सोल्टीबाट बाहिरिएको क्राउन प्लाजा सीजी होल्डिङले भित्र्याउँदै, ५ अर्बमा पुल्चोकमा तयार हुँदै पाँचतारे होटेल



नेपालको पाँचतारे होटल सोल्टीलाई २६ वर्षसम्म चलाएको बेलायती कम्पनी आइएचजीको क्राउन प्लाजा चेन पुल्चोकमा निर्माणधीन सीजी होल्डिङमा भित्रिएको छ । तीन वर्ष अगाडि मात्रै नेपालबाट बाहिरिएको यो अन्तर्राष्ट्रिय चेन होटललाई भित्र्याएर पर्यटकीय सेवालाई थप उचाई दिने योजनाका साथ सीजीले क्राउन प्लाजा होटल निर्माण गरिरहेको छ ।


काठमाडौं । साढे २ दशकभन्दा लामो समयसम्म पाँचतारे होटल सोल्टीको व्यवस्थापकीय जिम्मेवारी सम्हालेको इन्टर कन्टिनेन्टल होटेल्स ग्रुप (आइएचजी)को प्रमुख होटल ब्राण्ड क्राउन प्लाजा फेरि नेपाल भित्रिएको छ । पुल्चाेकमा सीजीले क्राउन प्लाजाकै नाममा बनाएको होटलमा बेलायतीकाे उक्त होटल ब्राण्डलाई भित्रिएको हो । सीजी होल्डिङ्सले सीजी होटल एण्ड रिसोर्ट अन्तर्गत पुल्चोकमा निर्माणाधीन पाँचतारे होटल क्राउन प्लाजा सञ्चालन गर्ने गरी होटलकाे सैरचना तयार पारिसकेको छ ।

नेपालमा लामो समय सेवा दिएको ब्राण्डलाई भित्र्याएर क्राउन प्लाजा होटल निर्माण भइरहेको छ । ललितपुरको पुल्चोकमा भौतिक संरचना सकेर आन्तरिक सजावटसहितको काम गरिरहेको यो होटल एक वर्षभित्रै सञ्चालनमा आउने गरी तयारी भइरहेको सिजी होटल्स अन्तर्गतको क्राउन प्लाजाका महाप्रवन्धक अभिषेक गोयलले क्लिकमान्डुलाई बताए । उनले भने ‘१७७ कोठा रहने यो होटल ललितपुरकै पहिलो पाँचतारे चेन होटल हुने छ ।’

होटलको भौतिक संरचना बनेसँगै करिब ६० प्रतिशत काम सकिएको छ । यो होटललाई आगामी वर्ष सन् २०२५ जुलाइसम्ममा सुभारम्भ गर्ने गरी व्यवस्थापकीय काम भइरहेको पनि होटलले जानकारी दिएको छ । होटल निर्माण गरेर सञ्चालनमा आउँदासम्ममा ५ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान सिजी होटल्सले गरेको छ ।

क्राउन प्लाजासँग होटल सञ्चालनको लामो अनुभाव भएको, उक्त ब्राण्डसँगको सहकार्यले होटल क्षेत्रमा नयाँलाई सहज हुने बुझाई गोयलको छ । पछिल्लो समय नेपालमा स्तरीय पाँचतारे होटल बढ्दै गएका छन् भने चेन होटल भित्रने क्रम पनि बढ्दै गएको छ। क्राउन प्लाजा होटलमा भित्रने विदेशी चेनले सीजी होटल्सलाई थप उचाई दिने विश्वास गोयलको छ ।

सीजीले पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाट होटल निर्माणको योजना स्वीकृत गराएर पाँचतारे स्तरको होटल बनाउन स्वीकृति लिएको छ । विभागका प्रवक्ता कालिबहादुर भुजेलका अनुसार सीजीले क्राउन प्लाजा होटल बनाउन वातावरणीय प्रभावको मूल्याङकन (इआईए)स्वीकृत गराएको छ । उक्त होटल अहिले निर्माणको चरणमा रहेकोले सम्पन्न भएपछि सञ्चालनका निम्ति गरिने निरीक्षणबाट मात्रै कुन स्तरको भन्ने स्पष्ट हुने भुजेलले बताए । होटल निर्माण गर्दा स्तर वर्गीकरण हुने होइन ।

निर्माण सकिएपछि गरिने निरीक्षण होटल सञ्चालनको लागि तोकिएको मापदण्डका आधारमा मात्रै स्तर वर्गीकरण हुने विभागको भनाइ छ । तर, सीजीले पाँचतारेका लागि आवश्यक पूर्वाधार र मापदण्ड अनुसार नै होटल बनाइरहेकोले तोकिएको स्तरमा वर्गीकरण हुने दाबी गरेको छ ।

सीजी होल्डिङले नगरकोटमा पनि डिलक्स रिसोर्ट निर्माण गरिरहेको छ । नगरकोटामा भंगेरी दरबार रिसोर्ट निर्माण भइरहेको गोयलले बताए । ५१ कोठाको डिलक्स रिसोर्ट निर्माण गरेको सीजीले करीब १ अर्ब रुपैयाँ खर्चेको छ । नगरकोटमा पनि पछिल्लो समय विदेशी चेन होटलको आकर्षण केन्द्र हुँदै गएको छ ।

सीजीले पछिल्लो पाँच वर्षदेखि चितवनमा पनि रिसोर्ट चलाइरहेको छ । चितवनको जगतपुरमा लेमन ट्रीको ब्राण्डमा टाइगर ल्याण्ड सफारी रिसोर्ट सञ्चालन भइरहेको छ । ३५ वटा कटेज रहेको यो रिसोर्टमा यही वर्षदेखि मात्रै लेमनट्रीको प्रवेश भएको हो ।

नेपालमा लामो समय विदेशी चेनमा चलेको सोल्टी होटल भनेअहिले आफ्नै ब्राण्डमा होटल क्षेत्रमा आक्रामक सेवा विस्तारमा लागेको छ । यो होटलसँग दुई २ दर्जन होटल पुगेको छ । सोल्टीले बनाएको ब्राण्डकै कारण विदेशी चेन होटल आफ्नै नाममा विस्तार हुँदै गर्दा नेपाली ब्राण्डमा पनि होटलको विस्तार सुरु हुँदै छ । पछिल्लो समय नेपालमा पनि स्तरीय होटल नेपाली ब्राण्डबाटै चल्न थालेका छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर लगानी आकर्षित गर्न थालेको थियो । कोरोना महामारीले पर्यटन भ्रमण वर्ष सफल नभएपनि त्यसले बनाएको पर्यटकीय संरचना भने बलियो बन्न सकेको होटल संघको भनाइ छ ।

होटल संघका अनुसार अहिले नेपालमा वार्षिक १० लाख पर्यटकमात्रै आउने भए पनि ३५ लाखलाई धान्न सक्ने क्षमता बनिसकेको छ । सरकारले पर्यटननलाई महत्त्व दिँदै जाने र आवश्यक पूर्वाधार निर्माणमा सहजीकरण गर्ने हो भने नेपालमा पर्यटन विकासमा प्रयाप्त संभावना रहेको पर्यटन व्यवसायी बताउँछन् । पछिल्लो समय नेपालमा काठमाडौंमा मात्रै नभएर देशैभर विदेशी चेनका होटलको आकर्षण बढेको छ । अहिले नेपालमा दर्जनौ ५ तारे होटलले विदेशी चेन भित्र्याएका छन् ।


राजु बास्कोटा