रिलायन्समा गोल्यान-अग्रवालको झेल: गोदामको स्टक बेचेर नाफा बढी देखाए, अनि ३४ करोड नगद बाँडीखाए
वित्तीय विवरणमाथि छेडखानी गरेर आम सर्वसाधारण झुक्याएर महंगोमा सेयर बिक्री गर्ने कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन नसके आगामी दिनमा यस्तो प्रवृत्तिले प्रश्रय पाउने र धेरैभन्दा धेरै सर्वसाधारण ठगिने निश्चित छ ।
काठमाडौं । सर्वसाधारणलाई भ्रममा पार्न वित्तीय विवरणमा कुन स्तरसम्मको छेडखानी हुन सक्छ भन्ने जल्दोबल्दो उदाहरण देशका परिचित व्यवसायीद्वय पवन गोल्यान र शशिकान्त अग्रवालले देखाएका छन् । रिलायन्स स्पिनिङ मिल्सको भ्रामक वित्तीय विवरण पेश गरेर उनीहरुले नेपाल धितोपत्र बोर्डलाई मात्र छक्याएका छैनन्, योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९ सय रुपैयाँमा सेयर किन्न बाध्य पारे ।
अब्बल वित्तीय विवरणको आवरण राखेर भित्रभित्रै कमजोर बनिसकेको कम्पनीमा सर्वसाधारणबाट प्रतिकित्ता ८ सय २० रुपैयाँ उठाउने दाउमा उनीहरु छन् । यो काममा बराबर साथ नेपाल धितोपत्र बोर्डले दिएको छ । निवर्तमान अध्यक्ष रमेश हमालले बुक बिल्डिङको नाममा साधारण लगानीकर्तामा अधिक मूल्यको भारी बोकाएर बिदा भएका हुन् । रिलायन्सलाई बुक बिल्डिङमा आईपीओ जारी गर्न दिनु उनको कार्यकालको एउटा उपलब्धि थियो ।
२ रुपैयाँमात्र रहेको कम्पनीको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ देखाएर बुक बिल्डिङलाई सफल बनाउने नाममा भित्रभित्रै सेटिङ गरी बुनेको जालोमा सर्वसाधारण फस्ने पक्का भएको छ ।
रिलायन्समार्फत् गोल्यान-अग्रवालको बेइमानी यतिमा मात्र सिमित छैन । योग्य संस्थागत लगानीकर्तालाई एकाथरी विवरण देखाएर आकर्षित पारी रिजर्भ (जगेडा कोष )बाट ३४ करोड रुपैयाँ नगद लाभांश खाएका पनि छन् । गज्जबको नेटवर्थ देखेर मख्ख भएका योग्य संस्थागत लगानीकर्ताहरु गोल्यान-अग्रवालको झेल थाहा पाएपछि ‘हिस्स’ भए ।
गत आर्थिक वर्षमा रिलायन्सको खुद मुनाफा ९३ करोड र प्रतिसेयर आम्दानी ५४ रुपैयाँ देखाउन उनीहरुले गरेको करामतको लेखाजोखा गरेर साध्यै छैन । बढी नाफा देखाउन प्रयोग गरेको एउटा अस्त्र हो, गोदाममा राखेको ३५ करोडको तयारी वस्तु बेचिदिनू । चालु आवको ९ महिनामा सोही वस्तु बेचेर खाली भएको गोदाम भर्दाभर्दै कम्पनीको नाफा करिब-करिब शुन्यमा पुगेको छ । यस अवधिमा कम्पनीले गोदाममा ३२ करोड रुपैयाँको तयारी माल थपेको छ ।
यो तथ्यले के पुष्टि हुन्छ भने कम्पनीले गत आव गरेको ९३ करोड रुपैयाँ खुद नाफा फर्जी हो, वित्तीय विवरण सुन्निएको मात्र हो ।
आधार नै कमजोर भएपनि कम्पनीले गत आर्थिक वर्ष निकै आकर्षक परिष्कृत वित्तीय विवरण सार्वजनिक गर्यो । १ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको खुद नाफा नै ९३ करोड रुपैयाँ बढी थियो । अर्थात् लाभांश क्षमता ५० प्रतिशतभन्दा बढी । ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको कुल इक्विटीमा यो प्रतिफल करिब १३ प्रतिशत थियो ।
