मोदीले युट्युबबाट एक महिनामै कमाउँछन् साढे २२ करोड



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमा सबैभन्दा बढी युट्युब सब्स्क्राइबर भएका राजनीतिज्ञ बनेका छन् ।राजनीतिज्ञ बाहेकका अन्य युट्युब च्यानलमा सब्स्क्राइबर धेरै भए पनि सबैभन्दा बढी सब्स्क्राइबर भएका नेता मोदी बनेका हुन् ।

उनी विश्वकै पहिलो यस्तो नेता बनेका छन्, जसको युट्युब च्यानलमा २ करोड १३ लाख सब्स्क्राइबर छन् । उक्त च्यानलमा प्रधानमन्त्रीको सम्बोधनदेखि अन्य विभिन्न क्रियाकलापको भिडियो अपलोड गर्ने गरिएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो क्रियाकलाप तथा भाषण आफ्नै युट्युब च्यानलबाट लाइभ गर्ने गर्छन् । उनको भिडियो हेर्नका लागि अन्य च्यानलको भर पर्नु पर्दैछ । जसले गर्दा उनको सब्स्क्राइबर दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

सोमबार अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको भिडियो पनि मोदीको युट्युब च्यानलबाट लाइभ गरिएको थियो । उक्त लाइभ करिब १ करोड जनाले प्रत्यक्ष हेरिरहेका थिए ।

मोदीपछि युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएको नेताको रुपमा दोस्रो स्थानमा ब्राजिलका जेयर बोल्सोनारो छन् । उनको युट्युब च्यानलमा ६४ लाख सब्स्क्राइबर छन् । त्यसपछि युक्रेनका प्रधानमन्त्री भ्लादमिर जेलेन्स्की छन् । उनको हाल ११ लाख सब्स्क्राइबर छन् ।

विश्वकै सबैभन्दा बढी युट्युब सब्स्क्राइबर भएका नेता मोदीले युट्युबबाट पनि उच्च आम्दानी गर्ने गरेको पाइन्छ । स्पिकआरजेको एक रिपोर्टअनुसार मोदीले मासिक १७ लाख अमेरिकी डलर (२२ करोड ५६ लाख नेपाली रुपैयाँ) बढी युट्युबबाट मात्रै आम्दानी गर्ने गरेका छन् ।

मोदीले आफ्नो युट्युबमा राखेको भिडियोको भ्यूजको आधारमा वार्षिक न्यूनतम ९२ लाख २१ हजार अमेरिकी डलर(१ अर्ब २२ करोड नेपाली रुपैयाँ) देखि २ करोड ७ लाख अमेरिकी डलर (२ अर्ब ७५ करोड रुपैयाँ) सम्म आम्दानी गर्ने गरेको दाबी उक्त रिपोर्टमा गरिएको छ।

मोदी मल्टिमिडिया प्रति चनाखो रहने राजनीतिज्ञ हुन् । उनले पहिरनदेखि स्थानीयकरण सम्मलाई विशेष ख्याल गर्ने गरेका छन् । उनी अन्य सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर इन्सटाग्राम लगायतका सामाजिक सञ्जालमा पनि लोकप्रिय छन् । फोटो, भिडियोका लागि मोदी विशेष टीम नै परिचालन गर्ने गरेका छन् ।

भारत विश्वकै पहिलो धेरै जनसंख्या भएको देश हो । जहाँ १ अर्ब ४४ करोड जनसंख्या छ । संसारभर रहेका भारतीय मूलका नागरिकहरुको समेत संख्या जोड्ने हो भने २ अर्ब हाराहारी हुन आउँछ । संसारमा करिब तीन अर्ब मानिसले हिन्दी भाषा बोल्छन्/बुझ्छन्, जसकारण पनि युट्युबमा मोदीको लोकप्रियता बढेको हो ।


क्लिकमान्डु