मधेसको बजेट बनाउँदा सिस्टम ह्याक गरेको भन्दै छानबिनको माग



काठमाडौं । मधेश प्रदेश सरकारको बजेट बनाउँदा सिस्टम ह्याक गरेको भन्दै प्रदेश सभामा छानबिन समिति बनाउन माग गरिएको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा सांसद राजकुमार गुप्ताले बजेट बनाउँदा सिस्टम ह्याक गरेको भन्दै छानविन समिति बनाएर दोषीलाई कारबाही गर्न माग गरे ।

आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमाथि छलफल सुरु भएलगत्तै उनले यस्तो माग गरेका हुन् । आगामी आवको बजेट बनाउने क्रममा सिस्टम ह्याक भएको विषय सरकारले समेत स्वीकारेको उनको दाबी छ ।

“बजेट निर्माणको सन्दर्भमा सरकारद्वारा तत्कालीन अर्थमन्त्री बजेट निर्माण गर्ने सिस्टम ह्याक भई गडबडी भएको छ,” बैठकमा बोल्दै सांसद गुप्ताले भने, “यो सरकारले पनि स्वीकार गरेको छ । स्पष्ट रूपमा हाम्रो माग के छ भने यसका लागि छानबिन समिति बनाऔं । र, सही ढङ्गले जाँच गरी दोषी उपर कारबाही गरौं ।”

बैठकमा सभामुखले यस विषयमा पहिला पनि छलफल भएको भन्दै बैठक अघि बढाउन माग गरे । प्रदेश सांसदहरुले अवरोध गरेपछि बैठक स्थगन भएको छ ।


क्लिकमान्डु