गत आवको वित्तीय विवरण तथा कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि निकालेको आह्वानपत्रअनुसार रिलायन्सले १० अर्बको व्यापार गरेको थियो । सञ्चालन आम्दानी १० अर्ब ५८ लाख रहेको कम्पनीको विक्री लागत ८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ थियो ।
सो अवधिमा अन्य आम्दानी ३ करोड ७५ लाख रहेको कम्पनीले विक्री वितरणमा १९ करोड १५ लाख र प्रशासनिक कार्यमा ३७ करोड ३४ लाख रुपैयाँ खर्च गरेको थियो । सो अवधिको ब्याजदरलगायत वित्तीय लागत २४ करोड ९० लाख थियो ।
आम्दानीमा यी लागत घटाउँदा ९९ करोड १३ लाख रुपैयाँ नाफा गरेकामा करपछिको खुद नाफा ९२ करोड ७८ लाख रुपैयाँ थियो ।
अहिले आएर यी सबै विवरण छेडखानी गरेर तयार पारेर बनाएको खुलासा भएको छ ।
गत आवसम्म वस्तु विक्रीको लागत र कुल आम्दानीको अनुपात ८२ प्रतिशतमात्र रहेकामा यस वर्ष एकाएक ९१ प्रतिशत पुगेको छ । अर्थात् नाफा १८ प्रतिशतबाट ९ प्रतिशतमा झरेको छ ।
गत आवभर मात्रै ८ अर्ब २४ करोड रुपैयाँ लागत रहेको विवरणमा उल्लेख थियो । यस्तो लागत चालु आवको ९ महिनामै ६ अर्ब ३८ करोड देखिनु आफैंमा प्रश्नको विषय बनेको छ ।
गत आव भण्डारणमा राखेको ३५ करोड रुपैयाँबराबरको तयारी उत्पादन बजार उत्पादन पठाउँदा विक्री लागत ८ अर्ब २३ करोड रुपैयाँमात्र देखिएको थियो । तर, चालु आवको ९ महिनामा यस्तो भण्डारणमा ३२ करोड रुपैयाँ बराबरको तयारी माल थप्नुपर्दा विक्री लागत अत्यधिक बढी देखिएको हो ।
वित्तीय विवरणअनुसार चालु सम्पत्तिअन्तर्गत् पर्ने इन्भेन्टरी ९ महिनाको अन्तरमा ६५ करोड रुपैयाँले घटेको छ । यो नै खुद नाफामा आकाशपतालको भिन्नता देखाउने मुल कारक हो ।
वित्तीय विवरण अनुसार चालु आवको ९ महिनामा ७ अर्बको व्यापार गर्न ४ अर्ब २० करोड रुपैयाँ कच्चा सामाग्री खपत भएको छ। कम्पनीले अत्याधुनिक प्रविधिको स्पिनिङ मेसिन जडान गर्नुको परिमाण कच्चा सामाग्रीको खपत कुल उत्पादनको ६० प्रतिशतमा खुम्चिएको छ । जबकि गत आव १० अर्बको उत्पादन गर्न कम्पनीले ६ अर्ब ३४ करोड रुपैयाँको कच्चा सामाग्री खपत गरेको थियो, जुन कुल उत्पादनको ६४ प्रतिशत हो ।
वित्तीय विवरणमा देखाएर बढी मूल्य निर्धारण भएपछि ३४ करोड आफ्नो खल्तीमा
रिलायन्स स्पिनिङ मिल्समा गोल्यानको ८५ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको ८५ लाख ३६ हजार ५ सय कित्ता सेयर छ भने अग्रवालको ८५ करोड ३६ लाख १० हजार रुपैयाँबराबरको ८५ लाख ३६ हजार १ सय कित्ता सेयर छ । बाँकी ८०० कित्ता अन्यको नाममा छ ।
गोल्यानले आफ्नो आधाभन्दा बढी सेयर छोरा अक्षयको नाममा राखेका छन् ।
९ महिनाको वित्तीय विवरणअनुसार यस अवधिमा गोल्यान-अग्रवालले नगद लाभांशको नाममा कम्पनीबाट ३४ करोड १४ लाख ६८ हजार रुपैयाँ निकालेका छन् । यो रकम गत आवसम्म रिजर्भमा थियो ।
कुल पुँजी राम्रो देखाउनकै निमित्त उनीहरुले गत आव कुनै पनि लाभांश लिएका थिएनन् । आह्वानपत्रमा उल्लेख गर्ने विवरण राम्रो देखाउन अग्रवाल-गोल्यानले गरेको यो कार्य पनि आलोचनात्मक छ ।
