
काठमाडौं । वैदेशिक रोजगार ठगी सम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएर रहेका हजारौं मुद्दा तथा अनुसन्धान फायल खोजी, व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ । वि.सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभागको कार्यक्षेत्र विस्तार गर्दै वि.सं. २०५६ सालबाट श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना गरिएको थियो ।
त्यसयता वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले आफूलाई परेको मर्कासम्बन्धी उजुरी विभागमा दर्ता गर्दै आएका थिए ।
वि.सं. २०६४ सालमा वैदेशिक रोजगार विभाग गठन भएपछि वैदेशिक रोजगार सम्बन्धी कार्यहरू विभागमार्फत सम्पादन हुन थाले । ती कार्यमध्ये मुद्दा तथा अनुसन्धान एक महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको छ ।
वैदेशिक रोजगार ठगीसम्बन्धी गुनासो बढ्दै गएपछि युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धानको कार्यलाई पहिलो प्राथमिकतामा राख्दै विभागलाई निरन्तर सक्रिय रहन निर्देशन दिँदै आएका छन् ।
मन्त्री यादवको विशेष चासो तथा मिरा आचार्य को नेतृत्वमा विभागले लामो समयदेखि अलपत्र रहेका मुद्दा तथा अनुसन्धानका फायलहरू खोज्ने, मिलाउने तथा व्यवस्थित अभिलेख तयार गर्ने कार्यलाई तीव्रता दिएको हो ।
अभिलेख व्यवस्थापनका क्रममा विभागले वि.सं. २०५७ सालदेखिका मुद्दा तथा अनुसन्धानसम्बन्धी महत्वपूर्ण फायलहरू समेत फेला पारेको जनाएको छ । करिब २५ वर्षदेखि डम्प अवस्थामा रहेका हजारौँ फायलहरू खोजी गरी सालवसाली रूपमा भौतिक अभिलेख तयार गर्ने कार्य सम्पन्न भइसकेको छ ।
साथै, प्राप्त फायलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य समेत तीव्र गतिमा अगाडि बढिरहेको छ । आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारी विभागले गरेको छ ।
वि.सं. २०५७ सालदेखिका उपलब्ध सबै फायलहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरी न्याय सम्पादन प्रक्रियासँग आबद्ध गर्ने विभागको तयारी रहेको छ । यसबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगी पीडितलाई छिटो, पारदर्शी र प्रभावकारी सेवा प्रदान हुने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया