५१ किलो गाँजासहित तीन जना पक्राउ



बागमती । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनिता तामाङ पक्राउ परेका हुन् ।

यसैबीच प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ ।

सरकारले गाँजा किनबेचलाई अवैध कारोबार भन्दै प्रतिबन्ध लगाए पनि मकवानपुर, धादिङ लगायतका जिल्लाका सीमित क्षेत्रमा किसानले गाँजा खेती गर्दै आम्दानीको स्रोतको रुपमा प्रयोग गर्दै आएका छन् । गाँजा सेवनका लागि नभएर यसबाट कपडा, झोला लगायत उपभोग्य सामग्री बनाएर बिक्री गर्ने चलन पनि पछिल्लो समय बढेको छ ।


क्लिकमान्डु