कसरी ब्राण्ड बने मोदी ?



एजेन्सी । जनवरी २२ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रहरुले गुन्जिरहेको वातावरणमा श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गरे, तब उनको हिन्दू हृदय सम्राटको छवि बलियो देखिएको थियो ।

भारतमा धेरैले सोच्छन्, मोदीले आफ्नो यो छविलाई निकै सोचेर निर्माण गरेका हुन् । यो एउटा ठूलो भाष्यको हिस्सा हो । यसको उद्देश्य ठूलो जनसंख्यासँग जोडिनु हो, जसले हिन्दू राष्ट्रवादलाई धेरै मन पराउँछ ।

टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको उक्त धार्मिक समारोहलाई उनका आलोचक तथा विपक्षीले भने हिन्दू मतदातालाई रिझाउनका लागि गरिएको प्रयासको संज्ञा दिए ।

भारतमा केही समयभित्रै करिब ९० करोड मतदाताहरुले आम चुनावमा भाग लिँदै छन्, जसलाई विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक चुनाव पनि भनिन्छ ।

नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा)लाई पछिल्ला दुई चुनावमा जीत दिलाएका छन् । पार्टीको सबैभन्दा ठूलो अनुहारका रुपमा मोदीलाई नै अगाडि सारिन्छ । आखिर के कारणले गर्दा मोदी यति लोकप्रिय र सफल भएका छन्? मोदीको राजनीतिलाई कतिपयले धार्मिक रुपमा ध्रुवीकरणलाई बढाउने किसिमको रहेको मानिरहेका बेला उनी सफल भइरहेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीका समर्थकहरुले मान्छन्, मोदीको जीवनकै सबैभन्दा गर्विलो क्षण गत वर्ष थियो, जब उनलाई अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा सम्मानित गरिएको थियो । अमेरिकी संसदको संयुक्त सदमा उनले भाषण गरिरहँदा पटक पटक तालि गुञ्जिएको थियो ।

यो सम्मान मोदीका लागि स्पष्ट रुपमा निजी जीत जस्तै थियो । किनभने गुजरातमा भएको घटनापछि मानवअधिकार उल्लंघनको आरोपमा मोदीलाई अमेरिकाले प्रवेशमा रोक लगाएको थियो ।

मोदीका समर्थकहरुले अमेरिकामा मोदीले विशेष चर्चा कमाएको देखे । उनको भव्य स्वागतले विश्वलाई नै कुनै बेला बहिष्कृत मोदीप्रति पश्चिमा देशहरुले बदलिएको व्यवहार र उनीहरुले गरिरहेको भव्यता देखाएको थियो ।

मोदीमाथि चर्चित पुस्तक ‘मोदीज इन्डिया’ लेखेका फ्रान्सेली प्राध्यापक क्रिस्टाफ जैफरलो पश्चिमा देशहरुमा मोदीलाई लिएर सन्तुलित विचार रहेको मान्छन् । उनी भन्छन्, ‘जब पछिल्लो वर्ष जुलाईमा उनी फ्रान्सको भ्रमणका लागि आएका थिए, तब उनलाई लिएर सन्तुलित विचार देखिएको थियो । त्यहि बेला युरोपेली संसदले मणिपुर हिंसाको विषयलाई लिएर प्रस्ताव पारित गरेको थियो, जसको भाषा निकै कडा थियो । दोस्रो कुरा, मोदीलाई पश्चिमा देशहरुले समर्थन दिइरहेका थिए, जुन उनको निजी उपलब्धी मात्रै होइन । पश्चिमा देशहरु चीनको बदलामा भारत उभिएको हेर्न चाहन्छन् ।’

भारतीय प्रधानमन्त्री मोदी फरक फरक मान्छेका लागि फरक फरक अर्थका छन् । कतिपयका लागि उनी भारतका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुन् । कतिपयको नजरमा उनी निरंकुश तानाशाही नेता हुन् । धेरैले उनको नेतृत्वमा विश्वमा भारतको हैसियत धेरै बढेको मान्छन् ।

तर, मोदीका बिरोधी तथा आलोचकहरु भने उनको सरकारले बिरोधको आवाजलाई दबाएर राखेको र मिडियाको स्वतन्त्रतामाथि बन्देज लगाएर लोकतन्त्रलाई निकै कमजोर बनाएको आरोप लगाउँछन् । मोदीका आलोचकहरु हिन्दूत्व र उग्र राष्ट्रवादमाथि आधारित उनको नेतृत्व भारतको विविधताले भरिएको संस्कृति अनुरुप नभएको बताउँछन्।

धेरैले मोदी आफूलाई कारोबार, पुँजी र लगानी तथा विकासलाई बढाउने किसिमको काम गर्ने टेक्नोक्रेटका रुपमा प्रस्तुत गरिरहेको बताउँछन् । त्यसो त पश्चिमा देशहरुमा भारततर्फ बढ्दै गइरहेको प्रभावको कारण भारतमा रहेको ठूलो बजार पनि हो ।