बढ्यो ब्याज
कम्पनीले लिएको ऋण तथा सापटी ९ महिनामा १६ करोड रुपैयाँले घटेर ३ अर्ब २९ करोड रुपैयाँमा सिमित भएको छ । तर, ब्याज खर्च भने निकै नै बढी छ । गत आवभर रिलायन्सले ब्याजमा २४ करोड ७५ लाख रुपैययाँ खर्च गरेकामा चालु आवको ९ महिनामा ३७ करोड ९ लाख रुपैयाँ ब्याज तिरिसकेको छ ।
बैंकको ब्याजदर घट्दै जाँदा ब्याजदरमा भएको खर्चसमेत अपत्यारिलो छ ।
यस अवधिमा सम्पत्तिमा आएको ह्रास पनि उच्च छ । वित्तीय विवरणमा साढे ३४ करोड रुपैयाँ डिप्रिसिएसन देखाइएको छ जबकि गत आवभर साढे ३६ करोड डिप्रिसिएसन देखाइएको थियो ।
कुन खर्च बढ्यो, कुन खर्च घट्यो ?
वित्तीय विवरणअनुसार गत आव र चालु आवको तुलना गर्दा ब्याज खर्च, डिप्रिसिएसन र उत्पादन खर्च बढेका छन् भने प्रशासनिक खर्च, कच्चा पदार्थ र विक्री विवरण खर्चमा ह्रास आएको छ ।
यस अवधिमा ब्याज खर्च सतप्रतिशतले बढेको छ भने प्रशासनिक खर्च आधा भएको छ । यी तथ्य पनि यथार्थपरक देखिँदैनन् ।
संसदीय समितिको प्रश्न, बोर्डद्वारा स्थगित
रिलायन्सको वित्तीय विवरण र प्रक्षेपण अवास्तविक तथा भ्रामक रहेकोबारे चौतर्फ चर्चा चलेपछि सोही निष्कर्षससहित संसदीय समितिले पनि प्रश्न गरेयता नेपाल धितोपत्र बोर्डले कम्पनी आईपीओ तत्कालका लागि स्थगित गरिसकेको छ । अध्यक्ष नरेन्द्रकुमार रानास्तरीय निर्णयबाट अर्को सूचना नआएसम्मका लागि आईपीओ रोक्ने निर्णय भएको हो ।
मंगलबार मात्रै रिलायन्स स्पिनिङ मिललाई आइपिओ जारी गर्न दिने निर्णय कसरी गरियो भन्ने विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको थियो ।
लेखा समितिले रिलायन्सलाई बुक बिल्डिङमार्फत आइपिओ निष्काशन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिनभित्र स्पष्ट पार्न धितोपत्र बोर्डलाइ निर्देशन दिएको हो ।
बुक बिल्डिङमार्फत रिलायन्सले आइपिओ जारी गर्दा तयार भएका वित्तिय विवरणहरुमा छेडखानी गरे/नगरेको प्रष्ट पार्न समितिले बोर्डलाई निर्देशन दिएको हो ।
रिलायन्सले बुक बिल्डिङ विधिको दोस्रो चरणमा असार २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको थियो । पहिलो चरण योग्य संस्थागत लगानीकर्तामा सेयर जारी गरिसकेको कम्पनीले दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गर्न लागेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको हो ।
यो आईपीओमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्ने थियो ।
दोस्रो आईपीओ, आवेदन दिन आवश्यक रकम ४१ हजार
रिलायन्सले प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाको दरले सर्वसाधारणलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग गत माघ २३ गते अनुमति मागेको थियो ।
