बालेनलाई सडक डिभिजनको चेतावनी: भत्काएको बाटो बनाउनु, नत्र…



काठमाडौं । फुटपाथ चौडा बनाउन भत्काएको सडक २ दिनमा बनाउन सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएको छ । अनुमति बिना सडक काटेको भन्दै डिभिजनले महानगरलाई पुनःस्थापना गर्न भनेको हो ।

डिभजन प्रमुख ई. नारायणदत्त भण्डारीले महानगरपालिकालाई लेखेको पत्रमा गत जेठ १२ गते बिनासहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले सडक खन्ने तथा भत्काउने काम गरेको उल्लेख छ । उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को बर्खिलाफ हुने भएकाले तत्काल रोकी सडक यथास्थितिमा पुनःस्थापन गर्न १३ गते अनुरोध गरिए पनि हालसम्म नभएको डिभिजनको भनाइ छ ।

‘नेपालको प्रचलित कानूनभन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरसः पालना गर्नुपर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ’, पत्रमा भनिएको छ, ‘तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनःस्थापन गरिदिनुहुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने व्यहोरासमेत अनुरोध छ ।’

डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा फुटपाथ बढाउन महानगरले सडक काटेको थियो । तर, सडकको सहमति बिना काम गरेको भन्दै डिभिजनले काममा अवरोध गरेको थियो । काममा भाँजो हालको प्रतिक्रियास्वरूप महानगरले डिभिजनको गेटैमा फोहोर मिल्काइदिएको थियो । यसरी बालेन्द्र साह नेतृत्वको स्थानीय तह र काठमाडौं सडक डिभिजनबीचको टकराव अहिले चासोको विषय बनेको छ ।


क्लिकमान्डु