बिरोधी हुन् वा समर्थक, मोदी दुवैका बीचमा उग्र भावना जगाउँछन् । समर्थक वा बिरोधी, मोदीप्रति कसैमा पनि संयम र सन्तुलित विश्लेषण देख्न सायदै पाइएको छ ।

मोदी करिब १० वर्षदेखि सत्तासिन छन् । भनिन्छ, उनले अन्य नेताहरुका लागि कुनै ठाउँ नै छाडेका छैनन् । उनी सबै ठाउँमा देखिएका छन् । उनी सामाजिक सञ्जालका हरेक प्लेटफर्ममा छन् । उनी सरकारको हरेक मन्त्रालयको वेबसाइटको पहिलो पेजमा नै छन् । उनी रेडियोमा सुनिन्छन्, टेलिभिजनमा निरन्तर छाइरहेका छन् ।

हरेक ठाउँका होर्डिङ बोर्ड र कटआउटमा पनि मोदी नै देखिन्छन् । कसैले मोदीसँग आफ्नो तस्बिर खिचाउन चाहन्छ भने भारतका धेरै रेलवे स्टेसनमा उनको सेल्फी पोइन्ट रहेको छ । वेबसाइट र एप पनि छ । शहरको कुना, एयरपोर्ट, पेट्रोल पम्प, सरकारी संस्थान, रेलवे प्लेटफर्म, हरेक ठाउँमा मोदी मुस्कुराइरहेको तस्बिर देख्न सकिन्छ।

कुना कुनामा समेत उपस्थिति हुने यस्ता प्रधानमन्त्री आजसम्म भारतमा देखिएका थिएनन् ।

डिसेम्बरमा उनले आफ्नो पार्टीलाई तीन राज्यको विधानसभाको चुनावमा जित दिलाए । अहिले उनी आगामी केही महिनामा हुने भारतीय लोकसभा चुनावको तयारीमा जुटिरहेका छन् ।

मोदीका बिरोधीहरु छरिएका छन् । कतिपय अवस्थामा त उनका बिरोधीहरु एकअर्कासँगै भिडन्तमा देखिन्छन् । गत वर्ष जुलाईमा प्रमुख विपक्षी दल कांग्रेस र कैयौं क्षेत्रीय दलहरुले एकअर्कासँग मिलेर बिपक्षका करिब दुई दर्जन पार्टीहरुको एउटा गठबन्धन बनाएका थिए । सबै मिलेर मोदी र उनको पार्टीलाई चुनौती दिन उनीहरुले यो गठनबन्धन गरेका थिए, जसको नाम इन्डिया थियो । इन्डिया अर्थात इन्डियन नेसनल डेवलपमेन्ट्स इनक्लुसिभ अलायन्स ।

मोदी भारतीय जनता पार्टीका लागि प्रमुख र स्टार प्रचारक हुन् । उनी एक्लै नै पर्याप्त रहेको मानिन्छ । ७३ वर्षीय मोदीको सामाजिक सञ्जालमा यस्तो दबदबा छ कि उनका कोही बिरोधीले उनको उचाई छुन सकेका छैनन् ।

अमेरिकी चर्चित अनुसन्धान संस्थान प्यू रिसर्च सेन्टरले अगस्ट २०२३ मा गरेको सर्वेक्षणकाअनुसार भारतमा हरेक दशमध्ये ८ जनाले मोदीबारे सकारात्मक राय राख्छन् । यसमा ५५ प्रतिशत मानिस सामेल छन्, जसले मोदीलाई सबैभन्दा राम्रो वा धेरै राम्रो मान्छन् ।

अमेरिकाको भ्रमणमा मोदी जाँदा अमेरिकी राष्ट्रपति जो बाइडनले उनलाई एक नायकको रुपमा स्वागत गरेका थिए । यसअघि डोनाल्ड ट्रम्पको व्यवहार पनि मानिसले देखेका थिए । तर, मोदीलाई लिएर गरिएको प्यू रिसर्चको सर्वेमा अमेरिकाका ३७ प्रतिशत मानिसले मोदीप्रति आफ्नो राय सकारात्मक नरहेको बताएका थिए भने २१ प्रतिशतले उनको बारेमा सकारात्मक विचार प्रस्तुत गरेका थिए । यहि सवेक्षणमा ४२ प्रतिशतले भने कुनै पनि पक्ष लिएका थिएनन् ।

यस्तोमा एउटा प्रश्न महत्वपूर्ण छ, के मोदीको लोकप्रियता उनलाई अर्को चुनावमा पनि जीत दिलाउनका लागि पर्याप्त छ । मोदीका समर्थकहरु भने यसमा कुनै शंका नै नभएको बताउँछन् । उनीहरु त मोदीले आगामी चुनाव भारी बहुमतका साथ जित्ने पनि दाबी गर्छन् ।