कम्पनीले सर्वसाधारणमा कुल ९४ करोड ८८ लाख ११ हजार ९ सय ६८ रुपैयाँको आईपीओ जारी गर्दैछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो । कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्ताका लागि बोलपत्र आह्वान गरेकामा योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँ कायम भएको थियो । नियमअनुसार यो मूल्यको १० प्रतिशत कममा सर्वसाधारणलाई आईपीओ बिक्री हुन लागेको हो ।
रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो ।
रिलायन्स बुकबिल्डिङमार्फत जारी भएको दोस्रो आईपीओ हो । यसअघि सर्वोत्तम सिमेन्टको आईपीओ बुक बिल्डिङ माध्यमबाट जारी भएको छ ।
६४ योग्य संस्थागत लगानीकर्ता सहभागी
यस निष्कासनमा योग्य संस्थागत लगानीकर्ताले कुल ६४ वटा आवेदन दिएका थिए । जसमा १८ वटा संस्थाले ९ सय १२ रुपैयाँमा सेयर खरिदको लागि आवेदन दिएका थिए ।
रिलायन्सको बोलकबोलका लागि प्रतिकित्ता ६ सय ८ रुपैयाँदेखि ९ सय १२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम गरिएको थियो । यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।
वार्षिक १० अर्बको व्यापार
रिलायन्स स्पिनिङ मिल्स सन् १९९४ मा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यो नेपालको सबैभन्दा ठूलो स्पिनिङ मिल हो । यसले कपास, पोलिएस्टर, भिस्कोज, एक्रिलिक र पोलिएस्टर टेक्सचर्ड यार्नको उत्पादनमा गर्छ। कम्पनीको सुनसरीको खनार र दुहबी गरी दुईवटा उत्पादनस्थल छन् । यसको कुल उत्पादन क्षमता प्रतिवर्ष ४२ हजार ७ सय ५० मेट्रिकटन रहेको छ । पछिल्लो समय कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरू विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्दै आएको छ ।
रिलायन्स स्पिनिङ मिल्सले २०२३ मा १० अर्ब ६० लाख रुपैयाँबराबरको व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा यो करिब एक प्रतिशतले कम हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख र सन् २०२१ मा ७ अर्ब ७९ करोड ३० लाख रुपैयाँबराबरको व्यापार गरेको थियो ।
रिलायन्सले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न गत वर्षको असार ३१ गते बोर्डमा निवेदन दिएको थियो ।
यस्तो छ, अवास्तविक र भ्रमपूर्ण प्रक्षेपण
सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ हुनेछ ।
कम्पनीमा गोल्यान र अग्रवालसहित संस्थापक सेयरधनीको १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता अर्थात ८९.८६ प्रतिशत सेयर रहनेछ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ४५ पैसा रहेको छ । यो नेटवर्थ कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी ७५ करोड ३७ लाख रुपैयाँ समायोजन गरेर हो ।
कम्पनीले वित्तीय विवरणमा यति धेरै नोक्सानीका लागि आवश्यक प्रोभिजन गरेको देखाएको छैन ।
चैत मसान्तसम्म ५ अर्ब ३२ करोड १६ लाख ३६ हजार रुपैयाँ सञ्चिन नाफा आर्जन गरेको छ ।
ईपीएस ५४ रुपैयाँबाट घटेर २ रुपैयाँमा झरेको कम्पनीको आईपीओ निष्कासन गर्न लागेको कम्पनीले आगामी तीन वर्षको विभिन्न प्रक्षेपण पनि गरेको छ ।
