वीरगञ्ज भन्सारबाट ६ खर्बको बस्तु आयात



वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ ।

गत आर्थिक वर्षमा विदेशीमुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा समग्र यो नाका हुँदै हुने वैदेशिक व्यापार नै खुम्चिन पुगेको हो ।

आव २०८०/८१ मा यो नाका हुँदै ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा गत आवमा आयात दर १२.८५ प्रतिशतले घटेको छ । आव २०७९/८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो ।

विश्वका एक सय १२ मुलुकबाट नेपालमा विभिन्न खालका वस्तु तथा सामान आयात हुने गर्छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले गत आवमा समग्र मुलुकभरि आर्थिक शिथिलताको कारणले वैदेशिक व्यापार खुम्चिएको बताए ।

‘गत आवमा समग्र मुलुकभरिको अर्थतन्त्र सुस्ताएको कारणले आयात र निर्यात दुवै खुम्चिएको छ,’ उनले भने, ‘अघिल्लो आवको तुलनामा गत आवमा आयात घटेपनि भन्सारका अन्य सूचक पनि राम्रो भएकाले केही मात्रामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’

कार्यालयका अनुसार गत आवमा आयात मात्रै होइन, वीरगञ्ज भन्सार कार्यालय हुदैँ विदेशी मुलुकमा हुने निर्यातमा पनि गिरावट देखिएको छ । गत आवमा उक्त नाकामार्फत ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार रुपैयाँबराबरको नेपाली सामान विदेशी मुलुकमा निर्यात भएको छ । जबकी अघिल्लो आव २०७९/८० मा यो नाकाबाट ३७ अर्ब २३ करोड १८ लाख ७४ हजार मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

आघिल्लो आवको तुलनामा गत आवमा १४.४४ प्रतिशतले निर्यातमा कमी आएको छ । यो नाका हुदैँ करिव ६० मुलुकमा विभिन्न नेपाली उत्पादन निर्यात हुने गर्छ ।

आव २०७९र/८० को तुलनामा यो नाका हुँदै हुने वैदेशिक व्यापारमा १२.९३ प्रतिशत गिरावट आएको छ । आव २०८०/८१ म यो नाका हुँदै छ खर्ब ४१ अर्ब १३ करोड ८२ लाख ४१ हजारको वैदेशिक व्यापार भएको थियो । जबकी अघिल्लो आव २०७९/८० मा भने यो नाका हुँदै कुल वैदेशिक व्यापार सात खर्ब ३६ अर्ब ३५ करोड २५ लाख ४३ हजार रहेको छ ।

यो नाकाबाट हुने वैदेशिक व्यापारमध्ये आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।


क्लिकमान्डु