मनसुन लागेपछि प्राकृतिक विपद्‍बाट ७० को मृत्यु, दुई दिनमै १४ को मृत्यु



काठमाडौं । मनसुन सुरु भएयता देशभर प्राकृतिक विपत्तिका कारण ७० जनाको मृत्यु भइसकेको छ । केही मानिस बाढिपहिरोमा परेर हराइरहेका छन् ।

नेपाल सरकारको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो र वर्षा लगायतका घटनामा परी तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ । साथै १९ जना घाइते भएका छन् । शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण विभिन्न जिल्लामा हजारौं परिवार प्रभावित भएका छन् ।

राजधानी काठमाडौंका सुकुम्बासी बस्तीमा रहेका घरभित्र पानी पसेर ठूलो धनमालको क्षति भएको छ । ती क्षेत्रमा धेरै मानिस विस्तापित भएका छन् । यससँगै कर्णाली, पृथ्वी राजमार्गसहित देशका विभिन्न सडकहरु वर्षाले अवरुद्ध भएका छन् ।

यसैबीच शनिबार र आइतबार दुई दिनको अवधिमा मात्रै प्रकृतिक विपत्तिमा परी १४ जनाको मृत्यु भएको तथ्यांक छ । असारको पहिलो साता देशभर मनसुन भित्रिएको थियो । यस वर्ष देशका विभिन्न स्थानमा पहिलेका वर्षहरु भन्दा धेरै वर्षा हुने जल तथा मौसम विभागले जनाएको छ ।

शनिबार भने अत्यधिक वर्षा हुँदा अधिकांश सडक अवरुद्ध भई कतिपय स्थानमा पहिरोले पैदलयात्रीहरु समेत रोकिएका थिए । विशेषगरी काठमाडौंका ससाना गल्लीहरु बाढीले जलमग्न हुँदा सवारी साधनसमेत डुबानमा फसेका थिए । यस्तै देशभर विभिन्न सडक लगायतका भौतिक संरचनामा क्षति पुग्नुका साथै १ सयभन्दा धेरै घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ ।

तर आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


क्लिकमान्डु