आव २०८०/०८१ मा कम्पनीको प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ४४ पैसा हुने छ भने आव २०८१/०८२ मा १८५ रुपैयाँ ४६ पैसा तथा आवका २०८२/०८३ मा २१९ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।
आव २०८०/०८१ कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ ४३ पैसा हुनेछ भने आव २०८१/०८२ मा ३३ रुपैयाँ ०२ पैसा तथा आव २०८२/०८३ मा ५४ रुपैयाँ ०३ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै आव २०८०/०८१ मा कम्पनीको नाफा ६ अर्ब ८० करोड ५ लाख १७ हजार रुपैयाँ, आव २०८१/०८२ मा ७ अर्ब ४ करोड ७८ लाख ५१ हजार रुपैयाँ तथा आव २०८२/०८३ मा ७ अर्ब ६९ करोड ४४ लाख ४९ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
भावी योजना तथा रणनीति
कम्पनीले उत्पादन विविधिकरण गर्ने, उद्योगसँग सम्बन्धित अनुसन्धान तथा विकास गर्ने, थप उत्पादन विविधिकरण गर्दै विभिन्न ब्रान्डका कपडाका लागि आयात गरिने विभिन्न धागो र धागो जन्य वस्तुलाई मुलुकभित्र नै उत्पादनका लागि आवश्यक अनुसन्धान गर्ने रणनीति बनाएको छ ।
नीति तथा नियमका लागि सरकार, निजी क्षेत्रसँग हातेमालो गर्दै दीर्घकालिन रुपमा प्रबन्ध गर्ने, उद्योगको क्षमता विस्तार गर्ने तथा उपयुक्त अन्य स्थानमा शाखा उद्योग खोली सञ्चालन गर्ने कम्पनीको योजना रहेको जनाइएको छ ।
कम्पनीले निष्काशन गर्ने धितोपत्र बिक्रीबाट प्राप्त हुने रकमले आगामी तीन वर्षभित्र अर्थात आर्थिक वर्ष २०८२/८३ भित्रमा उद्योगको प्रस्तावित परियोजना (युनिट सी) को क्षमता विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
नयाँ परियोजनाका लागि कम्पनीले जग्गा जमीन खरीदको प्रक्रिया सकेको र आगामी तीन वर्षमा उद्योगको क्षमता विस्तार भई उद्योग सुचारु गर्ने जनाएको छ ।
आईपीओ निष्काशन पश्चात् प्राप्त हुने सेयर पुँजी रकम तथा बैंकबाट थप कर्जा रकम प्राप्त भए पछि उद्योगको उत्पादन क्षमता वृद्धि गरिने उल्लेख छ । जसअनुसार हाल कायम रहेको उत्पादन क्षमता प्रतिदिन १३६ मेट्रिक टन तथा वार्षिक ४८ हजार ९६० मेट्रिक टनमा प्रतिदिन ४६ मेट्रिक टन तथा वार्षिक क्षमता १६ हजार ५६० मेट्रिक टन थप हुने जनाएको छ ।
उद्योगको उत्पादन क्षमता प्रतिदिन १८२ मेट्रिक टन तथा वार्षिक क्षमता ६५ हजार ५२० मेट्रिकटन पुग्ने प्रक्षेपण गरिएको छ ।
कम्पनीले एसिया, यूरोप तथा अफ्रिका लगायतका मुलुकमा बजारको सम्भावना पहिचान गर्न र त्यसका लागि कम्पनीले अवलोकन भ्रमण, समन्वय तथा अन्तरक्रिया गरी सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ ।
मुलुकभित्र पनि बजार अझ विस्तार गरी आफ्नो उत्पादन वृद्धि गर्न मुलुकमा भएका टेक्सटायल उद्योग तथा घरेलु उद्योगहरुसँग समन्वय गरी बजार विस्तार गर्ने योजना रहेको जनाएको छ ।
वित्तीय विवरणमाथि छेडखानी गरेर आम सर्वसाधारण झुक्याएर महंगोमा सेयर बिक्री गर्ने कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन नसके आगामी दिनमा यस्तो प्रवृत्तिले प्रसय पाउने र धेरैभन्दा धेरै सर्वसाधारण ठगिने निश्चित छ ।