एक करोड २९ लाखमा वडा कार्यालयको भवन निर्माण



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा वडा कार्यालयको भवन १ करोड २९ लाख रुपैयाँ लागतमा निर्माण भएको छ । ग्रामिण क्षेत्रको गाउँपालिकाले दुईतले सभाहलसहितको भवन निर्माण गरेको हो ।

गत वर्ष ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो । यस वर्ष तला थपेर निर्माणलाई पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । भाडाको घरमा सञ्चालित वडा कार्यालय केही दिनमै नयाँ भवनमा सर्ने तयारी भइरहेको उनले बताए ।

भवनमा वडाध्यक्ष, सदस्य, सचिव, प्राविधिक र सहायता कक्ष रहेका छन् । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुने र भाँडाका लागि भइरहेको खर्च बचत हुने वडाध्यक्ष शेरपुञ्जाले बताए ।

रु ७१ लाख ६६ हजार चार सय १५ मा गत चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङ्गरोगन, विद्युत, पानी, फर्निचरलगायत कामलाई पूर्णता दिएको गाउँपालिकाको प्राविधिक शाखा प्रमुख कमल चोखालले बताए । भवन निर्माण गर्न रु ५९ लाख खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो ।

भवन परिसरमा घेराबारसहितका पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्ष २०८१/८२ मा रु २७ लाख बजेट विनियोजन भएको वडाध्यक्ष शेरपुञ्जाले जानकारी दिए । आठ वटा वडा रहेको गाउँपालिकाले यसअघि मौवाफाँटमा वडा नं ६ र भगवतीमा २ नं का लागि भवन निर्माण गरेको थियो । वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ ।

वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन् ।


क्लिकमान्डु