तर, प्राध्यापक क्रिस्टाफ जैफरलो भने समर्थकहरुको यो आत्मविश्वासमाथि शंका गर्छन् । उनी कुनै पनि नेता अजेय नभएको तर्क दिन्छन् । भन्छन्, ‘ब्राजिलमा बोलसोनारोले चुनाव हारे । ट्रम्पले चुनाव हारे । यदि गरिबी बढ्यो, असमानता धेरै भयो भने मानिसहरु आफ्नो सरकार परिवर्तन गर्न आवश्यक रहेको सोच्न बाध्य हुन्छन् । यो कुनै पनि लोकतन्त्रको नियम नै हो । यसलाई जवाफदेहीयता भनिन्छ । कुनै पनि नेता जवाफदेहिताभन्दा माथि हुँदैन । र यदि कुनै नेता जवाफदेहिताभन्दा माथि भएमा त्यहाँ लोकतन्त्र हुँदैन ।’

अहिले भारतमा कुनै पनि नेता बलियो र शक्तिशाली छैनन्, जसले मोदीको लोकप्रियतामाथि खतरा बनेर देखिन सक्छन् । चुनावी विश्लेषक प्रशान्त किशोर मोदीको अजेय छवि हुनुको कारण नै विपक्ष कमजोर हुनु रहेको बताउँछन्।

त्यसो त राहुल गान्धी विपक्षी पार्टी कांग्रेसका ठूला नेता हुन् । र सायद उनी भारतीय प्रधानमन्त्री मोदीलाई चुनौती दिने विपक्षको सबैभन्दा ठूलो अनुहार पनि हुन् । तर, राहुल गान्धी दुई आम चुनाव र कैयौं विधान सभाको चुनावमा पहिले नै मोदीसँग पराजित भइसकेका छन् । तर पनि उनले हालसम्म मोदीलाई असर गर्ने किसिमले नोक्सानी गर्न सफल भएका छैनन् । कर्नाटक, हिमाल, तेलंगानाजस्ता केही राज्यमा उनको पार्टीले चुनाव जितेको भए पनि उनले मोदीलाई टक्कर भने दिन सकेका छैनन् ।

ब्राण्ड कसरी बनाउने भन्ने विषयका जानकार सन्तोष देसाई भन्छन्, ‘प्रधानमन्त्री मोदीलाई चुनौती दिने विषयमा राहुल गान्धी इमान्दार छन् । उनले आफ्नो तर्फबाट पूर्ण कोसिस गरिरहेका छन् । तर, राहुलमा त्यो कुरा छैन जसबाट जनतासँग उनी स्वभाविक रुपमा जोडिन सक्छन् । उनको कोसिसमा कुनै कमी छैन । तर, उनी जनतासँग जोडिन नै सक्दैनन् ।’

विश्लेषकहरुका अनुसार राहुल गान्धीको भारत जोडो यात्रामार्फत उनी गाउँका आम मानिसहरु जोडिने कोसिस गरेका थिए । र धेरै हदसम्म उनी सफल पनि भएका छन् ।

भाजपाले भने उनको यात्रालाई राहुल गान्धीलाई एक पटक फेरि लञ्च गर्नका लागि गरिएको रोड शो भनेर टिप्पणी गरेको थियो ।
तर, यो यात्राका कारण उनको छवि राम्रो भएको छ । १४ जनवरीमा राहुलले भारत न्याय यात्राको सुरुवात गरेका छन् । उनले यो यात्राले पछिल्लो पटकभन्दा धेरै दूरी तय गर्ने र यो यात्रालाई आम चुनावभन्दा ठीक अघि जनतासँग जोडिने मौकाको रुपमा हेरिएको छ ।

पाँच वर्ष पहिले भएको भारतीय आम चुनावपछि दिल्लीको एक थिंक ट्यांक सेन्टर फर स्टरी अफ डेभलपिङ सोसाइटिज (सीएसडीएस)ले एक सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा सहभागीले भाजपाको तर्फबाट प्रधानमन्त्री पदका लागि मोदी उम्मेदवार नभएको भने एक तिहाई मतदाताले भाजपालाई भोट नै नदिने बताएका थिए ।

भारत जस्तो देशमा विगतबाट नै पुस्ता दरपुस्ता प्रतिस्थापन हुँदै आउने विरासत र पारिवारिक सम्बन्धको आधारमा सफलता प्राप्त हुने गरेको छ । यस्तोमा आफैं उठेर आएको सेल्फ मेडको छविले मतदाताहरुलाई निकै आकर्षित गरेको देखिन्छ । मतदाताले मोदीसँग निकटता महसुस गर्छन्, किनकी उनी एक गरिब परिवारबाट आएका हुन्, जुन अवस्थामा आज ती मतदाताहरु छन् ।

मोदीको सुरुवाती जिन्दगी भविष्यमा उनलाई राजनीतिक सफलता दिने संकेत गर्ने किसिमको थिएन । युवा अवस्थामा पनि उनी आफ्नो गृह राज्य गुजरातमा पार्टीको एक साधारण कार्यकर्ता मात्रै थिए । उनको निजी वेबसाईटकाअनुसार उनी गुजरातमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को क्षेत्रीय मुख्यालयमा अफिस ब्वोइ (कार्यालय सहयोगी) मात्रै थिए ।

आरएसएसलाई संघ परिवारको अभिभावक संगठन पनि भनिन्छ । भाजपा यसको अटुट अंग हो । मोदीको निजी वेबसाइटकाअनुसार उनी अफिस ब्योइको रुपमा काम गर्दा कार्यालयका कोठाहरुलाई सफा राख्ने र दैनिक आवश्यक सामानहरु किने ल्याउने जिम्मेवारी हुन्थ्यो ।

मोदी स्वयंले पनि धेरै पटक आफ्नो अतीतको बारेमा बताएका छन् । तर, यसको पुष्टि हुन सकेको छैन । उनले बाल्यकालमा रेलवे स्टेसनमा चिया बेचेको कुरा धेरै पटक बताउने गरेका छन् ।

मोदीसँग त्यस्तो के छ, जसले उनलाई अन्य राजनेताहरुभन्दा अलग बनाएर उभ्याएको छ ? भारतका आम मानिसको भिडबाट उठेर उनी कसरी यति शक्तिशाली व्यक्ति बन्न पुगे त ?

