले मिडियाहरुलाई प्रतिक्रिया दिएका छन् । हसिनाका छोरा सजीव वाजिबका अनुसार हसिनाले आइतबार नै राजीनामा दिने मनस्थिति बनाएकी थिइन् ।

तर सोमबार प्रदर्शन अनियन्त्रित बन्न थालेपछि उनी सेनाको हेलिकप्टरबाट भारतको अगरतलामा पुगेकी थिइन् । त्यहाँबाट उनी बेलायत जानसक्ने पनि बताइएको छ । किनकि उनले भारतसँग औपचारिक रुपमा शरण मागेकी छैनन् । हसिनाले देश छाडेपछि भने सैनिक जनरल वकार उज जमानले सम्बोधन गर्दै बंगलादेशमा अब अन्तरिम सरकार गठन हुने बताएका छन् ।

बंगलादेशमा आरक्षणको विरोधमा एक महिनादेखि चलिरहेको प्रदर्शन पछिल्लो समय अनियन्त्रित बन्दै गरेको थियो । सोमबार भने राजधानी ढाका प्रदर्शनकारीहरुको लगभग पूर्ण नियन्त्रणमा थियो । सडकमा प्रहरीहरुको संख्या नै अति कम देखिन्थ्यो । यसबीचमा आगजनी र भौतिक संरचना तोडफोड भएका थिए ।

सोमबार हजारौं प्रदर्शनकारीहरुले प्रधानमन्त्री निवास घेराउ गर्दै भित्र प्रवेश गर्न थालेपछि प्रधानमन्त्री हसिना राजीनामा दिएर देश छाड्न बाध्य भइन् । यस क्रममा बंगलादेशका संस्थापक राष्ट्रपति एवं स्वतन्त्र बंगलादेशका पिता मानिने शेख मुजिबुर रहमानको शालिक समेत तोडफोड गरियो ।

राजधानी ढाकाबाहिरबाट ठूलो संख्यामा विद्यार्थीहरुले सोमबार नै लङ मार्च गरिरहेका थिए । अधिकांश महिलाहरु सम्मिलित उक्त लङ मार्च कर्फ्यू तोड्दै राजधानीतर्फ लम्किरहेको थियो । तर सरकारले सेना परिचालन गरे पनि उक्त मार्चलाई सेनाले कुनै अवरोध गरेन । प्रहरीले प्रदर्शन रोक्न नसक्ने भएपछि सेना परिचालन गरिए पनि सेनाले आन्दोलनको अन्त्यतिर प्रदर्शनकारीमाथि कुनै बल प्रयोग गरेको थिएन ।

शेख हसिनाका छोराले के भने ?

शेखका छोरा सजीव वाजिद जोयले आफ्नी आमाको राजनीतिक पुनरागमन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् । ‘अब उहाँ ७० वर्षभन्दा धेरै भइसक्नुभयो (७६ वर्ष) । मेहनतका बावजुद थोरै मानिसहरुले उहाँविरुद्ध विद्रोह गरे । मेरो विचारमा उहाँ राजनीतिमा फेरि आउनुहुन्न,’ सजीवले प्रतिक्रिया दिएका छन् ।

यससँगै उनले बंगलादेशमा पछिल्लो १५ वर्षको अवधिमा शेख हसिनाले कायापलट गरेको र पछिल्लो समय विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग नगरेको पनि दाबी गरेका छन् । बरु प्रहरीहरुलाई नै प्रदर्शनकारीहरुले कुटीकुटी हत्या गरेको भन्दै उनले यसमा राजनीतिक प्रतिशोध भएको संकेत गरे ।

यस्तैमा सैनिक प्रमुख वकार उज जमानले अन्तरिम सरकार गठनका लागि विभिन्न पक्षसँग कुराकानी गरिरहेको बताएका छन् । साथै अब न्याय दिलाएर छाड्ने तर केही समय धैर्य रहन सबैलाई उनले आह्वान गरेका छन् ।

यसैबीच बंगलादेशको राजनीतिक भविष्य संकटमा देखिएको छ । अब त्यहाँको राजनीति र लोकतन्त्र कति सुरक्षित हुन्छ भन्ने कुरा सेनाले कस्तो भूमिका खेल्छ भन्नेमा नै निर्धारण हुनेछ ।

पहिले पनि सेनाले सत्तापलट गराएकोले सेनामाथि कतिपयलाई आशंका छ । अर्कोतर्फ सेनाप्रति आम नागरिकहरुको उच्च सम्मान र भरोसा पनि छ । तर सेनाले सत्ता सञ्चालनका लागि सौदावाजी गर्छ कि जनप्रतिनिधिहरुलाई सहज रुपमा हस्तान्तरण गर्छ भन्ने कुराले नै त्यहाँको राजनितिक भविष्य कति सुरक्षित छ भन्ने निर्धारण हुनेछ ।


क्लिकमान्डु