भैरहवालगायत प्रमुख औद्योगिक करिडोरका उद्योग बिजुली नपाउँदा समस्यामा, प्राधिकरणको ध्यान निर्यातमा

विद्युत नपाएपछि केहि बन्द र केहि डिजेल किनेर उद्योग चलाउँदै



काठमाडौं । भैरहवालगायत देशका प्रमुख औद्योगिक करिडोरका उद्योगहरु पर्याप्त र गुणस्तरीय बिजुली नपाउँदा समस्यामा परेका छन् ।

नेपाल विद्युत प्राधिकरणले पर्याप्त बिजुली दिन नसक्दा भैरहवा, विराटनगर, बीरगंजका उद्योगहरु समस्यामा परेका हुन् ।

भैरहवाका अम्बे स्टिल, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, सिद्धी लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट, समृद्धि मेटालिक्सलगायतका उद्योगहरु समस्यामा परेका छन् भने विराटनगर तथा बीरगंजमा पनि उद्योगहरु विजुली नपाएर डिजेल किनेर उद्योग संचलन गरिरहेका छन् ।

सिमेन्ट तथा स्टील उद्योगहरु उत्पादनमुलक तथा धेरै बिजुली खपत गर्नेमा पर्छन् ।

विद्युत प्राधिकरणका भैरहवा कार्यालय प्रमुख सञ्जय कुमार मिश्रले भैरहवाको उद्योगहरुमा बिजुली सप्लाइमा समस्या रहेको स्वीकार गरे ।

‘पावर नपुगेर २४ घण्टा उद्योगहरुले पाएका छैनन् । गर्मीका कारण माग धेरै छ । तीन दिन पहिले २१७६ मेगावाट पीक डिमाण्ड आएको थियो । यो तिहारजस्तै माग हो,’ उनले भने, ‘२४ सै घण्टा लाइन छ । तर भोल्टेज कम छ । फ्याक्ट्री चलाउन समस्या छैन । २४ सै घण्टा फ्याक्टी चल्ने होइन ।’

तर, उद्योगहरु १२ घण्टा पनि नियमित चलाउन समस्या भएका कारण डिजेल किनेर उद्योग संचलन गरिरहेका छन् ।

मिश्रले दुई/तीन दिनमा नै यो समस्या समाधान हुने बताए । तर, लगातार एक सातादेखि उद्योगीहरु विजुली नपाएर डिजेल किनेर उद्योग संचलन गरिरहेका छन् ।

एकातिर प्राधिकरण बिजुली निर्यात गर्दै छ भने अर्काे तिर नेपालका उद्योगहरु विजुली नपाएर डिजेल किनेर संचलन गर्न बाध्य छन् । जसका कारण नेपालमा डिजेल आयात बढेको छ भने यसले उद्योगीलाई मात्र नभएर अर्थतन्त्रलाई पनि घाटा छ ।

उद्योगीलाई डिजेल किनेर उत्पादन गर्दा लागत बढ्छ तर यसको भार अर्थतन्त्रले बोक्नु पर्दछ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालका अनुसार उद्योगीलाई भन्दा बढि नकारात्मक असर अर्थतन्त्रमा पर्दछ । नियमित तथा गुणस्तरीय विद्युत नपाउँदा उद्योगीहरु मात्र नभएर नेपालको अर्थतन्त्रमा नै यसले थप भार बढाउँछ ।

अग्रवालकाे पाल्पा सिमेन्ट निर्यातमुलक उद्योग पनि हाे । तर, सरकारले पछिल्लाे समय निर्यात गरिरहेकाे उद्योगमा पनि समस्या उत्पन्न गरिदिएकाे छ ।

यस्तै, सिद्धी लक्ष्मी स्टिलका अपरेसन डाइरेक्टर अनुभव श्रेष्ठका अनुसार बत्ती बाल्न मात्र पुग्ने बिजुली आउने गरेका कारण धेरै बिजुली खपत गर्ने स्टिल उद्योगमा समस्या भएको छ । दिनभर बिजुली नआउँदा उद्योगहरु डिजेल किनेर चलाउने वा उद्योग बन्द गरेर बस्ने दोमनमा परेको उनले बताए ।

विराटनगार तथा बीरगंज (बारा-पर्सा औद्योगिक करिडोर)का उद्योगी पनि प्राधिकरणको हेलचेक्रयाईले उद्योग चलाउन नसक्ने अवस्था आएको बताउँछन् । उनीहरुका अनुसार प्राधिकरणको ध्यान बिजुली निर्यात मात्र रहेको कारण आन्तरिक उद्योगहरु बन्द गर्नु पर्ने अवस्था आएको हो ।

देशभित्र खपत भएर बढि भएपछि निर्यात गर्नु बुद्धिमत्तापूर्ण कुरा हो तर प्राधिकरण आफ्नो ब्यालेन्ससीट राम्रो देखाउने चक्करमा नेपालका उद्योगलाई डुबाउँदैछ, उनीहरुले गुनासो गरे ।

विद्युत प्राधिकरणको उत्पादन ९ हजार ९ सय ७३ मेगावाट आवर , प्राधिकरणका सहायक कम्पनीको उत्पादन ११ हजार ६ सय ६० मेगावाट आवर , निजी क्षेत्रको २२ हजार ६ सय ६९ मेगावाट आवर रहेको छ ।

भारतबाट ३ हजार ६४४ मेगावाट आयात भइरहेको छ । भने ३६४५ मेगावाट आवर निर्यात भइरहेको छ । २१५० मेगावाट आवरमा बत्ती अवरुद्ध । कुल ऊर्जाको माग ५० हजार १ सय २६ मेगावाट आवर छ । राष्ट्रिय माग ४६ हजार ४८० मेगावाट आवर छ ।


क्लिकमान्डु