उनका समर्थकहरु मोदीलाई एक शक्तिशाली वक्ताका रुपमा लिन्छन् । तर, उनका बिरोधीहरु भने मोदीले ठूला आयोजनाहरुलाई आफ्नो निजी फाइदाका लागि प्रयोग गर्ने गरेको आरोप लगाउँछन् ।

दुवै पक्षले उनीसँग प्रखर वक्ताको क्षमता रहेको मान्छन् । मोदी कुनै अदृश्य टेलिप्रोम्पटर (टेलिभिजनमा समाचार पढ्दा अघिल्तिर राखिने उपकरण जसमा हेरेर समाचार पढ्न सकिन्छ) को बिना नबोल्ने आरोप बिरोधीहरुले लगाउँछन् ।

आम सर्वसाधारणसँग जोडिने कुरामा मोदीले उत्कृष्टता हासिल गरेका छन् । उनीसँग प्रभाव पार्ने अभियान चलाउने कैयौं किसिमका उपायहरु छन् । चाय पर चर्चा र परीक्षा पर चर्चाजस्ता अभियानहरु यसैका परिणाम हुन् । यहाँसम्म पनि उनका बिरोधीहरु पनि मोदीको भाषण कलालाई प्रशंसा गर्न तयार छन् ।

कांग्रेसका नेता शशि थरुरले मोदीको तारिफ गर्दा उनको पार्टी उनीसँग रिसाएको थियो । उनले मोदीबारे भनेका थिए, ‘प्रधानमन्त्री निकै प्रभावकारी भाषण दिन्छन् । उनी नयाँ नयाँ नारा निकाल्छन् । कुराहरु निकाल्न र एउटा तस्बिर बनाउनमा उनी माहिर छन् । मोदीको रुपमा एक शक्तिशाली वक्ता हामीले देखिरहेका छौं भन्ने कुरामा कुनै शंका नै छैन ।’

मोदीले एक साधारण कार्यक्रमलाई पनि भव्य आयोजनामा परिवर्तन गर्ने पनि सत्य हो । उदाहरणका लागि गत वर्ष अक्टोबरमा मोदीले दिल्लीमा नमो ट्रेन सेवाको सुरुवात गरेका थिए । त्यो बेला उनी ट्रेनमा सवार रहेका यात्रुहरुसँग कुराकानी गर्दै प्रस्तुत भएका थिए । यसमा स्कुलका छात्राहरु पनि थिए । उनले यो कार्यक्रमबाट एक पटक फेरि मोदी कति सजिलै आम मानिसहरुसँग घुलमिल गर्न सक्छन् र उनीहरुको समस्या बुझ्न सक्छन् भन्ने देखाएको थियो ।

ब्राण्ड बिल्डिंगका जानकार देसाई मोदी कुनै पनि कार्यक्रमबाट राजनीतिक फाइदा कसरी निकाल्ने भन्नेमा माहिर रहेको बताउँछन् । उनी भन्छन्, ‘जी–२० को शिखर सम्मेलनलाई नै हेरौं । सदस्य देशहरुलाई पालै पालो यसको अध्यक्षता गर्ने र शिखर सम्मेलनको आयोजना गर्ने मौका मिल्छ । शिखर सम्मेलनको कार्यक्रमलाई कुनै पनि किमिसिको उपलब्धि मानिँदैन । भारतले भन्दा पहिले इन्डोनेसियामा यो सम्मेलन भएको थियो । भारतपछि यो मौका ब्राजिलले पाएको छ । तर, मोदीले यो सम्मेलनलाई साधारण कार्यक्रमबाट एउटा मेगा इभेन्टमा रुपान्तरण गरिदिएका छन् । ’

भारतको विपक्षी दलहरुले भारत जि–२० को अध्यक्ष बन्ने नै अवस्था हुँदा हुँदै पनि सरकारले जी–२० सम्मेलनलाई प्रधानमन्त्रीको निजी सफलताका रुपमा प्रचारित गरेको बताउँछन् । मोदीको सट्टा अरु कोही प्रधानमन्त्री भएको हुन्थ्यो भने पनि भारत जी–२० को अध्यक्ष बन्ने नै अवस्था थियो । विपक्षी नेताहरुले जी–२० जस्तो गम्भीर शिखर सम्मेलनमा पनि निजी फाइदा उठाउने कोसिस गरेको भन्दै मोदीको आलोचना गर्छन् । कांग्रेसका नेता जयराम रमेशको आरोप छ, मोदीले भारत जी–२० को अध्यक्ष बनेको र शिखर सम्मेलनको मेजामानीलाई एक ठूलो नाटकका रुपान्तरण गरिदिए ।

