कृषिमन्त्री अधिकारीको आग्रह: अन्‍नबालीमा विषादी प्रयोग नगर्नू



काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानहरुलाई विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन् । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाइ ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले सम्भव भएसम्म विषादी प्रयोगमा न्युनिकरण गर्न आग्रह गरे । विषादीको प्रयोग कम गरे रोगहरु घट्ने र सबैलाई फाइदा हुने उनको भनाइ थियो । उनले मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका थिए ।

पछिल्लो समय रैथाने बालीको बेवास्ता गरिएको भन्दै कृषिमन्त्री अधिकारिले आपत्ति जनाएका थिए । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने पनि उनले बताए ।

‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ । विकासे बालीलाई किराहरु लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन । मल प्रयोग नगरी सुख छैन । वस्तुको मलले फल्दैन । अवस्था अत्यन्त गम्भीर छ । विषादी सम्भव भएसम्म न्युनिकरण गरौँ । विषादी प्रयोग नगरौँ । हामीले यो कुरालाई तीब्रताकासाथ लैजान सक्यौँ भने बढी फाइदा हुन्छ । रोग धेरै घट्छ । विषादी प्रयोग गरेका सामान खाइयो भने सबैको घर र चुल्होमा समस्या हुन्छ । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकाको चुल्होमा पुग्नका लागि मैले मेरो ठाउँबाट के गर्नसक्छु म त्यो गर्न तयार छु,’ मन्त्री अधिकारीले भने ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने पनि मन्त्री अधिकारीले बताएका थिए ।


क्लिकमान्डु