ग्लोबल आईएमईलाई उछिन्दै नबिललाई शीर्षको ताज, ७ अर्ब नाफा गर्ने यस्तो छ जुक्ति



काठमाडौं । ग्लोबल आईएमई बैंकलाई उछिन्दै नबिल बैंक गत आवको सर्वोत्कृष्ट बैंक बनेको छ । नबिलले नाफाको आधारमा आफूलाई शीर्ष बैंकको रुपमा प्रस्तुत गरेको हो ।

वाणिज्य बैंकहरुले सोमबार प्रकाशन गरेको वित्तीय विवरणका आधारमा नबिल सबैभन्दा बढी नाफा गर्ने बैंक हो । बढी नाफा गर्ने बैंकको सूचीमा ग्लोबल दोस्रो स्थानमा झरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नबिलले सर्वाधिक ७ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको हो । बैंकले अघिल्लो आवको तुलनामा खुद नाफा १०.२३ प्रतिशतले बढाएको हो । यसैगरी ग्लोबलले ६ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आवको भन्दा १०.१३ प्रतिशत बढी नाफा गरेको हो । अघिल्लो आवमा सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आईएमई थियो ।

यस्तो छ शीर्षमा पुग्ने नबिलको जुक्ति
नबिल बैंकले ब्याज आम्दानीमा सामान्य वृद्धि र खुद ब्याज आम्दानीमा गिरावट आउनाको बाबजुद पनि नाफा ६६ करोड रुपैयाँले बढाएको छ । बैंकको ब्याज आम्दानी ०.११ प्रतिशतले बढेर ४६ अर्ब ३० करोड पुगेको छ भने खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ अर्ब २१ करोड कायम भएको छ ।

बैंकको नाफा बढ्नुको मुल कारण हो, नोक्सानी व्यवस्थामा कमी । बैंकले अघिल्लो आवमा ५ अर्ब ४२ करोड रुपैयाँ नोक्सानी व्यवस्था थपेको नबिलले गत आव ३ अर्ब २२ करोडमात्र थप गरेको छ ।

नाफामा वृद्धि आउँदा बैंकको वितरणयोग्य नाफा र लाभांश क्षमतामा पनि सुधार गरेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड रहेको छ भने लाभांश क्षमता १४.२६ प्रतिशत छ । अघिल्लो आव बैंकको क्षमता ११.७८ प्रतिशत थियो ।

१ वर्षको अवधिमा नबिलको निक्षेप परिचालन १६.४४ प्रतिशतले सुधारिएर ४ खर्ब ६२ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ । यसैगरी कर्जा विस्तार १२.९४ प्रतिशतले भइ ३ खर्ब ७३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी २७ अर्ब ६ करोड छ भने जगेडा कोषमा २८ अर्ब ६५ करोड रहेको छ । रिजर्भको रकम ७.४४ प्रतिशले बढेको हो ।

नबिलको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २.४२ रुपैयाँले बढेर २६.०९ रुपैयाँ पुगेको छ भने नेटवर्थ २२०.१६ रुपैयाँ र पीई रेसियो २०.०८ कायम भएको छ ।

यसैगरी निष्क्रिय कर्जा ३.३९ प्रतिशतबाट बढेर ३.८५ प्रतिशत पुगेको छ भने खुद निष्क्रिय कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत कायम भएको छ । नबिलको सीडी रेसियो ८३.६ रहेको छ ।

यसकारण पछि पर्‍यो ग्लोबल
ग्लोबल आईएमई बैंकको भने ब्याज आम्दानी बढे पनि नाफा घटेको छ । जसको मुख्य कारण हो, नोक्सानी व्यवस्थाका लागि आवभन्दा बढी रकम छुट्याउनु ।

नबिल झैं ग्लोबलको ब्याज खर्च बढेको छ । जसकारण आम्दानी ६.७४ प्रतिशतले बढेर ५१ अर्ब ४६ करोड पुगेपनि खुद ब्याज आम्दानी २.७४ प्रतिशतले घटेर १६ अर्ब ६४ करोड काय भएको छ ।

ग्लोबलले नोक्सानी व्यवस्था रकम भने गत आवको भन्दा ९.२६ प्रतिशत बढी अर्थात् ३ अर्ब ७४ करोड रुपैयाँ छुट्याएको छ ।

जसकारण बैंकको सञ्चालन नाफा ८.२५ प्रतिशतले घटेर ८ अर्ब ७४ करोड छ भने नाफामा १०.१३ प्रतिशतको गिरावट आएको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोडमात्र छ । जसबाट बैंकको लाभांश क्षमता ३.०६ प्रतिशतमा खस्किएको छ ।

ग्लोबल आईएमई बैंकले ४ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ६९ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १४.३४ प्रतिशतले बढेको हो भने कर्जा अघिल्लो आवको भन्दा मात्रै ४.२३ प्रतिशतले विस्तार भएको हो ।

बैंकको चुक्तापुँजी ३६ अर्ब १३ करोड हुँदा जगेडामा २३ अर्ब ७५ करोड रहेको छ । बैंकको रिजर्भ १८.५४ प्रतिशतले बढेको हो । आव २०८०/८१ को अन्त्यसम्म प्रतिसेयर आम्दानी ५.४१ रुपैयाँले घटेर १६.६५ रुपैयाँ कायम भएको छ । यसैगरी नेटवर्थ १६८.८१ रुपैयाँ र पीई रेसियो ११.६६ रहेको छ ।

ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ । यसैगरी सीडी रेसियो ७५.८७ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।


क्लिकमान्डु