मिसिगन विश्वविद्यालयका प्राध्यपक जोयोजीत पाल भन्छन्, ‘तपाई दिल्ली मेट्रोको बारेमा यसलाई इन्जिनियर श्रीधरन नामको व्यक्तिले बनाएको भनेर सुन्नुहुन्छ । तर, यदि दिल्ली मेट्रो आज निर्माण भएको हुन्थ्यो भने हामीले कहिल्यै पनि यो कसले बनाएको हो भनेर थाहा पाउने थिएनौं । हामीलई मेट्रो मोदीले बनाएको भनिन्थ्यो ।’

मोदी केवल आफ्नो भाषण र शाररिक हाउभाउले मात्रै सर्वसाधारणसँग संवाद गर्छन् भन्ने होइन । उनी सार्वजनिक रुपमा प्रस्तुत हुँदा आफनो व्यक्तित्वलाई पनि प्रस्तुत गर्छन् र फरक फरक किसिमको पहिरन तथा क्षेत्रअनुसार टोपीजस्ता भेषभुषा लगाएर त्यसबाट पनि महत्वपूर्ण सन्देश दिन्छन् ।

मोदी निकै सहजताका साथ जनसभाहरुमा भावुक पनि भइदिन्छन् । रोएर उनी आम मानिसको नजरमा एक साधारण व्यक्ति बनिदिन्छन् । तर, यसले उनको एक शक्तिशाली नेताको व्यक्तित्वलाई कुनै पनि रुपमा कमजोर बनाउँदैन । उनको यस्तो भावुकता मतदाताहरुलाई प्रभावित गर्नका लागि निकै नै प्रभावकारी भएको साबित भएको छ । कहिले उनी हिन्दू साधुका रुपमा गेरु वस्त्रमा देखिन्छन् त कहिले उनी सैनिक पोशाकमा देखिन्छन् ।

उनका आलोचकहरु पनि साधारण कार्यकर्ताबाट वैश्विक राजनेता बनेको उनको यो यात्रा असाधारण उपलब्धि भएको मान्छन् ।

यो सब सजिलै भएको पनि होइन ।

गुजरातका वरिष्ठ पत्रकार दर्शन देसाई मोदीलाई त्यो बेलादेखि चिन्दछन्, जब उनी एक साधारण नेता थिए । देशाई मोदी आफ्नो राजनीतिक करिअरको एक मात्र निर्माता भएको र उनी आफैंले निकै सतर्कताका साथ आफ्नो यात्राको योजना बनाएर आफूलाई एक राजनीतिक ब्राण्डका रुपमा स्थापित गरेको बताउँछन् ।

उनी भन्छन्, ‘नरेन्द्र मोदी निकै टाढासम्मको सोच्छन् । उनी धेरै नै अगाडिको सोच्छन् । मलाई थाहा छ, उनले आफू प्रधानमन्त्री बन्ने यो यात्राको योजना धेरै नै पहिले तयार गरेका थिए।’

मोदी सन् २००१ देखि सन् २०१४ का बीच तीन पटक गुजरातको मुख्य मन्त्री बनेका थिए । मोदीले मुख्यमन्त्रीको पद सम्हालेको एक वर्षभित्रै सन् २००२ मा गुजरातमा भिडन्त भएको थियो, जसमा एक हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो । यसमा धेरै मुस्लिम जातीका मानिसहरु थिए ।

मोदीमाथि उनले यी हत्याहरु रोक्नका लागि पर्याप्त कदम नचालेको आरोप लाग्दै गएको छ । पछि भारतको सर्वोच्च अदालतले गुजरातको घटनामा आरोपित भनिएका कैयौंलाई छाड्ने निर्णय गरेको थियो ।

देसाई मुख्यमन्त्री भएकै बेला मोदीले आफ्नो विरुद्धमा आउन सक्ने यो घटनाको विषयसँग जुँध्नका लागि गुजरातका जनतामा गौरवको भावनालाई जगाएका थिए । उनी भन्छन्, ‘उनी सिधै जनतासँग गएर यो गुजरातको गौरवमाथिको प्रश्न भएको बताएका थिए । उनीमाथि गरिने हमला वास्तवमा गुरजातका मानिसमाथि गरिने हमला भएको रुपमा प्रस्तुत भएका थिए ।’

सन् २००३ तिर मोदीले आफ्नो छवि परिवर्तन गर्ने काम सुरु गरेका थिए । आफ्नो छवि परिवर्तनका लागि उनले गरेका कामहरुमा कैयौं कुराहरु सामेल छन् ।

भाइब्रेन्ट गुजरातमार्फत उनले विश्वभरका लगानीकर्ताहरुलाई रिझाएर गुजरातलाई विश्व मञ्चमा पेश गर्ने कोसिस गरे ।

