बचतकर्ताको १ अर्ब ठग्ने कृषि विकास सहकारीका १२ जना बिरुद्ध मुद्दा दायर, ८ फरार



काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाले ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ४६९ रुपैयाँ ठगेको छ ।

उक्त रकम ठग्ने सहकारीका अध्यक्षसहित ४ जना पक्राउ रहेका छन् भने ८ जना फरार रहेका छन् । एक जनाको मृत्यु भइसकेको छ । सहकारी ठगीमा संलग्न ४ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ३२ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ । उनीहरु बिरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला व्यास नगरपालिका(११ घर भइ हाल काठमाडौं गोकर्णेश्वर बस्ने सहकारीका अध्यक्ष तेज विक्रम थापा, ललितपुर महानगरपालिका(१८ घरभइ हाल गोकर्णेश्वर बस्ने सहकारी संस्थाकी व्यवस्थापक सजना राजकर्णिकार, कीर्तिपुर नगरपालिका घर भएका सहकारीका सदस्य भीमसेन महर्जन र काठमाडौं महानगर-६ चाबहिल घर भएका सहकारीका संस्थापक सदस्य सञ्जय सापकोटा रहेको प्रहरीले जनाएको छ।

अध्यक्ष थापा र व्यवस्थापक एंव प्रशासन प्रमुख राजकर्णिकार श्रीमान श्रीमती हुन् । सहकारीको नाममा ठगी गर्नेमध्ये फरार रहनेमा सहकारीका उपाध्यक्ष उमेश जंग थापा मगर, सचिव कृष्ण बहादुर क्षेत्री, सन्चालक समितिका सदस्य बिष्णु कुमार महत, लेखा सुपरीवेक्षण समिति संयोजक पदम मास्की, लेखा सुपरीवेक्षण समितिका सदस्य राज श्रेष्ठ, महाप्रबन्धक सन्तोष राज भण्डारी र लेखा सुपरीवेक्षण समिति सदस्य विवेक ताम्राकार रहेका छन् । संस्थाका कोषाध्यक्ष नरेश थापा मगरको भने निधन भइसकेको छ ।

अध्यक्ष थापा २०५६ सालदेखि सत्र वर्षको उमेर श्री कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेका थिए । थापा २०६० सालदेखि निरन्तर कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी अध्यक्ष पदमा रहेको प्रहरीले जनाएको छ । थापा २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीका अध्यक्ष थिए भने उनले २०७१ सालमा कृषि टेलिभिजन समेत सञ्चालन गरेका थिए ।

उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २६ गते समस्याग्रस्त घोषणा गरेको छ । ठगहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ३ को खण्ड ग बमोजिम सजाय माग दाबी गरिएको छ ।


क्लिकमान्डु