सहकारी ठगी प्रकरण: कार्यादेश टुंगोमा पुर्‍याउन शीर्ष नेताबीच बैठक



काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बैठक बस्दै छ । शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आइतबार बस्ने तय भएको हो ।

कार्यादेशमा टुङ्गो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए ।

सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्याउने बाँकी काम आइतबार शीर्ष नेताबीचको बैठकले गर्ने बताए । उनले भने , ‘सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।’

कार्यादेशबारे टुंगो लगाउन गठन भएको समितिमा सहभागी सरकारी पक्षले भने टीओआरका विषयमा लगभग सहमति भइसकेको र त्यसलाई शीर्ष नेताले अन्तिम रुप दिने दाबी गरेका छन् ।


क्लिकमान्डु