प्राधिकरणको चार्जिङ स्टेसनमा नयाँ रेकर्ड, एकैदिन २५४४ सवारीसाधन चार्ज हुँदा साढे दुई लाख आम्दानी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका चार्जिङ स्टेसनले एकैदिन २८ हजार ९ सय २२ युनिट (किलोवाट आवर) बिजुली खपत गरेर नयाँ रेकर्ड बनाएको छ ।

प्राधिकरणका देशभरका ५१ वटा चार्जिङ स्टेसनबाट एकैदिन २ हजार ५ सय ४४ वटा सवारीसाधन चार्ज भएका छन् ।

प्राधिकरणले २ लाख ५० हजार ९ रुपैयाँ आम्दानी गरेको छ । बिजुलीको बिल ३ लाख ८ हजार ३ सय ४१ रुपैयाँ र सर्भिस शुल्क ४१ हजार ६ सय ६८ रुपैयाँ उठेको छ ।

यस अघि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन २२ हजार २२० युनिट खपत भएर रेकर्ड कायम भएको थियो । त्यतिबेला एकैदिन १ हजार ७ सय ४७ वटा सवारीसाधन चार्ज भएका  थिए । त्यसबाट १ लाख ९४ हजार ९४० रुपैयाँ आम्दानी भएको थियो । त्यस अघि दशैका बेला २१ हजार ९ सय ८ युनिट खपत भएको थियो ।

नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीले सबै जसो चार्जरहरु व्यस्त रहने गरेको बताए । उनकाअनुसार रातको समयमा समेत चार्जरहरु व्यस्त हुन थालेका छन् ।

पछिल्लो समय प्राधिकरणका चार्जिङ स्टेसनहरुमा समस्या आउने क्रम बढेको छ ।  उक्त समस्यालाई सम्बोधन गर्न प्राधिकरणले ३ वटा सर्भिस स्टेसन निर्माण तयारी गरेको छ ।

अहिले कुनै समस्या आए केन्द्रबाटै मर्मतका लागि जानुपर्ने अवस्था छ । त्यहाँ पुगेर मर्मतका लागि समय लाग्ने भएकाले सर्भिस सेन्टर राख्न लागिएको हो ।

‘सर्भिस सेन्टर राखेपछि तत्कालै त्यहाँ पुगेर मर्मत गर्न सकिन्छ । सर्भिस सेन्टर नहुदाँ समान्य मर्मत गर्नै समय लाग्ने गरेको छ,’ ज्ञवालीले भने, ‘हामी चार्जिङ स्टेसनहरुलाई दुरुस्त राख्ने गरी काम गर्न खोज्दैछौं ।’ सर्भिस सेन्टरमा इन्जिनियर र गाडी स्ट्याण्डबाई रहनेछन् ।

प्राधिकरणको चार्जिङ स्टेसनहरुमा समस्या आएको, एप नचलेको, लो भोल्टेजको समस्या आएको भन्दै गुनासोहरु आउने गरेका छन् । कतिपयले सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गर्ने गरेका छन् ।

५०० चार्जिङ स्टेसनको अनुमति

प्राधिकरणसँगै निजी क्षेत्रले समेत चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । अहिलेसम्म साना ठूला गरी ५०० चार्जिङ स्टेसनका लागि प्राधिकरणले अनुमति दिएको छ । ‘अनुमति लिन र बुझ्न दैनिक ६/७ जनासम्म आउनुहुन्छ । होटल, पार्टी प्यालेसहरुले समेत अनुमति माग्न थालेका छन्, ‘ ज्ञवालीले भने, ‘प्राधिकरणले सुरु गरेपछि ईभी चार्जिङ स्टेसन निर्माण बढ्दो छ ।’

कति तिर्नुपर्छ शुल्क ?

 नेपाल विद्युत प्राधिकरणले ५०० वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ । त्यसकाम लागि अर्थमन्त्रालयसँग स्रोत सुनिश्चितता मागेको  छ । ईभीको बढ्दो प्रयोगसँगै चार्जिङ स्टेसनहरु अपुग हुन थालेको छ । प्राधिकरणले देशभरका राजमार्ग र शहरी क्षेत्रहरुमा चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो । यद्धपी अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता दिएको छैन् ।

प्राधिकरणले ईभी बिक्रेताहरुलाई समेत चार्जिङ स्टेसन बनाउन  निर्देशन दिएको छ । बिक्री गरेका सवारीसाधनहरुलाई पुग्ने गरी चार्जिङ स्टेसन निर्माण गर्न निर्देशन  दिएको हो ।


क्लिकमान्डु