संसदीय समितिले जिबी-रविका ६, कांग्रेसका ३, एमालेका २, माओवादी र रास्वपाका १/१ सहकारीको छानबिन गर्ने



काठमाडौं । सहकारीका लाखौ बचतकर्ताको साढे २ खर्बभन्दा बढी बचत विभिन्न बहानामा टाठाबाठाले हिनामिना गरेपछि नेपाली कांग्रेसको पहलमा गठन भएको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले काम सुरु गर्न कार्यालय तथा कर्मचारीलगायतका आवश्यक भौतिक एवं मानवीय संशाधन ब्यवस्था गर्दैछ ।

राजनीतिक तनावका कारण लामो समय संसद अवरोध भएपछि सरकारले एमाले सांसद सूर्य थापाको सभापतित्वमा समिति गठन गरेको थियो । समितिले ४ वटा कार्यक्षेत्र बनाएर तीन महिना अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । थापाका अनुसार हाल कार्यालय स्थापना तथा र्काचारी ब्यवस्थापनका काम भइरहेको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा (जसमा ३ वटा समस्याग्रस्त सहकारीको हिसाब फरफारक भइसकेको छ । र अब बाँकि १७ वटामात्र समस्याग्रस्त छन् ।) र रवि लामिछाने तथा जीबी राई संलग्न आरोपित थप ९ वटा सहकारीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन सुपरीवेक्षण र पारदर्शितामा भएका कमीकमजोरी सम्बन्धमा अध्ययन गरी सुझाव तथा कारबाहिको लागि सिफरिस गर्ने छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीमध्ये चार्टड सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, कुवेर बचत तथा ऋण सहकारी र स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभको हिसाब फरकारक भइसकेको छ भने अब बाँकि १७ वटा सहकारीको बचत मात्र फरफारक हुन बाँकी छ । समस्याग्रस्त सहकारीको सूची त सहि राख्न नसक्ने र अद्यावधिक सूचीको बारेमा जानकारी नराख्ने समितिले सर्वसाधारणको पैसा फिर्ता गर्ने संभावना नभएको आशंका गर्ने प्रसस्त ठाउँ छ ।

संसद् चित्र बहादुर केसीको भनाइ पत्याउने हो भने, ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले रविलाई चोख्याउने छ । जसले सहकारीको रकम ठगी गरेको आरोपमा समिति गठन भएको छ, उसलाई चोख्याउने प्रपंच भएको संसद् केसीको आरोप छ ।

तर चार बुँदे कार्यदेशको चौथो बुँदामा भने गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने जनाइएको छ। बुँदामा भनिएको छ, ‘सहकारी संस्था सदस्य ९सेयर धनी० एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानिनोक्सानी पुर्या‍एको भनी संघीय संसद् र सार्वजनिकरूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रूपमा प्रवाह भए–नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूका बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।’

समितिले अधययन गर्ने सहकारीले हजारौ बचतकर्ताको ५२ अर्ब ३३ करोड ९८ लाख २८ हजार ७१९ रुपैयाँ ठगेका छन् । ती सहकारीमध्ये ९ वटा सहकारी समस्याग्रस्त घोषणा गरिएको छैन । बाँकी १७ वटा सहकारी समस्याग्रस्त घोषणा गरिएका छन् ।

जिबी-रवीका-६, कांग्रेस-३, एमाले-२, माओवादी-१, रास्वपा-१

उक्त समितिले अध्ययन गर्ने सहकारीमा सबैभन्दा बढी अर्थात् ६ सहकारी राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका गितेन्द्र बाबु (जिबी) राई सम्बद्द सहकारी छन् । लामिछाने र राई जोडीएका सहारा बचत तथा ऋण, समाना बचत तथा ऋण, सानो पाइला, सुप्रिम, सुर्यदर्शन र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् । यी सहकारीबाट लामिछाने र राईले बचतकर्ताको २ अर्ब ६ करोड ९८ लाख ७४ हजार रुपैया ठगेका छन् ।

यस्तै कान्तिपुर, लालिगुराँस र पशुपति गरि काग्रेस निकटका ३ सहकारी रहेका छन् । यी ३ वटा सहकारीले बचतकर्ताको ११ अर्ब ३६ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेका छन् । कान्तिपुर र पशुपति सहकारीमा एउटै समूहले ठगेका छन् । यो सहकारी ठगीमा कांग्रेस नेता सिबी लामा लगायतको संलग्नता रहेको छ । लामा आज पक्राउ परिसकेका छन् भने लालिगुराँसका सुरेन्द्र भन्डारी काँग्रेसका सहकारी विभागका पुर्व सचिव हुन् ।

सहकारीबाट बचतकर्ताको अपचलन गर्नेमा आईडियल यमुना बहुउद्देश्यी संस्था र ईमेज बचत तथा ऋण सहकारी संस्था पनि रहेका छन् । यि दुवै सहकारीमा एमालेका नेता संलग्न छन् । आईडियलमा केबी उप्रेती र इमेजमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली रहेका छन् । आईडियलले बचतकर्ताको करिब ६ अर्ब र इमेजले करिब सवा २ अर्ब ठगेको छ ।

यस्तै, माओवादी निकट २ वटा सहकारी रहेका छन् । सुमेरु बचत तथा ऋण सहकारीले १० अर्ब ३४ करोड ७ लाख ३९ हजार ठगेको छ भने गौतम श्रीले ३ अर्ब ठगेको छ ।

यसका साथै, रास्वपाको उप सभापति डिपी अर्याल र सह महामन्त्री कबिन्द्र बुर्लाकोटी संलग्न रहेको हाम्रो नयाँ कृषी सहकारी संस्थाले बचतकर्ताको ७ करोड ७७ लाख ९० लाख १९८ रुपैयाँ ठगी गरेको । यो सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।

७ सदस्यीय समितिले यी सहकारीको बारेमा समितिले अध्ययन गरेर ३ महिनामा प्रतिवेदन पेश गर्ने छ । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल रहने छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेको अनुसूची १ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने कार्यक्षेत्र रहेको कानुन मन्त्री पदम गिरीले जानकारी दिए ।

समितिले आवश्यक ठानेमा सम्बन्धित पक्ष वा हित समूहका प्रतिनिधि र विशेषज्ञलाई समेत आमन्त्रण गरी सुझाव लिन सक्नेछ । अध्ययनको विषयसँग सम्बन्धित कागजपत्र झिकाउने तथा सम्बन्धित व्यक्ति वा सरकारी अधिकारीलाई उपस्थित गराउन सक्ने अधिकार पनि छ । उपस्थित गराइएको व्यक्ति वा सरकारी पदाधिकारीलाई समितिले आवश्यक भएमा सोधपुछ गर्न वा गराउन सक्नेछ । 

समितिले आफ्नो कामको निमित्त आवश्यक कुनै कागजपत्र झिकाउन वा सम्बन्धित व्यक्ति वा सरकारी अधिकारीलाई उपस्थित गराउन सक्नेछ । अध्ययनपश्चात् समितिले प्रतिवेदन तयार गरी पेस गर्नेछ । सम्बन्धित मन्त्रीले प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने नियमावलीमा व्यवस्था छ ।

कार्यादेशका आधारमा समितिको पहिलो बैठक बसेपछि आन्तरिक कार्यविधि निर्धारण हुनेछ । बैठक बस्न समितिको ५१ प्रतिशत गणपूरक संख्या आवश्यक पर्छ । बहुमतका आधारमा बैठकले निर्णय गर्ने पनि जनाइएकाे छ ।


क्लिकमान्डु