रिलायन्स छिर्‍यो सीआईबी, कृत्रिम नाफा देखाएर महँगो आईपीओबारे अनुसन्धान



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत निष्कासन गरेको साधारण सेयर (आईपीओ) का सम्बन्धमा नेपाल धितोपत्र बोर्डले अनुसन्धान सुरु गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको नाममा अस्वभाविक विवरणपत्र देखाएर सर्वसाधारणबाट बढी पैसा असुलेको विषमया बोर्डले अनुसन्धान गर्ने भएको हो ।

कृत्रिम नाफा देखाएर महँगोमा आईपीओ जारी गर्न लागेकोबारे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो भने धितोपत्र बोर्डमा समेत गुनासो परेको थियो । आईपीओको नाममा लगानीकर्ता ठग्न लागेको भन्दै असार २६ गते सीआईबीमा उजुरी दिएका थिए । उक्त उजुरी परेपछि २७ गते ब्यूरोले धितोपत्र बोर्डलाई पहिलो चरणको अनुसन्धान गर्न भन्दै पत्र लेखेको छ ।

बिहीबार सीआईबीबाट पत्र प्राप्त भएको बोर्डका एक उच्च अधिकारीले बताए । उक्त विषयमा सम्बन्धित विभागले आन्तरिक रुपमा अध्ययन गरिरहेको र आगामी साताबाट अनुसन्धान सुरु हुने बताइएको छ ।

‘सीआईबीबाट पत्र आएको छ,’ बोर्डका ती अधिकारीले भने ‘अब सम्बन्धित विभागले अध्ययन गरिरहेको छ । अध्ययन सकेपछि अनुसन्धान गर्छ, अनुसन्धानपछि तयार हुने प्रतिवेदन सञ्चालक बोर्डमा पेश गरिन्छ । बोर्डमा छलफल भएपछि आएको सुझाव सहित थप अनुसन्धानका लागि सीआईबीमा पठाइने छ ।’

रिलायन्स स्पिनिङ मिललाई आईपीओ जारी गर्न दिने निर्णय कसरी गरियो भन्ने विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले असार २५ गते धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ । रिलायन्सलाई बुक बिल्डिङमार्फत आईपीओ निष्काशन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिनभित्र स्पष्ट पार्न धितोपत्र बोर्डलाइ निर्देशन दिएको हो । बुक बिल्डिङमार्फत रिलायन्सले आइपिओ जारी गर्दा तयार भएका वित्तिय विवरणहरुमा छेडखानी गरे/नगरेको प्रष्ट पार्न समितिले बोर्डलाई निर्देशन दिएको हो ।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट असार २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको थियो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनु पर्नेछ ।

कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा देखाएपनि वास्तविक आम्दानी २ रुपैयाँ ८ पैसा रहेको भन्दै समितिले प्रक्षेपित विवरण र वास्तविक विवरण फरक पर्नुको कारण बोर्डसँग स्पष्टीकरण मागेको हो।

व्यवसायीद्वय पवन गोल्यान र शशीकान्त अग्रवालको लगानी रहेको रिलायन्सको आईपीओ निष्कासन प्रकृया हालका लागि स्थगन छ । बुक बिल्डिङबाट जारी हुन लागेको दोस्रो आईपीओको दोस्रो चरणमा वैदेशिक रोजगारीमा लागि आवेदन खुल्नु अघिल्लो दिन स्थगन भएको छ । अब आईपीओ जारी प्रक्रियाले बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएपछि मात्र निरन्तरता पाउनेछ।


क्लिकमान्डु