राष्ट्र बैंकले प्रचलनमा ल्यायो ५०० रुपैयाँको नयाँ बैंकनोट


काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार वि.सं. आजदेखि उक्त नयाँ नोट बजारमा पठाउन लागिएको हो ।

नयाँ नोटको अगाडि भागमा सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको वाटरमार्क रहेको छ ।

दृष्टिविहीन व्यक्तिहरूले सजिलै नोट पहिचान गर्न सकून् भन्ने उद्देश्यले नोटको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन् ।

नोटको सुरक्षा विशेषतालाई थप सुदृढ बनाउन सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ, जुन सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ । त्यस्तै, ३.५ मि.मि. चौडा भएको सुरक्षण धागोलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ्गमा परिवर्तन हुने बनाइएको छ ।

नोटको अगाडिको भागमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको छ ।

नोटको पृष्ठ भाग (पछाडि) तर्फ पाटेबाघको चित्र रहेको छ र सोको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको तल्लो खण्डमा अंग्रेजीमा ‘रुपीज फाइभ हन्ड्रेड’ र सिरिज नम्बर ‘२०२५’ उल्लेख गरिएको छ ।