
विराटनगर । महिला नेतृत्वको उद्योगले उच्च रोजगारी दिँदै उत्पादित सामान निकासीमा अब्बल रहेको भन्दै उद्योगकी सञ्चालिका उत्कृष्ट रोजगारदाताका रूपमा सम्मानित भएकी छन् । उनको उद्योगले श्रम, रोजगार तथा सामाजिक सुरक्षामा उल्लेख्य योगदान पुर्याएको मूल्याङ्कन गरिएको छ ।
उनलाई उद्योगीहरूको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले आफ्नो ५३ औँ वार्षिक साधारण सभाका अवसरमा सम्मान गरेको हो ।
यसअघि उनलाई संघीय सरकारले पनि सामाजिक सुरक्षा दिवस २०८२ का अवसरमा उद्योगले श्रम, रोजगार तथा सामाजिक सुरक्षामा उल्लेख्य योगदान पुर्याएर उच्च रोजगारी दिनुका साथै उत्पादित सामान निकासी गरेर व्यापार घाटा केही खुम्च्याउन मद्दत गरेको भन्दै सम्मान गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशिला कार्कीले हस्तान्तरण गरेको सम्मान पत्रमा औद्योगिक उत्पादन सम्बन्धी क्षेत्रबाट नियमितता सहितको सबैभन्दा बढी योगदानकर्ता आबद्धता र मासिक योगदान रकम जम्मा गर्ने रोजगारदाता बन्न सफल भएकोमा अरिहन्त मल्टिफाइबर्स लिमिटेडलाई सम्मान पत्र प्रदान गरिएको छ, भनिएको छ ।
सम्मानित हुने महिला उद्योगी हुन्, सुनसरी सोनापुरस्थित अरिहन्त मल्टिफाइबर्सकी सञ्चालक अश्विनी गोल्छा । उनी औद्योगिक घराना गोल्छा परिवारकी चौथो पुस्ता हुन् ।
अश्विनी नेतृत्वको यो उद्योगले मजदुर र कर्मचारी गरी ४ हजार २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएर वार्षिक ४ अर्बभन्दा बढी मूल्यका आफ्ना उत्पादन भारत निकासी गर्दै आएको छ । उद्योगमा आधाभन्दा बढी कामदार महिला छन् ।
एकताका विराटनगर र आसपासमा एक दर्जन जुट उद्योग सञ्चालनमा हुँदा करिब ४० हजारले रोजगारी पाएका थिए । हाल मुलुकमा सञ्चालनमा रहेका आधा दर्जन जुट उद्योगमध्ये अरिहन्त मल्टिफाइबर्स सबैभन्दा ठूलो जुट उद्योग हो । अश्विनीकै नेतृत्वमा सञ्चालित अर्को जुट मिल विराटनगर रानीको रघुपति जुट मिलमा २२०० ले रोजगारी पाएका छन् । यो उद्योगले वार्षिक अढाई अर्ब मूल्य बराबरका उत्पादित वस्तु निकासी गर्दै आएको छ ।
गोल्छालाई कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठीले उच्च रोजगार योगदान कदर सम्मान प्रदान गरेका थिए । यसअघि तत्कालीन अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीले पनि उनको उद्योगले उच्च रोजगार र निकासीमा योगदान पुर्याएको भन्दै सरकारको तर्फबाट सम्मान गरेकी थिइन् ।
संगठनका अध्यक्ष राठीले विराटनगरको गोल्छा परिवार नेपालको उद्योग व्यापारका लागि आदर्श र अनुकरणको संस्था भएको उल्लेख गर्दै नेपालको औद्योगिकीकरणमा गोल्छा अर्गनाइजेसनको अमूल्य योगदान रहेको बताए ।
जुट उद्योगमा गोल्छा परिवारको ऐतिहासिक लिगेसी छ । पछिल्लो समय जुट उद्योगको लिगेसी गोल्छा परिवारमा महिलाले धान्दै उच्च रोजगारी दिएर उत्पादित ९० प्रतिशत वस्तु निकासी गर्नु अन्य उद्योगीहरूका लागि उदाहरण भएको राठीको ठम्याइ छ ।
नेपालको औद्योगिकीकरण र व्यापारमा अश्विनीका जिजुहजुरबुवा रामलाल गोल्छाको ऐतिहासिक योगदान रहेको छ । वि.सं. १९७८ मा भारतको बङ्गालबाट नेपाल आएका रामलालले तत्कालीन सुनसरीको देवानगञ्जमा बसेर कच्चा जुट (सनपाट) को व्यापार गरेको इतिहास छ । त्यसैक्रममा रामलालको सक्रियतामा वि.सं. १९९३ मा मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल स्थापना भएको इतिहास छ ।
आफूले उद्योग सञ्चालन पारिवारिक विरासतकै रूपमा पाएको र यसैमा आफूलाई समर्पित गर्ने प्रण गरेको उद्योगी अश्विनीको प्रतिक्रिया छ । रामलालका नाति राजकुमारकी छोरी अश्विनीले भनिन्,’उद्योग सञ्चालनका लागि परिवार र समाजबाट साथ पाएकी छु । उहाँहरूबाट उद्योग सञ्चालन र व्यवस्थापनका लागि थप सिक्ने क्रममै छु ।’
नेपालको औद्योगिक क्षेत्रमा महिला सहभागिता अझै अपेक्षाकृत कम रहेको अवस्थामा अरिहन्त मल्टिफाइबर्सले उल्लेख्य महिलासहित ठूलो संख्यामा रोजगारी उपलब्ध गराएर समावेशी औद्योगिक विकासको नमुना प्रस्तुत गरेको छ । उद्योगको यस्तो अभ्यासले अन्य उद्योगीलाई पनि महिला रोजगारी बढाउन प्रेरित गर्ने विश्वास गरिएको छ ।
उद्योगले वर्षौँदेखि स्थानीय महिलालाई उत्पादन प्रक्रियामा सहभागी गराउँदै उनीहरूको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । ग्रामीण तथा निम्न आय भएका परिवारका महिलाले उद्योगमा रोजगारी पाएपछि परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै ती परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आएको सम्बद्ध परिवारको प्रतिक्रिया छ ।
रोजगारी सिर्जना मात्र होइन, सामाजिक सुरक्षा कोषमा नियमित आबद्धता, श्रमिकका हकहितको संरक्षण, सुरक्षित कार्यस्थल तथा श्रम कानुनको पालना गर्ने अभ्यासका कारण पनि महिला नेतृत्वको अरिहन्त मल्टिफाइबर्स उद्योग उदाहरणीय बन्दै आएको छ ।
श्रमिकमैत्री वातावरण, महिला सशक्तीकरण र उत्पादनशील उद्योग व्यवस्थापनलाई सँगसँगै अघि बढाएको अरिहन्त मल्टिफाइबर्सको सम्मान केवल एउटा उद्योगको उपलब्धि मात्र नभई नेपालको औद्योगिक क्षेत्रमा रोजगारी, सामाजिक सुरक्षा र महिला नेतृत्वलाई प्रोत्साहन गर्न सकारात्मक सन्देशका रूपमा समेत यो उद्योगलाई लिइएको छ ।






प्रतिक्रिया