मिसिगन विश्वविद्यालयका प्राध्यापक जोयोजित पालकाअनुसार गुजरातमा भएको घटनाभन्दा अघिबाट नै उनले आफ्नो छवि हिन्दू हृदय सम्राटका रुपमा बनाएका थिए । उनले आफ्नो व्यक्तित्वको विकास यस्तो नेताको रुपमा गरे, जो हिन्दूत्वको लागि लडाई लडिरहेको छ । पाल भन्छन्, ‘यो निकै प्रभावकारी र महत्वपूर्ण नारा थियो । र यसैका कारण उनलाई असाधारण राजनीतिक सफलता प्राप्त भयो ।’

देसाई यसपछि मोदीले आफ्नो ब्राण्डिग विकास पुरुषका रुपमा गर्न सुरु गरेको बताउँछन् । त्यसैका लागि सन् २००३ मा मोदीले भाइब्रेन्ट गुजरात इन्भेस्टमेन्ट समिटको सुरुवात गरेका थिए, जुन आजसम्म पनि निरन्तर चलिरहेको छ । देसाई भन्छन्, ‘गुजरातमा लगानी आएमा गुजरातकै साथमा उनको पनि छवि निखारिने मोदीले सोचेका थिए ।’

प्राध्यापक पाल भने उनको यो कोसिसलाई यसरी विश्लेषण गर्छन्, ‘जब सुपरस्टार अमिताभ बच्चनलाई गुजरातको प्रचारमा आवद्ध गराइएको थियो, तब वास्तवमा तत्कालिन मुख्यमन्त्री मोदीको छवि परिवर्तन गर्ने कोसिस भइरहेको थियो । त्यसपछि उद्योगपति रतन टाटा गुजरात गए र त्यसपछि नारायण मूर्ति पनि गुजरात गएका थिए ।’

यसरी उनको स्वीकार्यता बढ्दै गएको थियो ।

मोदीले यसका साथै मिडिया व्यवस्थापनलाई पनि उत्कृष्टताका साथ गर्न थाले ।

मोदी मुख्यमन्त्री हुँदाबाट नै उनले पत्रकारहरुको प्रश्नको जवाफ दिनका लागि पत्रकार सम्मेलन नै नगर्ने भन्दै आलोचना हुने गरेको थियो ।

मोदी प्रधानमन्त्री बनेपछि पनि करिब १० वर्षको अवधिमा उनले एक पटक पनि पत्रकार सम्मेलन गरेर पत्रकारको प्रश्नको जवाफ दिएका छैनन् ।

वरिष्ठ पत्रकार देसाई आफ्ना पुराना दिनहरु सम्झिदै भन्छन्, ‘गुजरातमा जब मोदी मुख्यमन्त्री थिए, तब केही संवाददाताहरुका बीच सम्मेलन हुन्थ्यो । सायद एक दुई पटक भएको थियो । गुजरातको मुख्यमन्त्रीका रुपमा रहँदा मोदीले मिडियाको हरेक किसिमले उपयोग गर्थे । यहाँसम्म पनि आज पनि उनले निकै उत्कृष्ट तरिकाले मिडियाको व्यवस्थापन गरेका छन् । मैले यो कुरा कुनै नकारात्मक रुपमा भनिरहेको छैन । वास्तवमा मिडिया जिम्मेवार छन् । उनीहरु त्यहि गर्छन्, जुन मोदी चाहन्छन् ।’

मोदीका आलोचकहरु उनको शासनकालमा भारतमा मिडिया स्वतन्त्रतामाथि जोखिम देखिएको बताउँछन् । पत्रकारहरुलाई मजाक (ट्रोल) गरिएको छ । उनीहरुलाई दुःख दिने र आफ्नो काम गर्दा मात्रै पनि उनीहरुलाई पक्राउ गर्ने गरिएको छ ।

पछिल्ला १० वर्षमा वल्र्ड प्रेस फ्रिडम सूचकांकमा भारतको र्‍याङ्किङ निरन्तर घटदै गएको छ । फ्रान्सको पेरिसस्थित रिपोर्टर्स विदाउट बोर्डले सन् २०२३ को आफ्नो रिपोर्टमा स्वतन्त्रताको विषयमा भारत १८० देशहरुको सूचीमा एक वर्षमा नै १५० स्थानबाट १६१ औं स्थानमा पुगेको बताएको थियो ।

हालसालै मोदी सरकारले फ्याक्ट चेकिङका लागि एक ईकाई स्थापना गर्ने प्रस्ताव पनि राखेको छ । यसको उद्देश्य सामाजिक सञ्जालको निगरानी गर्नु रहेको बताइएको छ । तर, धेरै पत्रकारहरुलई यो निकायमार्फत सरकारले उनीहरुलाई सेन्सरसिप गर्ने डर पैदा भएको छ । सरकारले भने यो निकायको काम फेक न्युजलाई फैलनबाट रोक्नु रहेको बताएको छ । केही पत्रकारहरुले यो फैसलालाई कानुनी चुनौती दिएका छन् ।

भारतमा मिडिया भाजपाको सरकार रहेकोभन्दा बाहेकका राज्यहरुमा पनि उत्पीडनको शिकार भएका छन् । पहिले पनि मिडिया अफठ्यारो समयबाट गुज्रिनु परेको थियो । मुख्य गरि इन्दिरा गान्धीको शासनकालमा मिडियामाथि कडाई गरिएको थियो ।

