मोदीले सार्वजनिक गरे सम्पत्ति, स्टेट बैंकमा कति छ उनको पैसा ?



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साथमा चारवटा सुनका औंठीसहित ३ करोड २ लाख ७ हजार ८८९ रुपैयाँ चल सम्पत्ति

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३ करोड भारतीय रुपैयाँभन्दा धेरै सम्पत्ति रहेको बुझिएको छ । र यसमा अधिकांश रकम बैंकमा फिक्स्ड डिपोजिट रहेको छ । प्रधानमन्त्री मोदीले १४ मेमा वाराणसीबाट आफ्नो उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगमा दिएको विवरण अनुसार मोदीको साथमा ३ करोड २ लाख ७ हजार ८८९ रुपैयाँको चल सम्पत्ति छ । जसमा करिब २ करोड ८५ लाख रुपैयाँ भारतीय स्टेट बैंकमा फिक्स्ड डिपोजिट छ ।

यसवाहेक प्रधानमन्त्री मोदीको साथमा सुनका चारवटा औंठी छ । जसको मूल्य २ लाख ६७ हजार छ । साथै ५२ हजार ९२० रुपैयाँ नगद छ । र ९ लाख १२ हजार रुपैयाँको नेशनल सेभिङ सर्टिफिकेट छ ।

पछिल्लो आर्थिक वर्षमा प्रधानमन्त्री मोदीले ३ लाख ३३ हजार रुपैयाँको आयकर तिरेको पनि विवरणमा छ । निर्वाचन आयोगमा अचल सम्पत्तिको सूचीमा उनले कुनै विवरण दिएका छैनन् । सामान्यत अचल सम्पत्तिको रुपमा घर जग्गाको विवरण दिइन्छ ।

यद्यपि प्रधानमन्त्री मोदीकी पत्नी भनिएकी जशोदाबेनको साथमा कति सम्पत्ति छ भन्नेबारे निर्वाचन आयोगमा कुनै जानकारी दिइएको छैन । साथै मोदीविरुद्ध कुनै आपराधिक उजुरी र मुद्दामा दोषी ठहर नभएको भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।

मोदी भारतको गुजरात राज्यस्थित अहमदाबादका स्थायी बासिन्दा हुन् । उनले दिल्ली युनिभर्सिटीबाट १९७८ मा स्नातक र १९८३ मा गुजरात युनिभर्सिटीबाट स्नातकोत्तरको डिग्री लिएका थिए ।

२०१९ को लोकसभा चुनावमा प्रधानमन्त्री मोदीले आफूसँग गुजरातको गान्धीनगरस्थित उक आवासीय जमिन र २ करवड ५० लाख रुपैयाँको सम्पत्ति रहेको विवरण सरकारलाई बुझाएका थिए । त्यसमा १ करोड २७ लाख रुपैयाँ फिक्स्ड डिपोजिट थियो । २०१४ को लोकसभा चुनावको क्रममा भने मोदीले आफ्नो साथमा १ करोड ६५ लाख भारु कुल सम्पत्ति रहेको विवरण बुझाएका थिए ।

भारतमा हाल भइरहेको चुनावका लागि उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सरकारलाई बुझाएका छन् । ४४ दिनसम्म चल्ने यो निर्वाचन विश्वकै सबैभन्दा महंगो सावित भएको छ । यसका लागि अमेरिकी कंग्रेस र राष्ट्रपति निर्वाचन साथै नेपालको वार्षिक बजेटभन्दा पनि धेरै १८ खर्ब रुपैयाँ भन्दा धेरै रकम खर्च हुनेछ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार भारतमा यसपटक निर्वाचनमा भाग लिने सबैभन्दा धनी उम्मेदवारको रुपमा डा. पेम्मासानी चन्द्र शेखर चिनिएका छन् । उनी भारतकै सर्वाधिक धनी चुनावी उम्मेदवार हुन् । जसको ५ हजार ७८५ करोड भारु (९२ खर्ब रुपैयाँ नेपाली) बराबरको सम्पत्ति रहेको खुलेको छ ।

यद्यपि शेखरले आफूलाई धनी उम्मेदवारको रुपमा चिनाइएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । ‘दुर्भाग्यवश पछिल्ला दिनहरुमा राजनीति महँगो प्रक्रिया भएको छ । वास्तवमा हामीले यसबारे छलफल गर्नु्पर्छ । आम मानिसले किन चुनावमा भाग लिन सक्दैन भनेर छलफल गर्नुपर्छ,’ डा शेखरले एनडीटीभीसँगको अन्तर्वार्तामा भनेका छन् । उनी चन्द्रबाबु नैदुको तेलुगु डिस्ने पार्टीका उम्मेदवार हुन् ।


क्लिकमान्डु