आज पनि चालकले भरेनन् पेट्रोलियम पदार्थ, काठमाडौंका अधिकांश पेट्रोल पम्प रित्तो, वार्ताको तयारी



काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघमा आवद्ध ट्यांकर चालकहरुले आज(सोमबार) पनि नेपाल आयल निगमको डिपोबाट इन्धन उठाएका छैनन् । इन्धन नउठ्दा उपत्यकाका प्रायःजसो सबै पम्पमा मौज्दात भएको पेट्रोल र डिजेल सकिएको छ ।

निजी क्षेत्रका पम्पहरुमा इन्धनको स्टक सकिए पनि साझा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको पम्पमा भने इन्धन पाइरहेको छ । यी पम्पहरुको इन्धन ओसार्न आफ्नै ट्यांकर भएकाले उनीहरुले डिपोबाट इन्धन उठाएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । जसका कारण सवारी चालकहरुको लामो लाइन ति पम्पहरुमा देखिएको छ । शनिबारदेखि निजी क्षेत्रका पम्पहरुमा इन्धनको आपूर्ति भएको छैन् ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले चालकको आन्दोलनका कारण सोमबार पनि डिपोबाट पम्पसम्म इन्धन ढुवानी नभएको जानकारी दिए ।

अत्यावश्यक वस्तु संचालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु वा पदार्थमा कुनै पनि प्रकारको हडताल, बन्द वा बिरोध गरी आपूर्ति प्रणालीलाई अवरोध गर्न पाइदैन् । कसैले पनि वस्तु वा सेवाको आपूर्तीमा रुकावट गरेमा त्यस्ता व्यक्ति, समूह वा संस्थामाथि कडा कारवाही गर्नसक्ने उक्त ऐनले व्यवस्था गरेको छ ।

पेट्रोलियम व्यवसायीहरुका अनुसार आन्दोलनरत पक्ष र नेपाल आयल निगमबीच अहिले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता बस्ने तयारी भएको छ । वार्ता सकारात्मक भयो भने आज अपराह्नदेखि डिपोबाट इन्धन उठ्ने बताइएको छ।

संघमा आवद्ध चालकहरुले ७ बुँदे माग राखेर आन्दोलन गरेसँग काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा इन्धनको आपूर्ति अवरुद्ध भएको हो । इन्धनको आपूर्ति अवरुद्ध हुँदा पम्पहरुमा इन्धन भर्न सवारी साधनको लाइन लागेको छ ।

संघमा आवद्ध ढुवानी चालकहरुले पूर्वघोषित कार्यक्रम अनुसार ट्याँकरको साँचो सवारी सञ्चालकलाई हस्तान्तर गरेर ढुवानी अवरुद्ध गर्दा काठमाडौं उपत्यकामा इन्धनको आपूर्ति अवरुद्ध भएको छ । चालकहरुले चालक र सहचालकले श्रम ऐन अनुसार नियुक्तिपत्र पाउनुपर्ने तथा सरकारले तोकेको तलब पाउनुपर्ने माग गरेका छन् ।

यस्तै स्वरोजगारको हकमा मात्र लागु भएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, इन्धन ढुवानी गर्दा इन्धनको तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सर्तकता सम्बन्धी तालिम उपलब्ध गराउनुपर्ने माग राख्दै ढुवानी चालकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौं उपत्यकामा १ सयको हाराहारीमा पेट्रोल पम्पहरु रहेका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौं उपत्यकामा दैनिक ८०० किलोलिटर डिजेल र सोही परिमाणमा पेट्रोलको खपत हुने गरेको छ ।

कांग्रेसद्वारा समस्या समाधान गर्न आग्रह

नेपाली कांग्रेस पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले सोमबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा विक्री वितरणमा भएको अवरोध तत्कालै हटाउन सरकारसँग माग गरेको छ ।

पेट्रोलियम पदार्थ ढुवानी तथा विक्री वितरणमा भएको अवरोधका कारण आम उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएको भन्दै काँग्रेसको उक्त विभागले वार्ता र संवाद मार्फत समस्याको समाधान गर्न निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघसंग आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थ ढुवानी तथा विक्री वितरणमा भएको अवरोधका कारण कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्ति श्रृखंला समेत विग्रने हुँदा अत्यावश्यक वस्तुहरुमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्था विरुद्ध जानेलाई कारवाहीको दायरामा ल्याउन उक्त विभागले माग गरेको छ ।


क्लिकमान्डु