सन् २०११ तिर मोदी आफूलाई पार्टीमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा पेश गर्न तयार भइरहेका थिए । यो चुनौतीपूर्ण कदम थियो । किनकी त्यो बेला पार्टीका वरिष्ठ नेता तथा मोदीका राजनीतिक गुरु लालकृष्ण आडवानी देशमा हिन्दूत्वको सबैभन्दा महत्वपूर्ण व्यक्तिका रुपमा चिनिन्थे । मोदीलाई पनि पार्टीभित्र आडवाणीको यो हैसियतको बारेमा थाहा थियो । त्यसैले उनी आफ्नो यति ठूलो राजनीतिक ब्राण्ड बनाउनमा तल्लिन थिए ताकी मोदीलाई आडवाणीको विकल्पका रुपमा रहेको स्वीकार गरियोस् ।

उनको व्यक्तित्वलाई यसरी विकास गर्न र राजनीतिक ब्राण्डिङको अभियानमा केही यस्ता भिडियो र तस्बिरहरु पनि सामेल छन्, जसले मोदीलाई एक बलियो नेताका रुपमा पेश गरिएको छ ।

सन् २०११–०१२ मा मोदी गुजरातको मुख्य मन्त्री रहँदा खिचिएको तस्बिरहरुलाई हेर्ने हो भने त्यहाँ बिहानको समय देखिन्छ । शान्त माहोलमा यता उता परेवाहरु उडिरहेको देखिन्छन् । यो तस्बिरमा एप्पल कम्पनीको एक ल्यापटप र एक डिएसएलआर क्यामेरा पनि देखिन्छ । उनका यी तस्बिरहरुमा अमेरिकाका तत्कालिन राष्ट्रपति बाराक ओबामाको पुस्तक पनि देखिन्छ । यी तस्बिरमा मोदी एक रुखको छहारीमा आरामले बसेर इकोनोमिक्स टायम्स पत्रिका पढिरहेका देखिन्छन् ।

प्राध्यापक पालले सन् २०१६ मा आफ्नो क्याम्पसको लेक्चरका क्रममा यी तस्बिरहरु विद्यार्थीलाई देखाएर मोदीले कसरी विशेष रुपमा तयार गरिएका सन्देशहरु आम मानिससम्म पुर्याएका थिए भन्ने बताएका थिए । यी तस्बिरमार्फत मोदीले आफू आजको समयको नेता भएको देखाएका थिए, जसले शान्तिलाई बढाउने र प्रविधिलाई आत्मसाथ गर्दै पाइला अघि चलाउनेछ ।

त्यो बेला मोदिको छवि स्थापित गर्नका लागि काम गरिरहेका व्यक्तिहरुलाई चुनौती थियो । कुन रुपमा मुख्यमन्त्री मोदीलाई प्रधानमन्त्री पदका लागि योग्य नेताका लागि प्रस्तुत गर्ने भन्ने थियो । सिर्जनात्मक निर्देशक (क्रियटिभ डिरेक्टर)का रुपमा वर्षौंदेखि काम गरिरहेका प्रह्लाद कक्कड भन्छन्, ‘हाम्रो पेशाको रहस्य तपाईं कुनै पनि एक नेतालाई राजनेताका रुपमा परिवर्तन र स्थापित गर्न सक्नुहुन्छ । यदि तपाईं कुनै राज्यको मुख्यमन्त्री हुनुहुन्छ भने तपाईं नेता हो, राजनेता होइन । यदि तपाई कुनै राज्यको मुख्यमन्त्री हुनुहुन्छ भने अवश्य पनि पूरै देशले तपाईंलाई चिन्दैन ।’

प्रह्लाद त्यो समूहको हिस्सा हुन्, जसले प्रधानमन्त्री बन्नुअघि मोदीका लागि प्रचार अभियानमा काम गरेका थिए । उनी त्यो बेला आफूहरुले मोदीको गुजराल मोडलको विचारलाई प्रचारित गरेको बताउँछन् ।

उनी भन्छन्, ‘उनले कसरी गुजरातलाई यो उचाईंमा लगे र उनी कसरी यहि मोडलमा आधारित भएर देशलाई महान बनाउन गइरहेका छन् भन्ने हरेक मान्छेले थाहा पाउनुपर्ने सुनिश्चित गरेका थियौं ।’

त्यसपछि मोदीको गुजरात मोडललाई निकै प्रचार गरिएको थियो । प्राध्यापक पालकाअनुसार जब २०१४ मा चुनावको प्रचार अभियान सुरु भएको थियो, तबसम्म नरेन्द्र मोदी एक राष्ट्रिय ब्राण्ड बनिसकेका थिए ।

सामाजिक सञ्जालमा नरेन्द्र मोदीलाई अनुशरण गर्ने (फलो गर्ने)हरुको विशाल संख्या छ । विश्वमा निकै कम यस्ता राजनेता छन्, जोसँग युट्युब, इन्स्टाग्राम, फेसबुक र ट्विटरमा मोदीभन्दा धेरै फलोअर्स छन् ।

