राष्ट्रिय आविष्कार केन्द्रद्वारा ज्योति विकास बैंक सम्मानित
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखनीय योगदान गर्दै नेपालका दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा ‘न्यानो नानी’ परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्याएकोमा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मानित गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई बैंकले पुर्याएको अतुलनीय योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष सम्मानपत्र प्रदान गरेका थिए।
४ वर्षदेखि निरन्तर चलिरहेको ‘न्यानो नानी’ परियोजनामार्फत राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर मेसिनहरु निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रहरुमा जडानका लागि बैंकले वित्तीय सहयोग र बैंकका शाखा कार्यालयहरुको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको छ ।
देशका थुप्रै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूमा बच्चाहरूलाई न्यानो राख्न परम्परागत शैलीमा कोइला र काठ जलाउने जस्ता उपायहरू अपनाइन्छन् । जसले बालबालिकाको स्वास्थ्यलाई थप हानी पुर्याउने जोखिम बढाउँछ । नेपालको स्वास्थ्य परिवेश, विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो को कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण स्वास्थ्य संस्थाहरुमा प्रदान गर्ने यस परियोजनालाई बैंकले भविष्यमा समेत निरन्तरता प्रदान गर्ने पनि बतइएको छ।