बैंकले धेरै नाफा कमाए भनेर नेताहरुले नै भ्रम छरिरहेका छन्, यथार्थमा घटिरहेको छः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय राजनीतिक दलका नेता लगायत सर्वसाधारणले बैंकहरुले धरै नाफा कमाएको भन्दै गलत प्रचार गरेर भ्रम छरिरहेको बताएका छन् ।

गभर्नर अधिकारीले मंगलबार संसदको अर्थ समितिमा नेताहरुबाटै बैंकको नाफाका विषयमा भ्रम फैलाउने काम भएको भन्दै सांसदहरुसँग गुनासो गरे ।

‘पछिल्लो समय बैंकले धेरै नाफा कमाए भनेर भ्रम छर्ने काम भएको छ, त्यसबाट हामी सबै बाहिर आउनुपर्छ’ गभर्नर अधिकारीले भने, ‘बाहिर हेर्दा नाङ्गो आँखाले देखेजस्तो विषय यो होइन । यथार्थमा बैंकको नाफा घटिरहेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक मञ्चमा बारम्बार ‘बैंकहरु गाउँघरका साहू महाजन जस्ता, मिटरब्याजी जस्ता’ भएको भन्दै मिथ्था आरोप लगाउँदै छन् ।

गत माघ १९ गते ओलीले यसो भनेका थिए

ओलीको यस्तो आरोप निराधार भएको गभर्नर अधिकारीको भनाइ छ ।

‘बैंकहरुमाथि सर्वसाधरणको विश्वास कायम राख्न पनि बैंकहरु सुरक्षित, सवल हुनुपर्छ । त्यसका लागि बैंकहरुले निरन्तर न्यूनतम कमाउनुपर्छ । बैंकहरुले धेरै नाफा कमाए भन्ने बाहिर गलत हल्ला भइरहेको छ । बैंकहरुको पुँजीको आकार ठूलो भएकाले अर्ब रुपैयाँ कमाउँदा पनि फिगरमा धेरै देखिएको मात्रै हो’ गभर्नर अधिकारीले भने, ‘बैंकहरुको लगानीमा प्रतिफल ८.५ प्रतिशतभन्दा बढी छैन । निरन्तर घटिरहेको छ । म गभर्नर भएर आउँदा बैंकहरुको नाफा ६७ अर्ब थियो । अहिले ६० अर्ब पुग्दैन । त्यो बेलामा बैंकहरुको ३० खर्बको पोटफोलियो थियो । अहिले बढेर ५१ खर्ब भइसक्यो । पोर्टफोलियो ३० खर्बबाट ५१ खर्ब हुँदा नाफा बढ्नुपर्ने हो तर उल्टै घटेको अवस्था छ । बैंकहरुले आफूखुशी कमाइरहेका छन् भन्ने हल्ला गलत हो ।’

बैंकहरुलाई विश्वका अन्य देशहरुको भन्दा धेरै नियममा राष्ट्र बैंकले बाँधेको उनले बताए । ४ प्रतिशत चार्ज लाग्ने ठाउँमा अहिले राष्ट्र बैंकले तोकेर ०.७५ भन्दा बढी लिन नपाउँदा बैंकहरुको नाफा कम हुँदै गएको उनले प्रष्ट पारे ।

‘राष्ट्र बैंकले स्पेड दर तोकेको छ । बैंकले निक्षेपकर्तालाई दिने र ऋणबाट लिने ब्याजको अन्तर ४ प्रतिशतभन्दा बढी हुनुहुँदैन भनेर गत साउनदेखि लागू गरिएको छ । बैंकको ब्याज बढ्यो निक्षेपकर्ता नाफा कमायो । ब्याज घट्यो कर्जा लिनेले सुविधा पायो। बैंकले पाउने ४ प्रतिशत हो ।’ उनले भने ।

बैंकहरु बाँचेन्न भने सर्वसाधरणको निक्षेप पनि बच्दैन भन्नेतर्फ गंभीर हुन गभर्नर अधिकारीले सांसदहरुलाई आग्रह गरे । बैंक बँचेन भने आर्थिक संकट हुन्छ हुने भन्दै त्यसबाट जोगिनुपर्ने उनले बताए । त्यसैले आर्थिक स्थिरताको लागि बैंकिङ प्रणाली धराशायी हुनु नहुने उनको भनाइ थियो ।

‘बैंकिङ प्रणाली धराशायी नहुनको लागि बैंकहरु सुरक्षित र सवल हुनुपर्यो । त्यसको लागि बैंकहरुको नाफा न्युनतमभन्दा माथि हुनुपर्छ,’ उनले भने, ‘पछिल्लो समय बजारमा बैंकहरुले धेरै नाफा कमाए भन्ने गलत प्रचार भएको छ । त्यसबाट हामी सबै बाहिर आउनुपर्छ ।’

बैंकमा सबैको निक्षेप निक्षेप रहेको जानकारी गराउँदै अधिकारीले बैंकमाथि विश्वास भएर नै सम्पत्ति बैंकमा राखिएको स्मरण गराए ।

‘भोलि त्यो बैंकिङ कोल्याप्स भयो भने हामी सबैको विश्वास गुम्छ,’ उनले भने, ‘त्यसैले कसरी हुन्छ हामीले बैंकहरुलाई बचाउनुपर्छ । ग्राहकलाई बैंकले बचाउनुपर्छ ।’

गभर्नर अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनका लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताउँदै अहिलेसम्म नेपालका बैंकहरु सुरक्षित रहेको सांसदहरुलाई जानकारी गराए ।

गभर्नर अधिकारीले बैंकहरुले व्यवसायीहरुलाई कर्जाको किस्ताको ३ पटकसम्म पुनसंरचना र पुनःतालिकीकरणको सुविधा दिएको पनि जानकारी गराए । बैंकलाई सधैँभरी यस्तो सुविधा दिइराख्दा भविष्यमा अर्को खालको अफ्ठ्यारो आउने खतरा रहेको उनको भनाइ छ ।

पछिल्लो समय बैंकबाट लिएको ऋण नतिरे पनि हुन्छ, ऋण मिनाहा हुन्छ भन्ने अराजकता बढेको उनले बताए ।

‘ऋण लिनेबेलामा चाहीँ खुसी भएर लिने अनि तिर्नुपर्ने बेलामाचाहिँ पीडित हुँ भन्नेलाई मिनाहा गरियो भने गलत सन्देश जान्छ,’ उनले भने, ‘ज–जसले ऋण मिनाहा पाउँछन् उनीहरुले भावी दिनमा ऋण पाउँदैनन् । तिर्न नसक्नेलाई बैंकले किन फेरि ऋण दिन्छ ?’

‘राज्यले ऋणीहरुलाई सुध्रिने मौका दिने हो, काममा लगाउने हो, ऋण मिनाहा गर्ने होइन,’ उनले भने, ‘एकपटक ऋण मिनाहा दिइयो भने त उ भोलि काममा लाग्दैन । भोलिका दिनमा काम गर्छु भन्यो भने पनि उसले ऋण पाउँदैन । उसलाई जीबनभर उद्यमीबाट बाहिर निकाल्नु हो । यसको संवेदनशीलमा सांसदज्यूहरुको ध्यान जाओस् ।’


क्लिकमान्डु