प्राध्यापक पालले ब्राण्ड मोदीलाई अघि बढाउन र त्यसलाई विस्तार गर्नमा रहेको सामाजिक सञ्जालको महत्वपूर्ण भूमिकाबारे गहिराइमा अध्ययन गरेका छन् । उनले करिब ६ हजार ट्विटहरुको विश्लेषण गरेका छन्, जुन मोदीले सन् २००९ देखि २०१५ को बीचमा गरेका थिए । पालकाअनुसार त्यो बेला मोदीलई सामाजिक सञ्जालमा देशमा उनीजस्तो अर्को दोस्रो नेता नै नरहेको रुपमा पेश गरिएको थियो ।

उनी भन्छन्, ‘ब्राण्ड बनाउने यो यात्रामा उनलाई एक यस्तो व्यक्तिका रुपमा पेश गरिएको थियो, जसले सबै गर्न सक्छ । उनी मनको कुरा गर्थे । उनी योग गर्न सक्थे । उनी राजनीतिक भाषण गर्न सक्थे । उनी परीक्षामा रहेका विद्यार्थीको गुरु बन्न सक्थे । उनी यस्ता व्यक्ति थिए जसको मिहेनत हरेक कामभन्दा अगाडि थियो । उनी यदि आज देशलाई अघि बढाइरहेका छन् र विकास गरिरहेका छन् भने यो सब उनकै कारण भएको हो भन्ने रुपमा प्रस्तुत गरिएको थियो ।’

प्राध्यापक क्रिस्टाफ जैफरलो मोदीलाई सामाजिक सञ्जालले भारतको प्रधानमन्त्री बनाएको भन्न नसके पनि मोदी प्रधानमन्त्री बन्नुमा सामाजिक सञ्जालको ठूलो भूमिका रहेको निष्कर्षमा पुगेको बताउँछन् । उनी भन्छन्, ‘ठीक त्यसरी नै जसरी डोनाल्ड ट्रम्पको जीत वा हंगेरीमा विक्टर ओरबान र ब्राजिलमा बोलसोनारोले जितेका थिए । लोकप्रिय हुनका लागि आम जनतासँग प्रत्यक्ष रुपमा जोडिन महत्वपूर्ण हुन्छ र यसका लागि सामाजिक सञ्जाल एक सटिक हतियार हो ।’

प्राध्यापक पालकाअनुसार मोदीको सामाजिक सञ्जालको यात्रा आर्कुट नामक सामाजिक सञ्जालबाट भएको थियो, जुन अहिले बन्द भइसकेको छ । ट्विटरमा आएपछि भने मोदीले सर्वसाधारणसँग प्रत्यक्ष कुराकानी गर्न सुरु गरेका थिए । पाल भन्छन्, ‘मोदीका ट्विट पढ्ने जोसुकैलाई लाग्छ उनी सिधै आफ्नो आवाजमा नै कुरा गरिरहेका छन् ।’

आफ्नो अनुसन्धानबाट पाल मोदी तीन चरणमा एक बलियो ब्राण्डका रुपमा स्थापित भएको भन्ने निष्कर्षमा पुगेका छन् । पहिलो चरणमा उनको नामलाई अघि बढाउने र स्वीकार्यताको मुहार बनाउनका लागि उद्योगपति र सेलिब्रेटीहरुको प्रयोग भएको थियो।

दोस्रो चरणको सुरुवात तब भयो जब उनले आफ्नो सरकारका लागि प्रचार गर्न सुरु गरेका थिए । तब स्वच्छ भारत, डिजिटल इन्डिया र बेटी बचाओजस्ता अभियानहरुलाई सामाजिक सञ्जालमा प्रचारित गरिएको थियो । त्यो बेला मोदीले सामाजिक सञ्जालको प्रयोग आफ्नो वा आफ्नो पार्टीको फाइदाका लागि नभई देशको राम्रोका लागि गरिरहेका छन् भन्ने देखाउन कोसिस भएको थियो । उनले आफूले जे जे गरेका छन् सबै देशका लागि नै गरिरहेको भन्नेतर्फ इशारा गरिरहेका थिए ।

पालकाअनुसार मोदी ब्राण्डलाई स्थापित गर्ने तेस्रो चरण तब सुरु भयो, जब सन् २०१९ मा आम चुनाव नजिक आइरहेको थियो । त्यसबेला पनि मोदीले आफ्नो तागत देखाउन सुरु गरेका थिए । तब उनी विगतको मोदी नभई नयाँ मोदी भएका थिए । त्यो बेला उनी यस्तो नेता भएका थिए, जसले आफू नभएमा देश चल्न नसक्ने र आफू बिना देश सुरक्षित नहुने भाष्यमार्फत ब्राण्ड मोदीको प्रचार गरेका थिए ।

प्राध्यापक पाल ब्राण्ड मोदीको अभियान निरन्तर जारी रहने र यो अन्तहिन शिलशिलाका रुपमा रहने दाबी गर्छन् ।

बीबीसी हिन्दीमा जुबैर अहमदले तयार पारेको रिपोर्टको भावानुवाद


क्लिकमान्डु