बालेनले धुलो थुपारिदिएपछि सडक डिभिजनले भन्यो: न्युरोडमा सडक काट्न नपाएको झोंकमा अराजकता



काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौंले न्युरोडमा सडक काट्न नपाएको झोंकमा बालेनले डिभिजन कार्यालय अगाडि धुलो थुपारिदिएको आरोप लगाएको छ ।

शनिबार साँझ काठमाडौं महानगरको फोहोर बोक्ने गाडिले डिभिजन कार्यालयको गेटमा धुलो फालिएको विषयको प्रतिउत्तर दिँदै महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ र अराजक शैलीको व्यवहार गरेको दाबी गरेको हो ।

गत शुक्रबार महानगरपालिकाका मेयर र काठमाडौं सडक डिभिजनका डिभिजन प्रमुखबीच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।

सो क्रममा यसअघि महानगरपालिकाले माग गरेअनुसार सडक काट्न अनुमती डिभिजनले दिएको थियो । तर, शनिबार१२ बजे न्यूरोड क्षेत्रमा डिभिजनको जिम्मामा रहेको सडक अनुमती बिनै काट्न थालेपछि डिभिजनले रोक लगाएको थियो ।

सडक काटेर स्ट्यान्डर्ड चौडाइ घटाउने काम महानगरपालिकाले गरेपछि विभागले रोकेको बताएको छ । तर, सडक काट्ने काममा रोक लगाएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाएर बालेनले डिभिजन कार्यालय अगाडि फोहोर मिल्काइदिएको कार्यालयको दाबी छ ।

‘बालेनको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सडक डिभिजन काठमाडौंको कार्य क्षेत्र भित्र भएका त्रुटी औंल्याएर आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने बताइएको छ । साथै सोको प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौं बाध्य हुने पनि विज्ञप्ती मार्फत बालेनलाई चेतावनी दिएको छ ।

बालेनले शनिबार साँझ डिभिजन र सडक विभागको गेटमा एक ट्रक धुलो थुपारिदिएका थिए । महानगरको ब्रुमरले टिपेको धुलो काठमाडौंस्थित सडक विभाग, बबरमहल र डिभिजन सडक कार्यालय, मिनभवनको गेटमा थुपारेका हुन् ।

त्यसपछि बालेनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा उल्लेख गरेका थिए । फेसबुकमा उनले लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु । माया गरेर स्विकार्नु होला ।’

मेयर साहले कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारका कारण त्यस क्षेत्रका बासिन्दाले १५ वर्षदेखि धुलो र कष्ट ब्यहोर्नुपरेकाले धुलो थुपारिदिएको बताएका छन् ।

तर, डिभिजनले भने आफूसँग नोकझोंक परेकाले बालेन कार्यालयमाथि खनिएको बताएको छ । डिभिजनका अनुसार चक्रपथ क्षेत्रमा धुलो उड्नुको कारण कार्यालय होइन तर सडक काट्न नदिएकामा बालेनले प्रतिशोध साँधेको कार्यालयको तर्क छ । काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको जिम्मेवारी डिभिजनको हो ।

‘सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ,’ डिभिजनका सूचना अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु